योगेश भट्टराईज्यू, पाथिभरा जाने भत्केको सडकले मन रुँदैन ? – Nepal Press
ब्लग

योगेश भट्टराईज्यू, पाथिभरा जाने भत्केको सडकले मन रुँदैन ?

योगेश भट्टराईज्यू नमस्कार !

तपाईंलाई निर्वाचित गराउने ताप्लेजुङ जिल्लाको पाथिभरा पुग्नु अगाडिसम्म म पाथिभरा यात्रा ब्लग लेख्ने योजनामा थिएँ । सदरमुकामको तोक्मेदेखि काफ्लेपाटी सडक यात्रा गरेपछि मैले यात्रा ब्लगभन्दा तपाईंलाई नै चिठी लेख्ने निर्णयमा पुगेँ ।

उसो त मैले यो चिठी ताप्लेजुङकै बहालवाला प्रदेश १ का मन्त्री प्रतापप्रकाश हाङगाम वा विष्णुमाया तुम्बाहाम्फेलाई लेख्न सक्थे । प्रदेश १ कै पूर्वसामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङदेखि अर्थमन्त्री टंकबहादुर आङ्बोहाङसम्मलाई लेख्न सक्थेँ । जिल्लाबाट केन्द्रमा मन्त्री भइसकेका कुलबहादुर लिम्बू, चन्द्रबहादुर पालुङ्वा, विजय प्रकाश थेवे, विष्णु मादेन, अम्बिका साँवा, सूर्यमान गुरुङ, मणि लामा, ओङ्दी शेर्पालगायतका नाममा पनि लेख्न सक्थेँ ।

तर, पाथिभरा यात्राको सवाल हो यो । मैले तपाईंकै नाममा चिठी लेख्नुपर्छ । किनभने तपाईं नै हो पाथिभराको सबैभन्दा ठूलो प्रमोटर । मैले तपाईंकै नाममा चिठी लेख्नुपर्छ । किनभने तपाईं नै हो पर्यटनमन्त्री भएर पाथिभरा विकास अवधारणा ल्याउने । मैले तपाईंकै नाममा चिठी लेख्नुपर्छ । किनभने तपाईं नै हो पाथिभरा सद्भावना दूतदेखि पाथिभरा म्याराथुनसम्मको सबैभन्दा ठूलो चर्चा गर्ने नेता ।

२०५४ सालमा तेह्रथुमबाट आमाबुबाको हात समाएर ताप्लेजुङ पाथिभरा पुगेको म २०६५ सालमा दाजुभाउजूसँगै पुगेको थिएँ । दुवै रुट तेह्रथुमको मोराहाङबाटै सुरु भएको थियो । पैदलयात्रा भएकाले हिँड्न कुनै तनाव थिएन । गत भदौ ६ गतेको पाथिभरा यात्रा भिन्न थियो । सदरमुकामको तोक्मेबाट पाथिभरा यात्रा जुनस्तरमा सोचिएको थियो, त्यो पाइएन । जुन शुल्क भनिएको थियो, त्योस्तरको पाइएन ।

देउराली, छातेढुंगा, भालुगौडे हुँदै काफ्लेपाटीसम्मको सडक यात्रामा जत्ति पटक गाडीले घच्याक्क गर्‍यो, त्यत्ति पटक मैले तपाईंलाई सम्झिएँ ।

पाथिभरा सिजनमा तोक्मेबाट काफ्लेपाटीसम्मको एकोहोरो रुटको ४०० रुपैयाँ तोकिएको छ । दोहोरो ८०० हुनजान्छ । काफ्लेपाटीबाट उकालो हाइकिङ सुरु हुन्छ । हामीलाई काफ्लेपाटीबाट उकालो पैदल यात्रा बरु सजिलो भयो । तोक्मेदेखि काफ्लेपाटी यात्रा अत्यन्तै झूर भयो । सिजन नहुँदा बोलेरो र अटोले प्रतिव्याक्ति ४०० मा नलैँजादा रहेछन् । तिनीहरुले ८ देखि ९ हजारसम्म रिजर्भ शुल्क भन्ने रहेछ । त्यसो हुनुको एक प्रमुख कारण बाटो रहेछ । मे १ ज ३३१५ मा हामीलाई रिजर्भ यात्रामा हुँइक्याएका चालक महेन्द्र तामाङ भन्दै थिए, ‘बाटो फिलिली पिच भएको भए आधा पैसा कम हुन्थ्यो ।’

इटहरीदेखि ताप्लेजुङसम्म पूर्वपश्चिम र मेची राजमार्ग हुँदै लागेको भाडाभन्दा दोब्बर भाडा तोक्मेबाट काफ्लेपाटीसम्मको यात्रामा लाग्यो । हाम्रो समूह तीन जनाको नभएर दुई जनाको वा एक्लै भएको भए त्यो तेब्बर वा चौबर हुने रहेछ । बाटैको कारण अत्यन्तै धेरै महँगो शुल्क तिर्नुपर्दा मैले तपाईंलाई सम्झिएँ ।

सुकेटारबाट देउरालीसम्म यात्रामा जाँदा एक पाका व्यक्ति भेटिए । हाम्रो रिजर्भ गाडी जबरजस्त रोके । उनी भन्दै थिए, ‘भाउजू बित्नुभएर हिँडेको जसरी पनि देउरालीसम्म लगिदिनू ।’ बाटो सहज भएको भए अटो रिजर्भ गर्न सजिलो हुनेमा बाटो राम्रो नभएकाले अचाक्ली महँगो भएको दुःख ती पाकाले पनि सुनाए । त्यो सुन्दा मैले तपाईंलाई सम्झिएँ ।

मलाई तपाईंले दिने पाथिभरा पक्की सडकको महत्व सुन्नु छैन । मलाई त सुकेटारदेखि पाथिभरातर्फ जाने पक्की सडकमा यात्रा गर्नुछ ।

देउराली, छातेढुंगा, भालुगौडे हुँदै काफ्लेपाटीसम्मको सडक यात्रामा जत्ति पटक गाडीले घच्याक्क गर्‍यो, त्यत्ति पटक मैले तपाईंलाई सम्झिएँ । सडक पूर्वाधार नबनेकै कारण पहिरोले बाटो पुरेपछि चालकहरुले निस्केर सडक बढार्ने श्रमिक हुनुपरेको विजोग दृश्य हेर्दा पनि मैले तपाईंलाई नै सम्झिएँ ।

हामीले सुकेटार कटेपछिको काफ्लेपाटीसम्मको कच्ची सडकबाटै देख्यौं, सुकेटार विमानस्थल कालोपत्रे भएछ । धनीहरु चढ्ने विमानस्थलको धावनमार्ग कालोपत्रे अनि आम मान्छेहरु चढ्ने सडकमार्ग भने कच्ची नै छ । यो सबै देख्दा मैले तपाईंलाई नै सम्झेँ । सुकेटार ओर्लेर आउनेहरु सडकमुकामसम्म मात्रै आउँदैनन् होला । सदरमुकामसम्म पक्की नै बाटो छ । उनीहरु त पाथिभरा पनि जान्छन् होला । त्यो बाटो कच्ची छ । ताप्लेजुङको गन्तव्य सदरमुकाम हो कि पाथिभरा हो ? पाथिभरा भएको भए त सुकेटार-सदरमुकामको ८ किलोमिटरभन्दा पहिलो सुकेटार-काफ्लेपाटीको झन्डै दश किलोमिटर सडक पक्की हुनुपर्ने हो । त्यो भएको रै’नछ । यो हेर्दा पनि मैले तपाईंलाई सम्झेँ ।

तपाईं हजारौं पाथिभरादूत बनाएर लाखौं आगन्तुकहरु ल्याउन चाहनुहुन्छ । त्यो सुन्दर कुरा हो । तर, सडक विजोग बनाएर यात्रालाई कष्टकर बनाउने चाहना पनि तपाईंकै हो ? तपाईं पाथिभरामा विश्वभरका आस्थावानहरु ल्याएर पर्यटकीय चहलपहल बढाउन चाहनुहुन्छ । तर, जब पाथिभराको रियल रुट सुरु हुन्छ तब बाटो कच्ची भएको देखाउने तपाईंको चाहना हो ? तपाईंले जस्तै सबैले हेलिकप्टर सफरको सौजन्य गर्ने मौका पाउँदैनन् । सबैले तपाईं जस्तै आफ्नै निजी नम्बर प्लेटका सवारीमा सहज यात्राको सौभाग्य पाउँदैनन् । उनीहरुलाई ताप्लेजुङ बजारसम्मको यात्राभन्दा त्यहाँबाट पाथिभरासम्मको यात्रा महँगो बनाएर पाथिभरालाई महँगो गन्तव्य भनेर बेच्न खोज्नुभएको हो ? कि पाथिभरामा ‘ब्याकप्याकर’ नभएर ‘एलिट’हरु मात्रै ल्याउने लक्ष्य हो ?

मलाई पाथिभरा सडक बनाउन भएका पहलहरुको अपूरा कथा सुन्नु छैन । मलाई देशमा मध्य पहाडी राजमार्ग, तमोर करिडोरदेखि चुरे राजमार्गहरु बनिसक्दा तपाईं जस्तो नेता भएको जिल्लाको विशाल धाममा किन अहिलेसम्म सडक पुगेन ? त्यसमा मात्रै आक्रोश छ । मलाई तपाईंले दिने पाथिभरा पक्की सडकको महत्व सुन्नु छैन । मलाई त सुकेटारदेखि पाथिभरातर्फ जाने पक्की सडकमा यात्रा गर्नुछ ।

पाथिभरा वैदिक सनातनी, किराँतीदेखि याक्थुङबाहरुको धार्मिक सांस्कृतिक गन्तव्यमात्रै हैन, विश्वभरका शाक्त सम्प्रदायका करोडौं हिन्दूहरुको पनि गन्तव्य हो । पाथिभरा प्रदेश १ का हिमालहरु हेर्ने विश्वस्तरीय आध्यात्मिक भ्यू प्वाइन्ट हो ।

हो, तपाईं सत्तामा धेरै बस्नुभएन । तर, राष्ट्रिय राजनीतिको मूलधारभन्दा पर तपाईं कहिले बस्नुभयो ? हो, तपाईं लामो समय मन्त्री हुनुभएन र हुँदा सडक बनाउने विभागीय मन्त्री पनि हुनुभएन । तर, मन्त्री भएपछिको देशी-विदेशी सम्पर्क र राज्य सत्ताको पहुँचलाई सदुपयोग गरेर पाथिभरा सडक बनाउन कहिले लाग्नुभयो ? हो, तपाईंको पार्टी सत्ता बाहिर छ अहिले । तर, जिल्लाका सबै सत्ताधारी दलका प्रभावशाली नेताहरुमा पाथिभरा सडकलाई प्रमुख प्राथमिकतामा पार्न कहिले लबिङ गर्नुभयो ? पर्यटनमन्त्री हुँदा परराष्ट्र मन्त्रालयले भेला गर्न नसकेका राजदूतहरुलाई पर्यटन मन्त्रालयमा भेला गरेर नेपाल भ्रमण वर्षको विमर्श गर्न सक्नुभयो तपाईंले । पाथिभरा सडक बनाउन यस्तै राष्ट्रिय विमर्श गर्न केले रोक्यो ? यी प्रश्नहरुले तपाईंलाई गिज्याइरहेका छन् ।

तपाईंसँग देशको सबैभन्दा ठूलो दलको सचिव भएको लिगेसी छ । तपाईंसँग संसदको सबैभन्दा ठूलो दलको धेरै चिनिएकामध्येको एक सांसद भएको लिगेसी छ । तपाईंसँग विद्यार्थी राजनीतिदेखि पर्यटनमन्त्रीसम्म हुँदा जोडिएका विशाल विज्ञहरुको व्यक्तिगत सम्पर्क सूत्र छ । देशी-विदेशी उच्च अधिकारीसँगको सीधा सम्पर्क छ । दाताहरुसँग उत्तिकै चिनापर्ची छ । फरक पार्टीका नेताहरुको तपाईंप्रतिको धारणा पनि नकारात्मक छैन । साढे तीन लाख बढी फेसबुक फलोअर छन् । साढे चार लाख बढी ट्विटर फओअर छन् । तपाईंसँग एउटा नेतामा हुनुपर्ने सबै शक्ति छ । तर, यी सबै शक्ति भएर पनि पाथिभरा जाने सडक पक्की बनाउने शक्ति तपाईंमा किन आएन ? यो प्रश्नले तपाईंलाई प्रश्न गरिरहेको छ ।

अहिलेको पाथिभरा जाने बाटो पक्की, सहज र खुला हुन आवश्यक छ । त्यसमा तपाईंको योगदान खुल्न आवश्यक छ । चिठी अन्त्य गर्नु अगाडि अन्तिम प्रश्न, योगेश भट्टराईज्यू, पाथिभरा जाने भत्केको सडकले तपाईंको मन रुँदैन ?

पाथिभरा वैदिक सनातनी, किराँतीदेखि याक्थुङबाहरुको धार्मिक सांस्कृतिक गन्तव्यमात्रै हैन, विश्वभरका शाक्त सम्प्रदायका करोडौं हिन्दूहरुको पनि गन्तव्य हो । पाथिभरा प्रदेश १ का हिमालहरु हेर्ने विश्वस्तरीय आध्यात्मिक भ्यू प्वाइन्ट हो । पाथिभरा रेड पाण्डादेखि गुराँससम्म हेर्नेहरुको एक प्याकेज गन्तव्य हो । कञ्चनजंगा संरक्षण क्षेत्रसँग एकीकृत योजना ल्याएर राष्ट्रिय निकुञ्ज बनाउने बाटो खुला छ । विश्वको सर्वोच्च शिखर सगरमाथा राष्ट्रिय निकुञ्जपछिको तेस्रो चुचुरो कञ्चनजंगा प्लस पाथिभरा प्याकेज क्षेत्रलाई पनि युनेस्कोले विश्व सम्पदा सूचीमा लाने तयारीको बाटो खुला छ ।

भारतको सीमावर्ती राज्यहरु पश्चिम बंगाल, सिक्किमदेखि बिहारका पर्यटकहरुलाई ल्याउने त्यही राज्यमै पाथिभरा ल्याउने सवारी व्यवस्थापन र प्रचारको बाटो खुला छ । शाक्त सम्प्रदायका विश्वभरका हिन्दूहरुलाई पाथिभरा एकचोटि पुग्नैपर्ने गन्तव्यको रुपमा विकास गर्ने बाटो खुला छ । पाथिभरा म्याराथुनलाई दक्षिण एसियाको नम्बर वान बनाउने बाटो खुला छ ।

तर, यी सबै बाटो खुला हुनुअगाडि अहिलेको पाथिभरा जाने बाटो पक्की, सहज र खुला हुन आवश्यक छ । त्यसमा तपाईंको योगदान खुल्न आवश्यक छ । चिठी अन्त्य गर्नु अगाडि अन्तिम प्रश्न, योगेश भट्टराईज्यू, पाथिभरा जाने भत्केको सडकले तपाईंको मन रुँदैन ?


प्रतिक्रिया

3 thoughts on “योगेश भट्टराईज्यू, पाथिभरा जाने भत्केको सडकले मन रुँदैन ?

  1. ब्लगरलाई सरकारमा योगेश छैनन भन्ने थाहा छैन कि यि ठगबन्धनका झोले परे? प्रश्न ठगबन्धनलाई तर्साउने कि!

  2. पहिले सरकारमा हुंदा के गरे ? कस्तो कुरा हो तपाईको ? उनी त्याहांको प्रतिनिधि भएको नाताले प्रश्न गरिएको छ । के उनको आफ्नो जिल्ला र क्षेत्र बनाउने दायित्व होईन ? एमालेकालाई प्रश्न गर्यो अर्को दलको झोले अनि अर्को दललाई प्रश्न गर्यो , एमालेको झोले भन्ने हो ?
    तपाईं हामीजस्ता मगज भएका मान्छे हुंदासम्म गार्हो छ ।

  3. सांसद हुने बितिक्कै सबै सडक बन्ने भए देशैभरी सांसद छन्। कतैको पनि सडक बन्न बाँकी नहुनुपर्ने नि त। अब चुनाव आउन लाग्यो भनेर योगेशलाई कमजोर पार्न कहाँ के देखाउन पाईन्छ भनेर नियतवश यो कुरा उचालेको सजिलै बुझिन्छ। सडक बन्नुपर्छ त्यसमा दुई मत नै छैन। तर त्यसको लागि योगेशले जति त्याहाँ अरू कसले गर्न सक्छ? उनी नै हुन त्यो क्षेत्रको विकास गर्ने नेता। त्यो बाटो पनि उनले बनाउँछन्। अरु त ठग र ठगका मतियार मात्र हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *