तस्बिरमा बुबाप्रतिकाे श्रद्धा – Nepal Press

तस्बिरमा बुबाप्रतिकाे श्रद्धा

काठमाडौं । भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ ।

सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् ।

ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्‍याउने गर्छन् ।

आजका दिन बाबु नहुनेहरू भने काठमाडौँको उत्तरपूर्वी भेगस्थित वाग्मती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थलस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा गई बाबुका नाममा तर्पण र श्राद्ध गरी सिदा दानसमेत गर्ने गर्छन् । रसुवाको वेत्रावतीमा समेत आज दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गर्ने गरिन्छ ।

राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भाद्रकृष्ण औँसीका अवसरमा श्राद्ध गर्नेको भीड लागेको छ ।श्राद्धकाल अर्थात् मध्याह्नमा आज औँसी परेकाले भक्तजनको भीड लागेको गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ ।

श्राद्ध गर्न आउने भक्तजनका लागि सबै व्यवस्था गरिएको मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष एवं गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले जानकारी दिए । बाबुको मुख हेर्ने पर्वका अवसरमा आज गोकर्णेश्वरमा मेला लाग्ने गर्छ ।

पितृका नाममा श्राद्ध गर्ने भक्तजनको भने आजै मन्दिर क्षेत्रमा भीड लागेको हो । गोकर्णेश्वरलाई पितृतीर्थका रूपमा लिइन्छ । पिता दिवङ्गत हुनेले भाद्रकृष्ण औँसीका अवसरमा यहाँ आई श्राद्ध गरेमा पितृ तृप्त हुने शास्त्रीय मान्यता छ । पिता जीवित हुनेले भने भाद्रकृष्ण औँसीका दिन मीठा खानेकुरा खान दिई बाबुको मुख हेर्छन् । बाबुको मुख हेर्ने पर्व यस वर्ष आज परेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर