हर्क साम्पाङको ज्यान धरानमा ध्यान काठमाडौंमा, बालेनलाई भने– गुण्डागर्दी शैलीले विकास हुँदैन – Nepal Press

हर्क साम्पाङको ज्यान धरानमा ध्यान काठमाडौंमा, बालेनलाई भने– गुण्डागर्दी शैलीले विकास हुँदैन

काठमाडौं । यता काठमाडौंका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा वाहवाही बटुलिरहँदा धराने मेयर हर्क साम्पाङको छटपटी बढेको छ । केही दिनदेखि उनी निरन्तर बालेन्द्रविरुद्ध स्टाटस पोस्ट गरेको गर्‍यै छन् ।

एउटा क्षेत्रको जनप्रतिनिधिले अर्को क्षेत्रको जनप्रतिनिधिलाई लक्ष्यित गर्दै सार्वजनिक अभिव्यक्ति दिनु शोभनिय मानिँदैन । त्यसमाथि बालेन्द्र र हर्क दुवै स्वतन्त्र उम्मेदवारी दिएर उही चुनाव चिन्हबाट जितेका उम्मेदवार हुन् । त्यसैले उनीहरुको भावना मिल्नुपर्ने थियो । तर, हर्क साम्पाङले बालेन्द्रलाई आफ्नो आँखाको कसिंगर झैं मानिरहेका छन् ।

केही दिनअघि काठमाडौं आएर फिरेपछि बालेनविरुद्ध हर्कले जेहाद छेड्न थालेका हुन् । यसमा जति नकारात्मक प्रतिक्रिया आए पनि उनी रोकिएका छैनन् । कमेन्ट गर्नेहरुमाथि नै अनेक आरोप लगाएर गालीगलौज गरिरहेका छन् ।

हर्कले सुरुमा काठमाडौंमा थुप्रिएको फोहोरलाई लिएर मेयर साहमाथि घोचपेच गरेका थिए । उनको स्टाटसमा बालेनले हर्कलाई कडा जवाफ फर्काए । त्यसपछि त के थियो, हर्कले बालेनमाथि धारावाहिकरुपमा एकपछि अर्को स्टाटस लेख्दै आफ्नो भँडास पोखिरहेका छन् ।

बालेनमाथि खनिन थालेदेखि हर्कको लोकप्रियतामा ह्वात्तै गिरावट आएको छ । केही दिनअघिसम्म उनको आलोचना कोही सुन्न चाहन्थेनन् । तर, अहिले उनी आलोचनाको घेरामा परेका छन् । सामाजिक सञ्जालको अति प्रयोग र हचुवा स्टाटसहरुले हर्कको छवि केही दिनभित्रै धुलिसात भएको छ । उनी हिरोबाट जिरो बन्नेतर्फ अग्रसर भएका छन् ।

हर्कले सबै गलत नै लेखिरहेका छन् भन्ने होइन । उनले लेखेका केही कुराहरु तार्किक र जायज पनि छन् । तर, आफ्नो कार्यक्षेत्र बाहिरको विषयमा अर्को जनप्रतिनिधिमाथि सार्वजनिक टिप्पणी गर्नु उनको कमजोरी हो ।

हर्कले बालेनलाई लक्षित गर्द लेखेको पछिल्लो पोस्टले सबैभन्दा चर्को प्रतिक्रिया सिर्जना गरेको छ । हिजो बेलुकी साढे सात बजे उनले फेसबुकमा लेखेका थिए– गुण्डागर्दीको शैलीमा विकास हुँदैन । जनताभन्दा ठूलो कोही हुँदैन ।

सैद्धान्तिकरुपमा हर्कको स्टाटसमा गलत केही थिएन । तर, देशै बालेन्द्रमय भएको समयमा जनताले उनको यो अभिव्यक्ति पटक्कै रुचाएनन् । केही घन्टाभित्रै यो स्टाटसमा १६ हजारभन्दा बढी कमेन्ट आइसकेका छन् । कमेन्टहरु अधिकांस उनको विपक्षमा छन् ।

प्राय पब्लिक फिगरहरुले आफ्नो कुनै स्टाटस विवादमा पर्यो भने त्यसलाई हटाउने, सच्याउने र माफी माग्ने गरेको देखिन्छ । तर हर्कमा यो लागू हूँदैन । स्टाटस विवादित बन्यो भने उनी आफ्ना आलोचकहरुमाथि नै खनिन्छन् । हिजो पनि उनले त्यही गरे । उनले आलोचकहरुलाई छुद्रा गाली गर्दै अर्को स्टाटस लेखेका छन् ।

उनको स्टाटस यस्तो छ, ‘मलाई विरोध गर्नेहरुले कामलाई विरोध गरिरहेका छन् । यी सबका सब विचौलिया, दलाल र झोले हुन्, जसले श्रम गरेर होइन चोरेर पेट भरेका हुन्छन् । तिमेरुलाई भेटेँ भने एक महिनासम्म ढुंगा बोकाउँछु ।’

 


प्रतिक्रिया

One thought on “हर्क साम्पाङको ज्यान धरानमा ध्यान काठमाडौंमा, बालेनलाई भने– गुण्डागर्दी शैलीले विकास हुँदैन

  1. जसले जति सुकै र बनावटी क्षणिक वाहवाहि गरे पनि समस्या समाधान गर्ने बालेन उपाय गैर कानुनि अमानवीय र अपराधिक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *