सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न सुनकोसीका स्कुल-स्कुलमा जनप्रतिनिधि ! – Nepal Press

सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न सुनकोसीका स्कुल-स्कुलमा जनप्रतिनिधि !

सिन्धुपाल्चोक । सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले सामुदायिक विद्यालयमा पुगेर शिक्षक, विद्यार्थी र अभिभावकसँग अन्तरक्रिया सुरु गरेका छन् ।

विद्यालयको वास्तविकता थाहा हुने र सुधार गर्न सजिलो हुने भएकाले विद्यालयमै पुगेर सबैसँग अन्तरक्रिया सुरु गरिएको हो ।

अध्यक्षसहित गाउँपालिकाको टीमले कक्षाकोठामै पुगेर शिक्षकहरुले अध्यापन गराएको निरीक्षणसमेत गरेको छ । टोलीले विद्यार्थीहरुसँग पनि कक्षा कोठामै अन्तरक्रिया गरेको छ ।

‘जानकारीविनै अध्यक्षसहित गाउँपालिकाको टीम विद्यालयमा आएको थियो । शिक्षक-विद्यार्थीसँग समस्यालगायतका विषयमा छलफल गर्नुभयो’, सेतीदेवी शारदा माविका प्रधानाध्यापक वासु जिसीले भने, ‘यस्ता निरीक्षणले थप हौसला मिलेको छ ।’

गाउँपालिकाभित्रका प्रायः सामुदायिक विद्यालयहरुमा भवनलगायत भौतिक संरचना पर्याप्त भए पनि कतै दरबन्दी अभाव, कतै शैक्षिक सामग्रीका अभावलगायतका समस्या देखिएको गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

निरीक्षण सकेपछि विद्यालयबाट आएका सुझावलाई समेटेर शैक्षिक सुधार गर्न नयाँ योजना बनाइने उनले बताए ।

यसअघि विद्यालयका प्रधानाध्यापकलगायत सरोकारवालाहरुसँग अन्तरक्रिया गरेर आएको सुझावलाई चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाले विद्यालयमा कार्यरत कर्मचारी, बाल विकास सहजकर्ताहरुका लागि १५ प्रतिशत तलब वृद्धि गरेको छ ।

विद्यालयको शैक्षिक गुणस्तरको मुख्य आधार नै बाल विकास भएकाले तल्लो तहको शैक्षिक सुधारका लागि गाउँपालिकाले योजना बनाउने प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष तिमिल्सिना, उपाध्यक्ष कान्छी तामाङ, प्रमुख प्रशासकीय अधिकृत दुलाल, शिक्षा शाखा प्रमुख निमराज बुढाथोकी र सम्बन्धित वडाका अध्यक्षसहितको टोलीले सामुदायिक विद्यालयहरुको निरीक्षण गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *