राष्ट्रियसभा : नागरिकता विधेयकमा लच्कियो सरकार, पुनर्विचारका लागि विषयगत समितिमा पठाइयो (भिडिओ) – Nepal Press

राष्ट्रियसभा : नागरिकता विधेयकमा लच्कियो सरकार, पुनर्विचारका लागि विषयगत समितिमा पठाइयो (भिडिओ)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकमाथि सरकारले विषयगत समितिमा छलफल गराउने भएको छ ।

प्रतिनिधिसभाबाट फास्ट ट्रयाकबाट हुबहु पारित गरेको विधेयकलाई राष्ट्रियसभाले प्रक्रियागत रूपमा अघि बढाउने भएको हो ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता नागरिकता विधेयकलाई पुनर्विचारका लागि विधायन समितिमा  पठाउने प्रस्ताव गरेका थिए । उनको प्रस्ताव बैठकको सर्वसम्मतिबाट स्वीकृत भएको छ ।

विषयगत समितिमा पठाइएसँगै नागरिकता विधेयक पारित गर्ने लम्बिने निश्चित भएको छ । यसअघि संसदीय प्रक्रिया छल्दै फास्ट ट्रयाकबाट विधेयक पारित गरेकोमा सर्वत्र आलोचना भएको थियो ।

साथै राष्ट्रपतिबाट आएको सन्देशलाई सरकारले पूर्णरूपमा बेवास्ता गरेर हुबहु विधेयक पारित गरेको विषयमा आलोचना भएपछि सरकार लचक बनेको हो ।

राष्ट्रियसभाको अर्को बैठक भदौ १६ गते बिहीबार अपरान्ह २:५९ मा बोलाइएको छ ।

त्यसअघि आजै बसेको राष्ट्रियसभाको पहिलो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको उक्त विधेयकका सम्बन्धमा जानकारी गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर