हामी अरु जस्ता होइनौं, क्रान्तिकारी योद्धा हौं: माधव नेपाल (भिडिओ) – Nepal Press

हामी अरु जस्ता होइनौं, क्रान्तिकारी योद्धा हौं: माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी गरिब र शोषितको पक्षमा संघर्ष गर्न स्थापना भएको बताएका छन् । नेपाली राजनीतिमा आफूहरु अरुभन्दा भिन्न रहेको उनले दाबी गरे ।

पार्टी निकट अनेरास्ववियूको केन्द्रीय कमिटीको पहिलो विस्तारित बैठकमा बोल्दै नेपालले यस्तो दाबी गरेका हुन् । उनले कुनै पनि कम्युनिष्ट पार्टीले गरिब र सर्वहारा वर्गको हित गर्नुपर्नेमा जोड दिए ।

नेपालले भने, ‘समाजमा विभिन्न वर्ग छन् । हामी समाजका शोषित जनताको पक्षमा, अन्याय, अत्याचार र थिचोमिचोमा परेका जनताको पक्षमा लड्न सर्वहारा वर्गीय दृष्टिकोण लिएर आएका हौं । हामी अरु जस्तै होइनौं ।’

उनले थपे, ‘हामी अरुभन्दा भिन्न हौं । हामी क्रान्तिकारी हौं । परिवर्तनकामी हौ‌ । जनताको हितको रक्षा गर्ने योद्धाहरु हौं । देशको रक्षा गर्ने र जनताको हितप्रति समर्पित हुने योद्धाको रुपमा हाम्रो भूमिका नेपाली समाजले स्वीकारेको छ ।’

अध्यक्ष नेपालले अखिलका विद्यार्थीहरुलाई स्वार्थी र व्यक्तिवादी नबन्न सुझाव दिए । ‘तपाईंहरु भ्रष्टाचारमा लिप्त नहुनुस् । इमानदारिता, निष्ठा र समर्पणको बाटो अंगाल्नुस् । आफ्नो कामबाट सबै विद्यार्थीको मन जित्नुस्,’ उनले भने ।

उनले देशभरका विश्वविद्यालय र कलेजमा शाखा विस्तार गर्न निर्देशन दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर