विप्लवबाट छुट्टिएको नेकपा बहुमतले चुनाव बहिष्कार गर्ने (भिडिओ) – Nepal Press

विप्लवबाट छुट्टिएको नेकपा बहुमतले चुनाव बहिष्कार गर्ने (भिडिओ)

संयोजक धर्मेन्द्र बास्तोला भन्छन्- सरकारले तीन बुँदे सहमति पालना नगरे आन्दोलन गर्छौं

काठमाडौं । विप्लवबाट छुट्टिएर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले मंसिर ४ को प्रतिनिधि र प्रदेशसभाको निर्वाचन बहिष्कार गर्ने बताएका छन् ।

आइतबार संवाद डबलीमा पत्रकार सम्मेलनमा बोल्दै संयोजक धर्मेन्द्र बाँस्तोलाले अहिलेको व्यवस्थामा हुने चुनावले जनताका समस्या समाधान नहुने दाबी गरे ।

उनले भने, ‘यो व्यवस्था नै जनता विरोधी छ । यो दलाल संसदीय व्यवस्था रहेसम्म हुने चुनावको नतिजा पनि दलालकै पक्षमा हुन्छ, यसबाट जनताले केही पाउँदैनन् । यो व्यवस्थामा हुने चुनावमा जनताका प्रतिनिधि नभएर दलालकै प्रतिनिधिले जित्ने छन् ।’

सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै उनले आन्दोलनको चेतावनी दिए ।

बास्तोलाले तत्कालीन नेकपा र सरकारबीच भएको सहमति कार्यान्वयनमा सरकार गैरजिम्मेवार भएको टिप्पणी गरे ।

संयोजक बास्तोलाले भने, ‘हामीसहित तत्कालीन नेकपा र ओली नेतृत्वको सरकारबीच भएको सहमतिबाट देउवा नेतृत्वको वर्तमान सरकार पछि हटेको छ । यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सरकार सहमतिबाट पछि हट्न स्वतन्त्र छ भने हामी पनि संघर्षमा जान स्वतन्त्र छौं ।’

सरकारले ३२२ मुद्दा फिर्ता लिन नसकिने बताउनु गम्भीर भएको भन्दै उनले भने, ‘यसले समस्या समाधान गर्ने होइन कि, थप जटिलता ल्याउँछ ।’ सहमति कार्यान्वयन गरी बन्दीलाई तत्काल रिहा गर्न आग्रह गर्दछु ।’

उनले नागरिकता विधेयक खारेजको मागसमेत गरे । भारतीयलाई नागरिकता दिन विधेयक ल्याइएको उनको भनाइ छ ।

‘नागरिकता विधेयक देश र जनताको हितमा छैन भन्ने हाम्रो पार्टीका धारणा छ, राष्ट्रपतिले फिर्ता गर्नुभएको छ तर, फेरि हुबहु पारित गरेर पठाउने तयारी भइरहेको छ । यसका विरुद्ध आम नागरिकता एकजुट हुनुपर्छ ’, बास्तोलाले भने ।

नागरिकता विधेयकमा एमालेले दोहोरो चरित्र देखाएको उनले टिप्पणी गरे । आफू सरकारमा हुँदा अध्यादेश ल्याउने र अहिले भोट बटुल्न मात्रै विरोध गरेको बताए ।

संयोजक बास्तोलाले कालो धन कमाएका सरकारका उच्च अधिकारी नै मिटरब्याजी भएको आफ्नो पार्टीलाई सूचना आइरहेको बताउँदै त्यस्तालाई कारवाही गर्न सरकारसँग माग गरेका छन् ।

उनले मेयर बालेन्द्र साहले सडकमा व्यवसाय गरेर जीवन गुजरा गरिरहेकाको उठीबास लगाएको भन्दै आपत्ति जनाए । अल्फाबिटाको अवैध संरचना भत्काएकोमा भने समर्थन जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर