यसरी पूरा भयो बुटवलको ‘ड्रिम प्रोजेक्ट’ – Nepal Press

यसरी पूरा भयो बुटवलको ‘ड्रिम प्रोजेक्ट’

रुपन्देही । लुम्बिनी क्षेत्रमा ठूलो कार्यक्रम गर्नका लागि आवश्यक सभाहल नभएर सबैलाई हैरानी थियो । त्यस्तै आवश्यकतालाई पूरा गर्न एमाले नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले एक दशकअघि बुटवलमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने प्रस्ताव गरेका थिए ।

लामो समयदेखि रुपन्देहीलाई भूगोल बनाएर राजनीतिक आन्दोलनमा लागेको पौडेलले बनाएको ड्रिम प्रोजेक्ट अहिले पूरा भएको छ । यो बीचमा उनी धेरैपटक सांसद तथा मन्त्री भए । दुई पटक त अर्थमन्त्री नै भए । आफू सत्तामा हुँदा होस् वा बाहिर हुँदा यसलाई नियमित बजेट विनियोजन गर्नेदेखि कानुनी प्रकृया पुर्‍याउन सबैलाई निरन्तर दौडाइरहे ।

यसको लागि बुटवल मण्डपमा जग्गा व्यवस्थापन गर्ने समयमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग पुग्न बुटवलका पूर्वमेयर तथा सांसद स्व. सूर्यप्रसाद प्रधानसहितको निजी क्षेत्रको टोलीलाई पौडेलकै योजनामा पठाइएको थियो । वनको जग्गा, नेपाली सेनाले भोगचलन गरेकाले त्यो समयमा निर्णय गराउन चुनौती रहेपनि निजी क्षेत्रको सक्रियतालाई नेतृत्व गराएरै सम्भव भएको टोलीमा सहभागी सदस्यहरुको स्मरण छ ।

पाैडेलले आफ्नो ड्रिम प्रोजेक्ट पूरा गर्न विभिन्न तवरले लागेका छन् । २०७१ सालमा उनी मन्त्री पनि थिएनन् । आफूले देखेका सपना पूरा गर्न विभिन्न निकायमा यसको फाइलका दर्ता चलानीदेखि क्याबिनेटसम्म आफैं नेतृत्व गरेर धाएका थिए । यो बीचमा उनी ०७२ साल र ०७७ सालमा दुई पटक अर्थमन्त्री बनेर यसलाई पार लगाएका हुन् ।

पौडेलले यसले रुपन्देहीका जनप्रतिनिधि गफ गर्ने होइन काम गरेर देखाउने भन्दै रुपन्देहीबासीका सपना पूरा भएको बताएका छन् । ‘यो मेरो परिकल्पना मात्रै थिएन, सिंगो रुपन्देहीको सपना थियो, रुपन्देहीको पहिचान थप्ने यस्तो विशेष काममा निरन्तर साथ दिने यहाँका जनता, निजी क्षेत्र, विभिन्न राजनीतिक दल, कार्यान्वयन गर्ने सरकारी निकाय यसका साझेदार हुन्, म यसको सुरुदेखिकै पहरेदार हो अब यसलाई संचालनको मोडालिटीमा तत्काल पहल चाल्नुपर्छ,’ उनले भने । दुई चरणमा निर्माण सकिएको यो आयोजना दोस्रो चरणको त समयअगावै सकिएको छ ।

‘परिकल्पना, डिजाइन, गुरुयोजना, डिपिआर, रातो किताबमा छनौट, प्राथमिक आयोजनामा समेट्नु, बहुवर्षीय आयोजनामा राखेर स्रोत सुनिश्चिततापछि ठेक्का, ठेक्कापछि रुख कटानीको समस्या समाधान र निर्माण सुरु भएपछि निरन्तरताको फलोअफ मेरो पूर्ण जिम्मेवारीमा पर्यो’, पौडेल सम्झिन्छन् ।

उनको सचिवालयमा रहेका यम पाण्डे भन्छन्- यो आयोजनाबाट मैले नि धेरै काम सिकें, सुरुवाती फाइल बोकेर विभिन्न निकायमा दर्ता चलानीदेखि क्याबिनेटमा बसेर निर्णय गराउनेसम्मका सबै प्रकृयामा पौडेल आफैले नेतृत्व गर्नुभयो, दर्जनौं पटक अर्थ, शहरी, वन मन्त्रालय तथा योजना आयोग तथा वन विभागमा पुग्नुभयो, परिकल्पनादेखि उद्घाटनसम्म नेतृत्व गर्नुभयो त्यसैले उहाँको सपना पूरा भएको भन्नुभएको हो ।
कसरी आयो यस्तो योजना बनाउने आइडिया ?

२०६५ साल फागुन ५ देखि १४ गतेसम्म बुटवल मण्डपमा सम्पन्न भएको एमालेको आठौं महाधिवेशनमा व्यवस्थापनको जिम्मेवारी पाएका पौडेलले व्यवस्थित सभाहल नहुँदा निकै समस्या भोगेका थिए । अस्थायी संरचनामा भएको पटक पटकको खर्च जोगाउन त्यही महाधिवेशनले सम्मेलन केन्द्रको योजना बनाउन सकेको पौडेल बताउँछन् ।

‘भौतिक पूर्वाधारले नेपालकै नमूना बन्दै गइरहेको बुटवलमा महाधिवेशनका बेला स्तरीय सम्मेलन केन्द्र नभेटिएपछि यसको परिकल्पना गरेर योजना अघि बढाइएको थियो, बुटवल सम्मेलन केन्द्र निर्माणको प्रस्ताव गर्नेदेखि योजना बनाउने, बजेट विनियोजन गर्ने र निर्माणको काम सम्पन्न नहुँदासम्म निरन्तर अभिभावकको भूमिका खेल्न पाएकोमा मैले गौरव अनुभूति गरिरहेको छु, यसले यस क्षेत्रको मात्रै होइन लुम्बिनी क्षेत्रकै गौरव बढाएको छ,’ पौडेलले भने ।

बुटवल सम्मेलन केन्द्रको निर्माण पूरा भएपछि राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रियस्तरका ठूला कार्यक्रम बुटवलमै हुने र त्यसले आर्थिक र पर्यटकीय क्षेत्र चलायमान हुने पौडेलको अपेक्षा छ । विभिन्न राजनीतिक दलहरूका महाधिवेशन खुला आकाशमुनि भएको अवस्थामा अब त्यसको बाध्यता हट्नुको साथै व्यवस्थापनमा सहज हुनेछ ।

पौडेलले विकासको कामलाई दिएको निरन्तरतालाई उनको दलका नेता कार्यकर्ताले मात्र होइन अन्य दलका नेताकार्यकर्ताले प्रशंसा गरेका छन् । रुपन्देहीमा प्रदेशको राजधानी राख्न नसकेको आलोचना गर्ने अन्य दलका नेताकार्यकर्ताहरुले उनले विकास लागि लिएको अडानको भने प्रशंसा गरेका छन् ।

विकासका कामलाई दलीय फण्डा बनाउन नहुने तर्क राख्दै आएका पौडेलले शनिबारको उद्घाटन कार्यक्रममा समेत यसैलाई प्राथमिकताका साथ उठाए । उनले सम्मेलन केन्द्रको संचालनका लागि निजी क्षेत्रको सहभागिता र संचालन कार्यविधिलाई छिटो बनाउन नसके आलोचना बढ्ने बताएका छन् ।

‘बुटवल सम्मेलन केन्द्रले रूपन्देहीलाई मात्र नभई बाहिरी जिल्लालाई समेत जोड्ने भएकोले यहाँको व्यापार व्यवसायमा चलायमान हुने अपेक्षा गरेका छौं,’ पौडेलले भने । यसले खुला चौरमा गर्ने कार्यक्रमको खर्चमा बचत त गर्छ नै बुटवलको चर्को गर्मीमा पनि कार्यक्रम गर्न सहज हुने स्थानीय उद्योगी व्यवसायी बताउँछन् ।

बुटवलमा ठूलो क्षमताको सभाहल नहुँदा राजनीतिक दलका सभा सम्मेलन तथा अन्य विभिन्न कार्यक्रम समेत खुला आकाशमुनि गर्नुपर्ने बाध्यता थियो । अब भने त्यो बाध्यता हट्ने भएको छ । सम्मेलन केन्द्रले अब बाहिर कार्यक्रम गर्ने झन्झटबाट मुक्त बनाएको मात्र नभई बुटवलले अब जस्तोसुकै अन्तर्राष्ट्रिय स्तरको सम्मेलन गर्न पनि तयार छ भन्ने सन्देश दिएको छ ।

स्वदेशी मात्र नभई अन्तर्राष्ट्रिय सभा सम्मेलनसमेत गर्न मिल्ने गरी तयार गरिएको बुटवल सम्मेलन केन्द्रलाई रूपन्देहीको पूर्वाधार विकासको एक इँट्टा भनिएको छ । संघीय सरकारको सहरी विकास मन्त्रालयमार्फत् १ अर्ब ११ करोड रुपैयाँ लागतमा बुटवल सम्मेलन केन्द्रको विभिन्न क्षेत्रले खुशी व्यक्त गरेका छन् ।

२०७१ साल माघ १५ गते सम्मेलन केन्द्र निर्माणको ठेक्का सम्झौता गरिए पनि ०७२ सालको सुरूमै गएको भूकम्प तथा नाकाबन्दीका कारण सम्मेलन केन्द्रको निर्माण कार्य केही ढिलो गरी सुरू गरिएको थियो ।

ठेक्का सम्झौता गर्दा पाँच वर्षमा निर्माण सक्ने भनिए पनि नाकाबन्दी र भूकम्पका कारण ढिलो गरी थालिएको सम्मेलन केन्द्रको काम कोरोना महामारीका कारण केही समय प्रभावित बन्यो । यद्यपि ढिलै भए पनि निर्माणको काम पूरा भएको छ ।

साना ठूला गरी एउटै छानोमुनि दुई हजार जना क्षमताका हलसहित तयार भएको अन्तर्राष्ट्रिय स्तरको यो सम्मेलन केन्द्र काठमाडौंभन्दा बाहिरको सबभन्दा ठूलो क्षमताको सम्मेलन केन्द्र हो ।

बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये ९.६ विगाह क्षेत्रफलमा सम्मेलन केन्द्र निर्माण भएको छ । सम्मेलन केन्द्रदेखि पश्चिमतर्फको ६ दशमलव ४ बिगाह क्षेत्रफलमा भने अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण भइरहेको छ । भौतिक पूर्वाधारका हिसाबले फड्को मारिरहेको बुटवलमा निर्माण सम्पन्न भएको सम्मेलन केन्द्रलाई यहाँका राजनीतिक दल, उद्योग व्यवसायीले बुटवल सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्रलाई बुटवलका ‘ड्रिम प्रोजेक्ट’ का रूपमा हेरेका छन् ।

सतहबाट हेर्दा ब्लकअनुसार फरक-फरक संरचना देखिएको सम्मेलन केन्द्र आकाशबाट हेर्दा तीन वटै भवन एक आपसमा जोडिएर नेपालको राष्ट्रिय झण्डाको आकारमा देखिएको छ । पहिलो चरणमा रविना समानान्तर चन्द्रसूर्य जेभी कम्पनीले निर्माणको काम गरेकोमा दोस्रो चरणको काम भने आशिष निर्माण सेवाले गरेको हो ।

पहिलो चरणमा १ हजार ११४ जना अट्ने क्षमताको मुख्य सभाहल रहेको भवन, दुई वटा लेक्चर हल, ६ वटा मिटिङ हल, भिआइपी, भिडिओ, अडिओ, ट्रान्सलेटर लगायतका कक्ष रहेका छन् । त्यस्तै, दोस्रो चरणमा निर्माण भएको चन्द्र आकारको भवनमा दुई वटा ५०/५० र दुई वटा १/१ सय क्षमताका हल रहेका छन् ।

भौतिक पूर्वाधारको हिसाबले पहिलो चरणमा मुख्य भवन निर्माण गरिए पनि रङरोगन, सजावट, कुर्ची टेबल, विद्युत, सिसिटिभी जडान, प्रवेशद्वार लगायतका संरचना दोस्रो चरणमा निर्माण गरिएकोले लागत रकम पनि बढी छ । आयोजना प्रमुख धर्मेन्द्र पन्थीका अनुसार पहिलो चरणको काम २३ करोड ७६ लाख रुपैयाँ र दोस्रो चरणको काम ८० करोड गरी १ अर्ब ३ करोड ७६ लाख रुपैयाँमा निर्माण भएको छ ।

दोस्रो चरणमा सभाहल परिसरको ग्रिनरीसहितको बाटो, फुटपाथ, क्यान्टिन ब्लक, शौचालय, कर्मचारीहरूको लागि तीन तलाको छुट्टै आवास गृह, पार्किङ स्थल, पोखरी, बगैंचा लगायतका संरचना निर्माण गरिएका छन् ।

त्यसैगरी, सम्मेलन केन्द्रभित्र कुर्ची, साउण्ड सिस्टम, कार्पेट एचभिएसी लगायतको काममा गरी १ अर्ब ११ करोड रुपैयाँ लगानी भएको पन्थीले जानकारी दिए । सम्मेलन केन्द्रसँग सटेर नर्थ र साउथ गरी दुई वटा मल्टीप्रपोज भवन बनेका छन् ।

यी एकसय जना क्षमताका छन् । त्यसबाहेक २ वटा सर्भिस ब्लक, १ क्यान्टिन, १ ग्रीन हाउस, ६ जना बस्न मिल्ने कर्मचारी आवासका लागि भवन निर्माण भएको छ । त्यस्तै, ४ वटा सुरक्षागार्ड हाउस बनिसकेका छन् । २ वटा प्रवेशद्वार र १ वटा निकास द्वारसँगै भिआइपी र सर्भिसद्वार गरी ५ वटा गेट तयार भएका छन् । २ वटा टिकट काउन्टर निर्माण भइसकेका छन् ।

लिफ्टसहितको सम्मेलन केन्द्र परिसरमा ग्रिनरीसहितको बाटो, फुटपाथ, बगैंचा लगायतका संरचना निर्माण गरिएका छन् । सम्मेलन केन्द्रमा हेलिप्याड र चार सय गाडी र चार सय मोटरसाइकल पार्किङ गर्न मिल्ने गरी पार्किङस्थल बनाइएको छ ।

त्यसैगरी, विद्युतका लागि छुट्टै सव–स्टेशन र ६३० केभिए क्षमताको विद्युत ट्रान्सफर्मर राखिएको छ । सभाहल अगाडि पोखरी निर्माण गरिएको छ भने बाल उद्यान, कफी सप, रिफ्रेस हल, रजिस्ट्रेसन र टिकट काउण्टर निर्माण गरिएका छन् ।

सम्मेलन केन्द्रको सञ्चालन भने कुन ढाँचाबाट गरिने भन्नेबारे अझै प्रष्ट भइसकेको छैन । बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने या कुनै समितिमार्फत सञ्चालन गर्नेबारे संघीय सरकारले नै निर्णय गर्नेछ ।

लेखक ऋषि आजाद सभाहल बनाउने परिकल्पनाकार, डिपिआर, आइए, इआइए, रुख कटान, बजेट सुनिश्चितता, टेण्डरदेखि शिलन्यास प्रकृयासम्म निरन्तर खटिएका जनप्रतिनिधि विष्णु पौडेललाई धन्यवाद दिँदै यसमा साथ दिने कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँणसहितका जनप्रतिनिधिले अब दीर्घकालीन संचालनको मोडालिटी बनाउनुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्शका लुम्बिनी अध्यक्ष टंक पोखरेलले सम्मेलन केन्द्रको सम्पूर्ण योजना बनाउनेदेखि कार्यान्वयनको नेतृत्व पूर्वअर्थमन्त्री विष्णु पौडेलले गरेको बताउँछन् ।

‘उद्योग संघ, व्यापार संघ, वाणिज्य संघलाई साथमा लिएर उहाँले निरन्तर नेतृत्व गर्नुभयो, सुरुमै तीनै संस्थाले पाँच लाखका दरले उठाएर पहिलो वाल उठाएका थियौं तर उद्घाटन हेर्दा पुरै दलको कार्यक्रमजस्तो गरेर बेवास्ता गरियो, यसरी यसलाई संचालन गर्न चुनौती हुन्छ, नेतृत्वको ध्यान जाओस्, इतिहास मासेर कसैलाई फाइदा हुँदैन,’ पोखरेलले भने ।

नेपाल उद्योग परिसंघका लुम्बिनी अध्यक्ष एजाज आलमले सम्मेलन केन्द्रको परियोजनाका विषयमा यस क्षेत्रका जनप्रतिनिधि विष्णु पौडेल नै अगुवाई गरेको बताउँछन् । ‘यसमा कसैले लुकाउनुपर्ने छैन, सारा संयन्त्र परिचालन गरेर उहाँले नेतृत्व गर्नुभयो, निजी क्षेत्रले साथ दियो, तर पछिल्लो चरणमा निजी क्षेत्रलाई बेवास्ता गरिएको छ, यसले घाटा सरकारलाई नै हुन्छ, हामीलाई त उद्घाटन कार्यक्रममा समेत खबर आएन,’ आलमले भने ।

रूपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले सम्मेलन केन्द्र निर्माणपछि बुटवलमा आर्थिक गतिविधि बढ्ने बताउँदै यसको परिकल्पनाकार रहेका पूर्वअर्थमन्त्री विष्णु पौडेललाई यस क्षेत्रको विकासका लागि नेतृत्व गर्न आग्रह गरेका छन् ।

रूपन्देही व्यापार संघका अध्यक्ष कृष्ण घिमिरे पनि सभाहल बनेपछि व्यवसायिक लाभ लिनुका साथै बुटवलको चिनारी समेत थपिएको बताउँछन् । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले बुटवल सम्मेलन केन्द्र बुटवलको गहना भएकोले यसबाट बुटवलले लाभ लिन सक्नुपर्नेे र यसमा निजी क्षेत्रलाई सहभागिता बनाउनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *