फिनल्यान्डको प्रधानमन्त्री निवासमा दुई युवतीको ‘लिप लक’, फेरि विवादमा तानिइन् साना मरिन
काठमाडौं । पछिल्लो समय फिनल्यान्डकी प्रधानमन्त्री साना मरिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा समाचारको विषय बनेकी छन् ।
आफ्ना साथीहरुसँग मदिरा पिउँदै नाचिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै उनी विवादमा तानिएकी थिइन् ।
उक्त भिडिओ सार्वजनिक भएपछि प्रतिपक्षीले उनले लागुऔषधसमेत प्रयोग गरेको हुनसक्ने आशंका गर्दै परीक्षण गर्न माग गरेको थियो । सानाले उक्त परीक्षणसमेत गराएकी थिइन् । रिपोर्टमा सानाले मदिराबाहेक अन्य कुनै लागुऔषध प्रयोग नगरेको देखिएपछि उक्त विवाद केही साम्य भएको थियो ।
यसैबीच साना पुनः विवादमा तानिएकी छन् । प्रधानमन्त्री निवासको बाथरुममा दुई जना महिलाले ‘लिप लक’ गरेको फोटो सार्वजनिक भएसँगै उनी फेरि विवादमा तानिएकी हुन् ।
‘इनसाइडर न्युज’ नामक मिडियाले सर्वप्रथम उक्त फोटो सार्वजनिक गरेको थियो । फोटोमा फिनल्यान्डकी प्रख्यात सोसल मिडिया इन्फ्लुएन्सर तथा सानाकी साथी सबिना सार्क र एक अर्की युवती ‘लिप लक’ गरेको देखिन्छन् । उनीहरु दुबै जना टपलेस भएर वक्षस्थललाई भने ‘फिनल्याण्ड’ लेखिएको प्लेकार्डले छोपेको देखिन्छ ।
साना आफैंले पनि अन्तर्राष्ट्रिय म्यागाजिन ‘टाइम्स’लाई उक्त तस्वीर प्रधानमन्त्री निवासको बाथरुममा खिचिएको पुष्टि गरेकी छन् । उनले उक्त तस्वीर नितान्त निजी भएको कारण सार्वजनिक हुन नहुने धारणा पनि राखेकी छन् ।
सो फोटो खिचिएको दिनको बारेमा साना भन्छिन्, ‘हामीले त्यो दिन सौना बाथ ग¥यौं, पौडी खेल्यौं र सँगै समय बितायौं । यस्तो तस्वीर खिच्नु हुँदैनथ्यो । तर, भेटघाटमा त्यस्तो असाधारण केही भएको थिएन ।’
उनकै उमेरका अरु व्यक्तिको जस्तै आफ्नो पनि व्यक्तिगत जीवन रहेको उनको भनाइ छ । सानाको सो अभिव्यक्तिलाई लिएर धेरैले उनको समर्थनसमेत गरेका छन् ।