उपेन्द्र यादव सिरहा २ बाट पनि उम्मेदवार सिफारिस, विजय यादव प्रदेश छाड्ने ! – Nepal Press

उपेन्द्र यादव सिरहा २ बाट पनि उम्मेदवार सिफारिस, विजय यादव प्रदेश छाड्ने !

जनकपुरधाम । आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि सिरहा क्षेत्र नम्बर २ बाट पनि जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव उम्मेदवार सिफारिस भएका छन् ।

मंगलबार बसेको जसपा सिरहा क्षेत्र २ को बैठकले जसपा अध्यक्ष यादव, मधेसका कृषिमन्त्री विजय कुमार यादव र पूर्व राज्यमन्त्री शत्रुधन प्रसाद सिंहलाई उम्मेदवार सिफारिस गरेको हो ।

अध्यक्ष यादवलाई बारा क्षेत्र नम्वर २ बाट पनि जसपाले उम्मेदवार सिफारिस गरिसकेको छ । उनी ०७४ को निर्वाचनमा सप्तरी क्षेत्र नम्वर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनी सिरहाबाट पनि सिफारिस भएपछि कहाँबाट चुनाव लड्ने निश्चित छैन ।

०७४ को निर्वाचनमा सिरहा २ बाट नेकपा माओवादी केन्द्रका सुरेशचन्द्र दास निर्वाचित भएका थिए । नेकपा एमालेसँग गठबन्धन भएको अवस्थामा उनले २० हजार १४८ मत ल्याएर जितेका थिए ।

उनको निकटम प्रतिद्धन्दी तत्कालिन संघीय समाजवादी फोरमका शत्रुधन प्रसाद सिंह १७ हजार २६० मत पाएका थिए । यस्तै काँग्रेसका उम्मेदवार रामचन्द्र यादव पनि १५ हजार ५९७ मत ल्याएर तेस्रो भएका थिए ।

यो क्षेत्रमा माओवादीभन्दा नेकपा एमाले मजबुत छ । एमालेले माओवादीलाई नसघाउने अवस्थामा यहाँ जसपा बलियो हुनेछ । विगतमा माओवादी जितेकाले यो पटक सत्ता गठबन्धनको बाँडफाँडमा माओवादीले नै क्षेत्र पाउने सम्भावना छ । यद्यपि जसपाले क्षेत्र पाए अध्यक्ष उपेन्द्र यादव नै यहाँबाट चुनाव लड्ने चर्चा छ ।

अध्यक्ष यादव चुनाव नलडेको अवस्थामा जसपा कार्यकारिणी सदस्य समेत रहेका प्रदेशका कृषिमन्त्री विजय यादव चुनाव लड्ने सम्भावना छ । त्यसैले ०७४ मा चुनाव लडेका सिंहभन्दा मन्त्री यादवलाई प्राथमिकतामा राखेको छ । मन्त्री यादवको नाम प्राथमिकताको दोस्रो र सिंहको नाम तेस्रो नम्वरमा छन् ।

मधेस आन्दोलनको सुरुवातदेखि नै उपेन्द्र यादवको नेतृत्वमा काम गरेका मन्त्री यादव पहिलो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । उनी त्यतिबेला उद्योग मन्त्री पनि भए । दोस्रो संविधानसभा सदस्यमा उनी पराजित भए । ०७४ मा पार्टीको निर्देशनमा उनी प्रदेशसभा सदस्यमा चुनाव लडे र विजयी पनि भए ।

उनलाई पार्टीले मुख्यमन्त्रीको प्रलोभन देखाएको थियो । तर मुख्यमन्त्री लालबाबु राउत बनेपछि यादवलाई अर्थमन्त्री बनाइयो । पछि पार्टीले जिम्मेवारी हेरफेरका क्रममा अर्थमन्त्रीबाट उनलाई कृषि मन्त्री बनाए । यो पटक उनी प्रदेश छाडेर संघमा उक्लिन चाहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *