चोलेन्द्रसँग बयान सुरू, ६४ वटा प्रश्न तयार (तस्बिरहरू/भिडिओ) – Nepal Press
प्रधानन्यायाधीशमाथि महाअभियोग

चोलेन्द्रसँग बयान सुरू, ६४ वटा प्रश्न तयार (तस्बिरहरू/भिडिओ)

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान भर्खरै सुरू भएको छ । बिहान ११ बजेदेखि नै महाअभियोग सिफारिस समितिको बैठक बस्ने भनेपनि निर्धारित समयभन्दा करिब डेढ घण्टापछि बयान सुरू गरिएको हो । बोलाकै बेला सिंहदरबार पुगेका राणा कुरेर बसेका थिए ।

जबरामाथि संविधान र कानुनको गम्भीर उल्लंघन गरेर पदको दुरुपयोग गरेको, खराब आचरण र कार्यक्षमता अभाव, न्याय सम्पादनमा अवरोधलगायतका आरोप लगाइएको छ ।

बयानका लागि आवश्यक मापदण्ड बनाउन थाल्दा समय लागेको बताइएको छ । साथै पत्रकारलाई छिर्न दिने/नदिने विषयमा सत्तारुढ र प्रतिपक्ष दलका सांसदबीच मतभेद भएको थियो ।

समिति सदस्य प्रमोद साहका अनुसार उनीमाथि लागेका आरोपसँग सम्बन्धित जम्मा ६४ वटा सवाल सोधिनेछ । तीमध्ये २१ वटा प्रश्न बार एशोशिएशनले बुझाएको विवरणबाट छ ।

‘उहाँको लिखित र मौखिक दुवै बयान हुन्छ । बार एशोशिएशनले २१ वटा दिएको छ । हामीले तयार पारेको ४३ वटा छ । उहाँको जवाफ के आउँछ त्यसलाई अध्ययन गर्छौं’, साहले बताए ।

यसअघि नेपाल बारले राणामाथिको महाअभियोग प्रस्तावलाई पुष्टि गर्न आरोपसँग सम्बन्धित कागजात समितिलाई पेस गरेको छ । बारको ३५ बुँदे विवरणमा विभिन्न मुद्दासँग सम्बन्धित फैसला, न्यायाधीशहरूको सरुवा बढुवा, मुद्दा प्रभावित पार्न गरिएका टेलिफोनलगायतका विषय समावेश छन् ।

गत १ फागुनमा सत्तारुढ दलका सांसदले जबराविरुद्ध महाअभियोग संसदमा दर्ता गरेका थिए । महाअभियोगबारे अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको ११ सदस्यीय समितिको बैठकले १९ भदौभित्र प्रतिवेदन बुझाउने कार्यतालिका पारित गरेको छ । जसका लागि १२ भदौसम्म प्रमाण जुटाउने र अध्ययन गर्ने समितिले निर्णय गरेको थियो ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर