कारबाहीमा परेका ओझासँग कांग्रेस नेताहरूको भेट, के के भयो कुरा ? – Nepal Press

कारबाहीमा परेका ओझासँग कांग्रेस नेताहरूको भेट, के के भयो कुरा ?

कैलाली । नेपाल कांग्रेसबाट कारबाही झेलिरहेका पूर्वमन्त्री पुष्करनाथ ओझाले कैलाली ५ बाट निर्वाचन लड्ने संकेत गरेका छन् । आज कांग्रेस कैलालीका नेताहरुसँगको भेटमा उनले यसअघि प्रधानमन्त्री पत्नी आरजु राणा देउवा लडेको क्षेत्रमा यस पटक आफू लड्ने जनाएका हुन् ।

अघिल्लो पटक राणा एमाले उम्मेदवार नारदमुनि रानासँग ५ हजार बढी मतले पराजित भएकी थिइन् । त्यसवेला ओझाले पार्टीलाई असहयोग गरेको भन्दै कांग्रेसले कारबाही गरेको थियो । उनको कारबाही अझै फुकुवा भएको छैन ।

आगामी संसदीय निर्वाचनमा ओझा स्वतन्त्र उम्मेदवार बन्ने चर्चा चलेसँगै कांग्रेस केन्द्रीय सदस्य, कैलाली जिल्ला सभापतिलगायतले उनलाई भेटेका हुन् । ओझालाई भेट्न केन्द्रीय सदस्य तथा धनगढीका निवर्तमान मेयर नृप बड, जिल्ला सभापति नारायणदत्त भट्ट, सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका, निवर्तमान सल्लाहकार नारायण सत्याल, कैलाली सचिव नृप सुनार, गोदावरी नगरपलिकाका मेयर वीरेन्द्र भट्ट घरमै पुगेका थिए ।

कांग्रेस आफ्नो घर भएको भन्दै ओझाले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएमा यस विषयमा छलफल गर्न सकिने सुनाएका थिए ।

स्थानीय तह निर्वाचन वेला धनगढी पुग्दा देउवाले ओझालाई भेट्न बोलाएका थिए । तर, उनी गएनन् । त्यसपछि ओझा र देउवाको भेट भएको छैन । ओझाले भेटमा देउवालाई भेट्न आफू सकारात्मक रहेको बताएका छन् ।

२०७० सालमा कैलाली ६ र डडेल्धुराबाट देउवा निर्वाचित भएका थिए । कैलाली ६ मा भएको उपनिर्वाचनमा देउवाको विरासत जोगाउँदै ओझा निर्वाचित भएका थिए । अघिल्लो पटक प्रतिनिधिसभामा पुनः दाबी गरेका ओझालाई पन्छाउँदै पार्टीले प्रधानमन्त्री पत्नी आरजु राणालाई टिकट दिएको थियो । जसबाट उनी पार्टीसँग रुष्ट थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर