एमालेको चुनावी चुनौती- गठबन्धन होइन, आफ्नै संगठन – Nepal Press

एमालेको चुनावी चुनौती- गठबन्धन होइन, आफ्नै संगठन

राजनीतिक विषयमा वेलावेला लेख्ने गरेको कारणले होला धेरैले सोध्ने गर्नुभएको छ अबको चुनावमा एमालेको खास अवस्था के होला र यसको मुख्य चुनौती के होला ? स्थानीय चुनावलाई नजिकबाट नियाल्न पाएको कारणले मलाई के लाग्यो भने आउने चुनावको सन्दर्भमा गठबन्धनको शक्तिको अलावा एमालेको लागि आफ्नै सांगठनिक अवस्था नै बढी चुनौतीपूर्ण हुने देखिन्छ ।

देश अहिले पुनः चुनावमय हुन थालेको छ । विभिन्न घटनाक्रम र आउने दिनमा विकास हुनसक्ने सम्भावनालाई हेर्दा अबको केन्द्रीय र प्रादेशिक चुनाव सामान्य संसदीय चुनावमात्रै नभएर देशको आन्तरिक र भूराजनीतिक भविष्य कता जानेछ भन्ने निर्धारण गर्ने एउटा ठूलै कसरत हुने देखिन्छ । जनतासम्म यो यथार्थ पुग्ने हो कि होइन, कसरी भोट हाल्ने हुन्, त्यो आफ्नो ठाउँमा छ । तर, चुनावी नजिताले देशलाई दीर्घकालीन असर पार्ने निश्चित छ ।

अबको चुनावमा प्राय: सबै दलहरुको मुख्य तारो एमाले नै हो । बहुदलीय संसदीय प्रणालीमा दलहरुको सिन्डिकेट अथवा गठबन्धन हुनु प्रजातान्त्रिक हिसाबले प्रत्युत्पादक हो । यस्तो अवस्थामा अल्पसंख्यक र विविध खाले सामाजिक विषयहरुले आफ्नो स्थान पाउँदैनन् र समग्रमा केही निश्चित मान्छेहरुको हालीमुहालीलाई स्थापित गरिदिन्छ । कतिपयले भारतमा पनि गठबन्धन छ, यस्तो भैहाल्छ नि भन्ने पनि गरेका छन् । भारतमा त्यही गठबन्धन छ र त अल्पसंख्यकहरु र आम मानिसले प्रजातन्त्रकै अनुभूति गर्न पाउँदैनन् । धेरैले अहिलेको भारतीय स्वरुपलाई अप्रजातान्त्रिक मान्छन् ।

देश ध्रुवीकरणतर्फ उन्मुख छ र एमालेका महासचिव शंकर पोखरेलले प्रस्ताव गरे झैँ देश दुई दलीय संसदीय प्रणालीतिर नै हिँड्न थालेको आभास हुन्छ । एमालेका विरुद्ध अन्य दलहरु गठबन्धन बनाएरै चुनावमा जानुले राजनीतिक ध्रुवीकरण स्थापित हुँदै जाने कुरा नै अघि बढाउँछ । गठबन्धन नगर्ने हो भने एमालेले सजिलै जित्छ भन्ने आकलन भएका कारण कांग्रेस र माओवादी कुनै हालतमा पनि छुट्टाछुट्टै चुनाव लड्ने स्थितिमा छैनन् । विदेशी शक्ति केन्द्रको स्वार्थ र प्रचण्ड-नेपालको केपी ओलीविरोधी अभियान सबै कारणले गठबन्धनभन्दा बाहिर जान सक्ने अवस्था छैन ।

बहुदलीय संसदीय प्रणालीमा दलहरुको सिन्डिकेट अथवा गठबन्धन हुनु प्रजातान्त्रिक हिसाबले प्रत्युत्पादक हो ।

तरै पनि सबैलाई एमालेकै डर छ । एमालेका लागि अत्यन्त विषम परिस्थितिमा सम्पन्न भएको स्थानीय चुनावमा समेत समग्रमा राम्रो नतिजा हासिल गर्न सफल भएको र पछिल्ला दिनहरुमा गठबन्धन झनै विवादास्पद र अलोकप्रिय हुँदै गएको अवस्थामा एमालेलाई कमजोर नठान्ने गठबन्धनको रणनीति सही नै हो । राष्ट्रवादी र केही हदसम्म स्वतन्त्र रुपमा रहेको ठूलो जनमत पनि एमालेकै पक्षमा उभिने सम्भावनाको आकलन गठबन्धनले गरेको छ । एमालेका लागि यो अवसर र चुनौती दुवै हो ।

तर, एमाले यो परिस्थितिलाई आफ्नो पक्षमा पार्न सफल होला ? कस्तो चुनावी माहोल बनाउला ? यो सबै हेर्न बाँकी नै छ । तर, अघिल्लो चुनावको नतिजा र एमालेको आन्तरिक परिचालनलाई हेर्दा भने अबको चुनावको लागि एमालेको ठूलो चुनौती गठबन्धन होइन, वास्तविक चुनौती उसको आफ्नै संगठन र आन्तरिक दाउपेच नै हो । चुनावका लागि आफू चुस्त दुरुस्त हुन सकेन भने एमालेको लागि आफ्नै शरीर आफैंलाई बोझ हुनेछ ।

स्थानीय चुनावमा अपेक्षाकृत नतिजा हात नपर्नुको कारणबारे एमालेभित्र धेरै बहस भएको देखिएन । केन्द्रीयस्तरमा केही तर्क बितर्क भए पनि समग्रमा गठबन्धनको कारणले हारेको हो भन्ने सतही व्याख्यामा सीमित रहेको देखियो । गठबन्धनको कारण हार्नु स्वाभाविकै थियो । तर, समग्रमा एमालेको हारको मुख्य कारण आफ्नै आन्तरिक कमजोरी र संगठनात्मक चुस्तताको अभाव थियो ।

आन्तरिक हिसाबले एमालेको हारको मुख्य तीन वटा कारण देखिएका थिए ।

पहिलो, धेरै ठाउँमा चुनावी उम्मेदवार छनोट प्रक्रिया नै गलत थियो । स्थानीय समुदायले रुचाएका, जनताले क्षमतावान ठानेका, नयाँ सोच र जाँगर देखिएका व्यक्तिहरु छनोट हुने कुरा सबैतिर लागू गरेको देखिएन । अन्तिमसम्म निर्णय नगर्ने र ठूला नेताका आफ्ना मान्छे पार्ने दाउ हेरेर बस्ने गरेकाले उम्मेदवारले सही माहोल तयार गर्न सकेनन् । जहाँ जहाँ सही उम्मेदवार छनोट भए, त्यहाँ त्यहाँ राम्रो नतिजा पनि आयो ।

अबको चुनावको लागि एमालेको ठूलो चुनौती गठबन्धन होइन, वास्तविक चुनौती उसको आफ्नै संगठन र आन्तरिक दाउपेच नै हो । चुनावका लागि आफू चुस्त दुरुस्त हुन सकेन भने एमालेको लागि आफ्नै शरीर आफैंलाई बोझ हुनेछ ।

दोस्रो, एमालेको संगठन धेरै विस्तारित र तलतलसम्म ठूलै देखिए पनि यो संगठन चुनावका लागि परिचालित भएको देखिएन । धेरै ठाउँका एमालेको जिल्ला तथा तल्लोस्तरको संगठनले चुनावी अभियानको नेतृत्व गरेको थिएन । टिकट नपाएर रिसाएर बस्नेहरुको संख्या नै अधिक थियो । जसले टिकट पायो उसले मात्रै चुनावी अभियान चलाउनुपर्ने अवस्था विकास भयो । पार्टी संगठनमा बस्नु भनेको टिकटको लागि लाइनमा बस्नु हो भन्ने मान्यता पूर्ण रुपमा स्थापित नै भैसकेछ । चुनावी टिकट वा अन्य कुनै पदका कुराभन्दा ठूला सामूहिक लक्ष्य नै हुन छाडेछन् । सबै पार्टीहरुमा व्याप्त छ यो समस्या । तर, एमालेमा योचोटि छरपस्ट नै देखियो । चुस्तता देखाएन भने आउने चुनावमा पनि यो अवस्थाले एमालेलाई धोका दिनेछ ।

तेस्रो, स्थानीय चुनावमा एमालेको सबैभन्दा ठूलो शत्रु भनेको आफ्नै पार्टीभित्रको धोखाघडी नै थियो । आन्तरिक धोखाघडी गाउँ तहमा भन्दा नगरहरु र शहरहरुमा बढी देखियो । यस्तो हुनुका विभिन्न कारणहरु थिए । सही मान्छेले टिकट नपाउनुदेखि ‘मलाई हुँदैन भने तँलाई पनि हुन दिन्न’ भन्ने भावनासम्मले काम गरेको थियो । यो आन्तरिक धोखाघडी अबका चुनावमा नहोला भन्ने छैन । विशेष गरी शहरिया क्षेत्रमा साम्भ्रान्त तहले पार्टीलाई आफ्नो पदमुखी उद्देस्यका लागि प्रयोग गर्न थालेको एउटा सूचकको रुपमा यो विकास भएको देखिन्छ ।

यी आन्तरिक र मुख्य कमजोरीहरु अबका दिनमा सुधारेर जाला कि नजाला भन्ने अबका दिनमा देखिन्छ नै होला । तर, दलका बृहत्तर उद्देश्यहरुभन्दा आफ्ना पद र स्वार्थलाइ केन्द्रमा राखेर राजनीति गर्नेहरुको दबदबा नेपालको दलवाला राजनीतिमा स्थापित नै भैसकेको कुरा अब लुकाएर लुक्दैन ।

आफ्नो संगठनलाई चुस्तता दिन होला एमालेले केन्द्रदेखि गाउँसम्म प्रशिक्षण अभियान नै चलायो । अन्य दलहरुले त्यस्तो खासै गरेको देखिएन । तर, ती सांगठनिक जागरण अभियानहरुमा बिरालो बाँध्ने परम्परागत शैलीभन्दा खासै नौलो केही देखिएन । उही नेताले उही कुरा सबै ठाउँमा गएर प्रस्तुत गरेको पाइयो । नयाँपन, नयाँ तयारी, नयाँ व्याख्या केही छैन । सामाजिक सञ्जालको जमाना छ । एक ठाउँ बोलेको कुरा रेकर्ड भएर सबैतिर उत्ति नै खेर छाउँछ । तर, जहाँ गए पनि बोल्ने नेता उही, बोल्ने कुरा उही ।

पार्टी संगठनमा बस्नु भनेको टिकटको लागि लाइनमा बस्नु हो भन्ने मान्यता पूर्ण रुपमा स्थापित नै भैसकेछ । चुनावी टिकट वा अन्य कुनै पदका कुराभन्दा ठूला सामूहिक लक्ष्य नै हुन छाडेछन् । सबै पार्टीहरुमा व्याप्त छ यो समस्या । तर, एमालेमा योचोटि छरपस्ट नै देखियो ।

सहभागीहरु फोटो खिच्ने र हाजिर जनाउने कुरातिरै व्यस्त । नेपालका वामपन्थीहरु अझै पनि बिरालो बाँध्ने परम्पराबाट माथि उठ्ने प्रयत्न गर्दा रहेनछन् । एउटा जिल्लास्तरीय कार्यक्रमको बारेमा सहभागीको प्रतिक्रिया सुनेको थिएँ । तोकेको समयभन्दा दुई घण्टा ढिलो सुरु गरेर झन्डै डेढ घण्टा त अतिथि आशनग्रहण र स्वागतमै बिताए । अन्तिम वक्ता बोल्दासमेत अतिथि आशनग्रहण चल्दै थियो । एमालेले यो परम्पराबाट माथि उठेरै आफूलाई चुस्तता दिन अझै सकेको रहेनछ । नयाँ पुस्ता यो विधिमा रमाउला अथवा बाँधिएर बस्ला जस्तो लाग्दैन ।

यो परिस्थितिमा एमालेले आफ्ना अन्तरिक चुनौतीहरु कसरी सुल्झाउँछ भन्नेले आउँदो चुनावमा कस्तो नतिजा हात पार्ला भन्ने आकलन गर्न सकिन्छ । अबको चुनावमा संगठन र एजेन्डाका हिसाबले गठबन्धन प्रभावकारी हुन सक्दैन । गठबन्धन नगर्ने हो भने केपी ओलीले जितिहाल्छन नि भन्ने डरबाहेक गठबन्धनको सैद्धान्तिक, ऐतिहासिक र व्यवहारिक तर्क केही छैन ।

देश र जनताकै लागि गठबन्धनको औचित्य पुष्टि गर्नसक्ने तर्क छैनन् । गठबन्धनमा पार्टीका संगठनहरु पनि चलायमान हुँदैनन् । हरेक निर्वाचन क्षेत्रमा जुन पार्टीले टिकट पाउँछ त्यही पार्टीको संगठनमात्रै बढी सक्रिय हुने अवस्था आउनु स्वाभाविकै हुनेछ ।

यो अवस्थाका बाबजुद गठबन्धनसँग मुख्य प्रतिस्पर्धामा एक्लै रहेको एमालेको लागि केही विशेष चुनौतीहरु छन् ।

दलका बृहत्तर उद्देश्यहरुभन्दा आफ्ना पद र स्वार्थलाइ केन्द्रमा राखेर राजनीति गर्नेहरुको दबदबा नेपालको दलवाला राजनीतिमा स्थापित नै भैसकेको कुरा अब लुकाएर लुक्दैन ।

पहिलो, एमालेको अजंगको संगठन कसरी परिचालन हुन्छ भन्ने नै सबैभन्दा ठूलो चुनावी चुनौती हुनसक्छ । संगठन ठूलो तर आहालको लेदोमा गडेको ढुङ्गो जस्तो चलायमान नहुने अवस्थामा एमालेको चुनावी अभियान बढ्नु भनेको स्थानीय चुनाव ताकाको अवस्था नै हो । अब टिकट बाँडफाँटपछि झन् आन्तरिक विवाद बढेर थप धोखाघडीको अवस्था आउनसक्छ । सबै दलहरुमा यो चुनौती छ । तर, गठबन्धनका विरुद्ध एक्लै चुनावमा जान लागेको एमालेको लागि ठूलो चुनौती नै यही हो ।

दोस्रो, आन्तरिक रुपमा व्यापक तयारी भएको र जनताले विश्वास गर्ने गरी घोषणापत्र तथा अन्य माध्यमबाट देश र जनताका लागि ल्याइने कार्यक्रमहरुमा नयाँपन कसरी देला ? पुराना कार्यक्रमहरु दोहोर्‍याएरमात्रै पुग्नेवाला छैन । विश्वसनीय ढंगको र देशको स्वाभीमानयुक्त समृद्धि अभियानलाई अगाडि बढाउने योजनाहरु माथिल्लोदेखि तल्लोस्तरका व्यक्तिहरुसम्मले बुझ्ने र बुझाउन सक्ने गरी आन्तरिक तयारी कसरी गर्नसक्छ भन्नेले चुनावी माहोल कस्तो बन्छ भन्ने निर्धारण गर्छ ।

गठबन्धनले देशको समृद्धिको खाका दिन सक्दैन । धेरै दलहरु छन्, कुरो मिलाउन सजिलो छैन । यो अवस्था एमालेका लागि अवसर पनि हुनसक्छ । तर, सबै नेताहरु आफ्नो चुनावी क्षेत्रमै कसरी जित्ने होला भनेर खुम्चिएर बस्नुपर्ने अवस्थामा एमालेले कसरी समृद्धि अभियानलाई विश्वसनीय हिसाबले देशव्यापी चुनावी माहोल सिर्जना गर्न उपयोग गर्नसक्छ भन्ने ठूलो चुनौती देखिन्छ ।

तेस्रो, संसदीय चुनावका उम्मेदवार छनोट गर्दा नयाँपन, युवापन, बौद्धिकता, दक्षतालाई कसरी समेट्न सक्ला र सबै हिसाबले परिपक्वता देखाउला भन्ने चुनौती चानचुने छैन । पैसा खर्च गरेर जितिन्छ भन्ने पुरानो ठेक्केदारी प्रवृत्ति अब धेरै हावी हुँदैन भन्ने खाले राजनीतिक सोचको विकास भएको छ । खर्च गरेरमात्रै विशेष गरी शहर केन्द्रित भोटहरु आउँदैनन् । उम्मेदवारीको सवालमा गठबन्धनलाई नयाँपन दिन धेरै गाह्रो छ । गठबन्धनका आफ्ना पुराना नेताहरु व्यवस्थापन गर्दैमा सबै सीट सकिने अवस्था छ ।

एमालेलाई प्रत्यक्ष र समानुपातिक दुवै गरेर नयाँ सोचलाई स्थान दिई उम्मेदवार चयनमा नयाँपन दिने अवसर छ । बालेन-हर्क सेन्टिमेन्टलाई कुनै न कुनै ढंगले एड्रेस नगर्ने हो भने एमालेका शहरिया भोटहरु घट्नेछन् ।

तर, एमालेलाई प्रत्यक्ष र समानुपातिक दुवै गरेर नयाँ सोचलाई स्थान दिई उम्मेदवार चयनमा नयाँपन दिने अवसर छ । बालेन-हर्क सेन्टिमेन्टलाई कुनै न कुनै ढंगले एड्रेस नगर्ने हो भने एमालेका शहरिया भोटहरु घट्नेछन् ।

चौथो, संसदीय चुनावमा पार्टीको संगठनभन्दा बाहिर रहेका तर राजनीतिक, बौद्धिक, सामाजिक, सांस्कृतिक हिसाबले महत्वपूर्ण भूमिका र छवि भएका व्यक्तिहरुलाई कसरी समेट्नसक्छ भन्ने कुराले एमालेले बृहत्तर समर्थन जुटाउन सक्ला नसक्ला भन्ने देखाउनेछ । विभिन्न तहका आफ्नै नेताहरुलाई समेट्न हम्मेहम्मे पर्ने अवस्थामा यस्तो बृहत्तर कोअलिसनको मोडालिटी निर्माणमा जान सक्ला जस्तो लाग्दैन । तर, कुनै मोडालिटी बनाउन सकेको खण्डमा पार्टी राजनीतिभन्दा बाहिर रहेका धेरैलाई समेट्ने अवसर एमालेलाई छ । गठबन्धनसँग एक्लै भिड्न आँटेको एमालेका लागि यो सामाजिक कोअलिसनको अवधारणा अवसर हुनसक्छ ।

आम बुझाइ गठबन्धनले देशको राष्ट्रियता र स्वाधीनतामा आँच आउने काम गर्नेरहेछ र कतै यो गठबन्धन विदेशी शक्ति केन्द्रबाट निर्देशित त छैन भन्ने परेको छ । यो खालको बुझाइको फाइदा एमालेलाई केहि हदसम्म हुने नै छ । एमालेको आफ्नै ठूलो जनमत छँदैछ । तर, राष्ट्रिय माहोल सिर्जना गर्न एमालेले आफ्ना आन्तरिक चुनौतीहरु कसरी समाधान गर्छ र राष्ट्रिय समस्या समाधान गर्न परिपक्व र जिम्मेवार शक्ति भएको कुरा कसरी जनतासमक्ष लानसक्छ भन्ने कुराले एमालेको माहोल कस्तो बन्छ भन्ने निर्धारण हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *