रामवीरको दाबी- म एमालेबाटै चुनाव लड्छु, क्षेत्रीय कमिटीको सिफारिसको अर्थ छैन – Nepal Press

रामवीरको दाबी- म एमालेबाटै चुनाव लड्छु, क्षेत्रीय कमिटीको सिफारिसको अर्थ छैन

काठमाडौं । पूर्वशहरी विकास राज्यमन्त्री तथा एमाले नेता रामवीर मानन्धरले काठमाडौं क्षेत्र नम्बर ७ बाट आफू उम्मेदवार बन्ने भन्दै हालै गरिएको सिफारिसको औचित्य नरहेको बताएका छन् ।

एमाले क्षेत्रीय कमिटीले बुधवार काठमाडौं ७ बाट प्रतिनिधिसभाका लागि इन्दिरा पन्त, श्याम घिमिरे र वीपी ढकालको नाम सिफारिस गरेको थियो । सो क्षेत्रबाट रघुजी पन्त र विद्यासुन्दर शाक्यको नाममा समेत छलफल हुँदा दुईपटक सोही क्षेत्रबाट जितेको मानन्धरको नाम भने छलफलमा समेत नआएको नेताहरूले बताएका छन् ।

सांसद मानन्धरले भने क्षेत्रीय कमिटीको सिफारिसको अर्थ नहुने भन्दै केन्द्रबाट आफूले नै टिकट पाउने दाबी गरे । नेपाल प्रेससँग कुरा गर्दै दुईपटक जितेको बहालवाला सांसदलाई छाडेर पार्टीले चुनाव हार्नका लागि अर्को उम्मेदवार खडा नगर्ने बताए ।

मानन्धरले भने, ‘मेरोबारेमा क कसले के के भनिरहेका छन् मतलब छैन । केपी ओलीलाई प्रधानमन्त्री र अध्यक्ष बनाउन मेरो पनि योगदान छ । मलाई विश्वास छ पार्टीले यो क्षेत्रबाट मलाई नै उम्मेदवार बनाउँछ । मबाहेक अरुले यो क्षेत्रबाट चुनाव जित्न पनि सक्दैन ।’

स्थानीय तह निर्वाचनमा मानन्धरले केशव स्थापितलाई मेयर उम्मेदवार बनाएको विरोधमा सार्वजनिकरूपमै वक्तव्य दिएका थिए । उनीमाथि काठमाडौं १६ नम्बर वडामा कांग्रेस जिताउन खुलेर लागेको र नागार्जुन नगरपालिकामा समेत एमाले हराउन भूमिका खेलेको आरोप छ ।

मानन्धरले भने काठमाडौंका ११ मध्ये ९ वटा नगरपालिका हारेको दोष कसले लिने भन्ने प्रश्न उठाएका छन् । उनले आफ्नो क्षेत्रमा एमालेले राम्रो नतिजा ल्याएको दाबीसमेत गरे ।

चुनावका बेला मानन्धर प्रधानमन्त्री निवास बालुवाटार पुगेर कांग्रेस उम्मेदवार सिर्जना सिंह र प्रकाशमान सिंहसहितसँगको फोटो सार्वजनिक भएको थियो ।

मानन्धर कांग्रेसबाट चुनाव लड्ने चर्चासमेत चलिरहेका बेला उनले तत्काल आफू एमालेमै रहेको र एमालेबाटै चुनाव लड्ने दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर