नेता बस्ने जेलमा भीआईपीको लर्को, सञ्चारमन्त्रीले भेटेपछि आलमको नाम सिफारिस – Nepal Press

नेता बस्ने जेलमा भीआईपीको लर्को, सञ्चारमन्त्रीले भेटेपछि आलमको नाम सिफारिस

काठमाडौं ।  इँटाभट्टामा जिउँदै व्यक्तिलाई जलाएर हत्या गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता अफताब आलम बिहीबार प्रतिनिधिसभा सदस्यका लागि रौतहटबाट सर्वसम्मत सिफारिस भए । तर, यसको वातावरण भने यसअघि नै बनिसकेको थियो ।

दुई साताअघि सञ्चारमन्त्री तथा सीट बाँडफाँट कार्यदलमा कांग्रेसबाट सदस्य रहेका ज्ञानेन्द्रबहादुर कार्की ललितपुरस्थित नख्खु कारागारमा मोहम्मद अफताब आलमलाई भेट्न पुगेका थिए ।

निजी साधनमा गएका कार्कीले आलमसँग झण्डै एक घण्टा कुराकानी गरे । भेटका क्रममा आलमले कार्कीलाई आफू पनि आसन्न प्रतिनिधिसभा चुनाव लड्ने बताएका थिए । आलमले आफूलाई जेलबाट निकाल्न पार्टीले बेवास्ता गरेको गुनासो गरेको कारागार स्रोत बताउँछ । उनलाई सभापति तथा प्रधानमन्त्री देउवाले सार्वजनिकरूपमै जेलबाट छुटाउने आश्वासन दिएका थिए ।

म जेलभित्रै बसेर पनि चुनाव लड्न सक्षम छु’, कार्कीसँग आलमले भनेका थिए । आलम प्रतिनिधिसभाका निलम्बित सांसद हुन् । उनका छोरा हालै राजापुर नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका नेता रहेका आलम २०७६ असोज २६ गते पक्राउ परेका थिए । पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन बम बनाउनेक्रममा भएको विस्फोटपछि ज्यान गुमाएका र घाइतेलाई इँटाभट्टामा हालेर मारेको आरोप आलममाथि छ । घटना भएको झण्डै १२ वर्षपछि पक्राउ परेका आलमको मुद्दामा जिल्ला अदालतले अझै फैसला गर्न सकेको छैन ।

आलम रौतहटबाट निर्वाचित प्रतिनिधिसभा सांसद थिए । उनले २०५१, २०५६, २०६४ र २०७४ सालमा सम्पन्न निर्वाचनमा पनि जित हात पारेका थिए । जेलमा रहेपनि उनलाई भेट्न प्रदेश र प्रतिनिधिसभाका सांसद, मन्त्रीदेखि स्थानीय निकायका जनप्रतिनिधिहरू बाक्लो संख्यामा आइरहन्छन् ।

जेलमै रहेका प्रतिनिधिसभाका अर्का निलम्बित सांसद रेशम चौधरीलाई भेट्न आउने नेताको लर्को पनि बाक्लै देखिन्छ । डिल्लीबजार कारागारमा रहेका उनलाई भेट्न तीन साताअघि महन्थ ठाकुर पुगेका थिए भने केही दिन पहिला नेकपा एमालेका मणि थापा पनि पुगेको कारागार स्रोत बताउँछ ।

सीके राउतले नेतृत्व गरेको नेपाल जनमत पार्टीका महासचिव चन्दन सिंहले पनि केही दिनअघि चौधरीलाई भेटेका थिए । कर्तव्य ज्यान मुद्दामा चौधरीलाई जिल्ला अदालतले २० वर्ष कैद सजाय तोकेको थियो । उच्च अदालतले त्यसलाई बढाएर २५ वर्ष पुर्‍याएको थियो ।

जिल्ला र उच्च अदालतको फैसलाविरुद्ध रेशमले सर्वोच्च अदालतमा पुनरावेदन गरिसकेका छन् । २०७२ सालमा कैलालीको टीकापुरमा भएको घटनाको प्रमुख योजनाकारका रूपमा प्रहरीले चौधरीलाई प्रस्तुत गरेको थियो । मुद्दा दर्ता भएपछि फरार रहेका चौधरीले सोही अवस्थामा उठेर २०७४ सालको प्रतिनिधि सभा निर्वाचन जितेका थिए ।

त्यसपछि अदालतमा हाजिर भएका चौधरीलाई बयान र बहसपछि पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको थियो । अहिले राष्ट्रिय उन्मुक्ती पार्टीका नाममा चौधरीले श्रीमतीलाई अध्यक्ष बनाएर जेलबाटै राजनीति गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर