सिट बाँड्न गठबन्धनकाे बैठक ८ घण्टादेखि जारी, नेताहरु पस्दै-निस्किँदै – Nepal Press

सिट बाँड्न गठबन्धनकाे बैठक ८ घण्टादेखि जारी, नेताहरु पस्दै-निस्किँदै

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सिट बाँडफाँटका लागि सत्तारुढ गठबन्धनको बैठक ८ घण्टादेखि जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठककै क्रममा गठबन्धनका नेताहरुले निस्कने र फर्कने क्रम जारी रह्याे । आज बिहान ११ः३० बजेदेखि बसेको बैठकमा सिट बाँडफाँट टुंग्याउने भनिए पनि हालसम्म कुनै प्रगति हुन सकेको छैन ।

यसै क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित महामन्त्री गगन थापा, पूर्ण बहादर खड्का र रामचन्द्र पौडेल बैठकबाट प्रदीप गिरीको १३ औं दिनको कार्यक्रमका लागि दिउँसो ३ बजे निस्किएका थिए । त्यस्को केही समयपछि जसपाका अध्यक्ष उपेन्द्र यादव पनि निस्किएका थिए भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाल बैठकमै थिए ।

देउवासहितका नेताहरु गिरीको कार्यक्रमबाट फर्किएको केही समयपछि पालैपालो ज्ञानेन्द्र कार्की र कृष्ण सिटौला पनि बैठकबाट निस्किए । त्यस्तै, साँझ ६ः४० तिर माओवादी अध्यक्ष प्रचण्ड बाहिर गए अनि पुनः ७ः३० बजे फर्किए । पुनः अहिले ८ बजे कांग्रेस महामन्त्री थापा फेरि बैठकमा आउने गरी निस्किएका छन् ।

यसरी आज निष्कर्ष दिने योजनासहित बसेको गठबन्धन बैठकमा हालसम्म कुनै क्लु आएको छैन । हिजो सरकारका प्रवक्ता कार्कीले आज सिट बाँडफाँटको विषय न्यायोचित ढंगले टुंग्याउने बताएका थिए ।

नेताहरु आआफ्नै अडानमा भए पनि कांग्रेससहितका दलहरुले केही लचक भएर मिलेर अघि बढ्ने संकेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर