इच्छाराज तामाङ र उनकाे परिवारविरुद्ध करिब ६ अर्बको बिगो दाबीसहित मुद्दा दायर – Nepal Press

इच्छाराज तामाङ र उनकाे परिवारविरुद्ध करिब ६ अर्बको बिगो दाबीसहित मुद्दा दायर

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित उनको परिवारविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको छ ।

विभागले बिहीबार विशेष अदालतमा तामाङसहित उनको परिवार र सिभिल सहकारी संस्थाका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठविरुद्ध करिब ६ अर्ब रुपैयाँको बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।

विभागले तामाङसहित उनको परिवारविरुद्ध पाँच अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ९७ रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरेको हो ।

तामाङले सहकारीबाट तीन अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९ सय ४२ रुपैयाँ ठगेको आरोप छ । त्यस्तै, तामाङकी श्रीमती सिर्जना शाक्यले एक अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ ठगेको विभागको अनुसन्धानमा फेला परेको छ ।

विभागका अनुसार तामाङका छोरी प्रतीक्षा तामाङले ६ करोड २२ लाख ३३ हजार ९७ र अर्की छोरी प्रतिष्ठा तामाङले एक करोड ८९ लाख १८ हजार ६ सय ४६ रुपैयाँ ठगी गरेको भेटिएको छ । त्यस्तै सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड ६१ लाख ४५ हजार ५ सय ३० रुपैयाँ ठगि गरेको विभागले जनाएको छ ।

तामाङले सहकारी संस्था प्रयोग गरी सहकारी संस्थाको नियम विधि र प्रक्रिया मिचेर एउटै समूहका कम्पनीहरुलाई सुरक्षण बापत धितो नलिइ एउटै समूहलाई ५० प्रतिशत ऋण दिने गरेको पाइएको छ । सर्वसाधारण निक्षेपकर्तालाई मासिक, चौमासिक, वार्षिक रुपमा आकर्षक व्याज दरमा १२, १४, १५ र १७ प्रतिशत व्याज भुक्तानी गर्ने, निक्षेप गरे बापत सुनका सिक्का उपहार दिने विश्वास र प्रलोभन दखाइ निर्धारित समयमा साँवा र व्याज नदिइ ठगी गरेको पाइएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *