संकटमा पुर्ख्यौली पेशाः सीप छ, छैन पूँजी र बजार
सिरहा । लहान नगरपालिका- ५ की रेखा मरिक डलिया, कोनिया, ढकिया, डाला, सखारी बेनालगायतका हस्तकलाका सामान बनाएर जीवन चलाउँछिन् । यी हस्तकला तराई-मधेसमा विवाह, पूजापाठ, छठ पर्व र वर्षाइतमा प्रयोग हुन्छन् । यी सबै सामान बाँसबाट बनाइन्छ ।
उनको तीन जनाको परिवार यिनै सामग्री बिक्री गरेर चलेको छ । श्रीमानले बाँस र चोयाको जोहो गरिदिन्छन् । रेखा हस्तकला तयार गर्छिन् । रेखाले बनाएका हस्तकला श्रीमान्ले लहानका हटिया र बजारमा बिक्री गर्छन् ।
विवाहमा बेहुली पक्षले सखारी प्रयोग गर्छ । रगीचङ्गी बाँसका चोयाको फूलले सजाएको डाला बेहुला पक्षले प्रयोग गर्ने गर्छ । यी दुई सामग्रीको मूल्य स्थानीय बजारमा १५ सयदेखि चार हजार रुपैयाँसम्म पर्छ । विशेष गरी विवाहमा प्रयोग गर्ने सखारीलगायत बनाउने सीप रेखा र उनको परिवारसँग छ । तर, उनीहरुले त्यसलाई व्यवसायिक बनाउन सकेका छैनन् ।
सिरहाको कल्याणपुर नगरपालिका- २ की गीता मरिकले बाँसका हस्तकला बनाएरै गुजारा चलाउँदै आएकी छन् ।
परम्परागत सामान डलिया, कोनिया, ढकियामात्र बनाउने उनीहरुले तालिम पाएपछि अहिले बाँसका कप, पेन होल्डरलगायत व्यवसायिक सामग्री पनि बनाउन थालेका छन् । उनीहरुले बाँसका हस्तकला बिक्री गरेर घर खर्च टरेपछि बचेको रकम जम्मासमेत गर्ने गरेका छन् । संगठित भएर समूहमा काम गर्छन् । तैपनि उनीहरुले आफ्नो परम्परागत सीप उद्यम र व्यवसाय बनाउन अझै सकेका छैनन् ।
बजार र लगानीमा समस्या
जीविकोपार्जनका लागि बाँसका हस्तकला उत्पादन र बिक्री गरे पनि व्यवसायिक बनाउन पूँजी र बजारको अभाव भएको डोम उत्थान समितिका अध्यक्ष रामचन्द्र मरिक बताउँछन् । बाँसका सामान १२ महिना एकैनास बिक्री हुँदैन । विवाह लगन, छठ पर्व, र पूजापाठमा यस्ता सामग्रीको माग सबैभन्दा धेरै हुन्छ । सिजनमा उनीहरुले माग धान्न सक्दैनन् । अफसिजनमा बनाएर राख्ने ठाउँ पनि छैन, लगानी गर्ने पैसा पनि हुँदैन ।
‘उनीहरु दिनहुँ सामान बनाउँछन् । बिक्री गर्छन् र त्यसको कमाइले जीविका चलाउँछन्’, गीता मरिक भन्छिन्, ‘बीउ पूँजी कतैबाट सहयोग हुने हो भने व्यवसायिक रुपमा विकास गर्न सकिन्छ ।’
उत्पादन धेरै गरेर पनि कहाँ बेच्ने भन्ने समस्या रहेको उनले गुनासो गरिन् । ‘संकलन केन्द्र भए चाडपर्व, विवाहबारी र छठ पर्व कुर्नुपर्ने बाध्यता हट्थ्यो’, गीताले थपिन्, ‘त्यसमाथि बजार हुने हो भने बाह्रै महिना बाँसका सामग्री बनाइन्छ ।’
तर, माग भएपछि र चाडपर्व लक्षितमात्रै हस्तकलाका सामान बनाउँदा यसैबाट जीवन गुजारा गर्न कठिन हुने गरेको मरिकको भनाइ छ । अहिले पनि डोम समुदायले बनाएका हस्तकला गाउँगाउँ डुलेर बेच्नुपर्ने बाध्यता छ । नभए साहुमहाजन र व्यापारीको अर्डर पर्खनुपर्छ ।
हस्तकला बेच्न गाउँ किन्ने चलन
डोम समुदायकोे आफ्नै सामाजिक कानून छ । त्यही कानुनअनुसार उनीहरुको गाउँ किन्ने परम्परा छ । आफूले उत्पादन गरेका सामग्री बिक्री वितरण गर्न गाउँ किन्नैपर्ने चलन छ । जस्तै सिरहाको पडरिया गाउँमा कुनै डोम समुदायले बसोबास गर्नुपर्यो या आफूले बनाएका सामग्री त्यो गाउँमा बिक्री गर्नुपर्यो भने पहिला गाउँ किन्नुपर्छ । गाउँ नकिनी न त्यहाँ घर बनाउन वा भाँडा बस्न पाइन्छ न त हाटबजार, गाउँ घुमेर सामान बिक्री गर्न पाइन्छ ।
गाउँ किन्नु भनेको जसरी हामी जग्गा किन्छौं त्यसैगरी उनीहरुले सामान बिक्री गर्न परम्परागत रुपमा गाउँ नै किन्छन् । यसरी किनेको गाउँमा अर्को व्यक्ति आएर सामान बेच्न पाउँदैन । गाउँ किनबेच गर्दा सबै व्यहोरासहितको कपाली तमसुक पनि गरिन्छ । कसैले गाउँ कमाउन सकेन भने बन्धकी लगाएर पनि बस्छन् । तर, अर्काको गाउँमा गएर सामान बेच्न पाउँदैन । बेच्यो भने बेचेको सामानको दोब्बर जरिवाना तिर्नुपर्छ । गाउँको दाम बिक्री गर्ने सामानको बजारअनुसार निर्धारण गरिएको हुन्छ । एउटा गाउँ ५० हजारदेखि चार-पाँच लाखसम्ममा किनबेच गरिन्छ ।
यो परम्पराको सकारात्मक र नकारात्मक पक्ष रहेको डोम उत्थान समितिका अध्यक्ष रामचन्द्र मरिक बताउँछन् । जसको नाममा गाउँ छ, त्यही व्यक्तिले गाउँमा सामान बिक्री गर्न पाउने हुँदा गाउँलेको मागअनुसारको सामान बिक्री गर्ने ठाउँ सुनिश्चित हुन्छ । यसले फाइदा भयो । ‘तर, यसका अप्ठयारो पक्ष पनि त्यतिकै छ । एक गाउँको डोम समुदायले अर्को गाउँमा जग्गा किनेर घर बनाउनुपहिले गाउँ किन्नै पर्छ’, उनले भने, ‘जसको गाउँ किन्ने क्षमता छैन अथवा गाउँ किन्न पाएन भने उसले अर्को गाउँबाट आएर बस्न र बजार तथा गाउँमा सामान बेच्न पाउँदैन ।’
सीप विकास आवश्यक
डोम समुदायले बनाउँदै आएको परम्परागत बाँसका हस्तकलामा आधुनिकीकरणको खाँचो रहेको अध्यक्ष मरिक बताउँछन् । ‘हामीलाई आधुनिक तालिम आवश्यक छ । जसले व्यवसायिक रुपमा यस्ता सामान उत्पादन गर्न सकोस्’, उनले भने, ‘अहिलेसम्म हामीले बाँसबाट विवाह, छठ पर्व र पूजापाठमा प्रयोग हुने सामग्रीमात्रै बनाउँदै आएका छौं । तर थप तालिमको व्यवस्था भए बाँसका कुर्सी, खाट, जुत्ता चप्पल राख्ने सोकेश जस्ता अन्य आधुनिक सामग्री बनाएर व्यवसायिक बन्न सकिन्थ्यो ।’
सिरहाको गोलबजारस्थित मुक्ति नेपालले कल्याणपुर नगरपालिका- २ का ११ घरधुरीलाई संगठित गरेको छ । उनीहरुलाई बाँसका हस्तकला बनाउने तालिम प्रदान गरेको संस्थाकी अध्यक्ष श्यामकुमारी शाहले जानकारी दिइन् । तालिममा सहभागीले बाँसका कप, पेनहोल्डरलगायत बनाउन थालेको उनले बताइन् । तालिमसँगै व्यवसायिक विकासमा टेवा पुर्याउन थोरै भए पनि बीउ पूँजी सहयोग गरिएको अध्यक्ष शाहले जानकारी दिइन् । उनका अनुसार गीतासहित १२ घरधुरीका डोम समुदायलाई संस्थाले तालिम प्रदान गरेको थियो ।
तराई मधेसमा बसोबास गर्ने मधेसी र थारु समुदायका हरेक महिलाहरुसँग मिथिला आर्ट बाँसका हस्तकला, सिकी, गभाखर, पटेर, केरा, बेसारलगायतको पातबाट डलियालगायतका सामान बनाउने सीप छ । तर, सीपलाई व्यवसायिक बनाउने पूँजी उनीहरुसँग छैन । उनीहरुसँग भएको सीपको पहिचान गरी यसको विकास र विस्तार गर्ने तथा व्यवसायिक बनाउनेतर्फ कसैको चासो गएको पनि देखिँदैन । महिलाहरुले घरमै बसीबसी बनाउने यस्ता सामग्रीको व्यवसायीकरण गर्न सकिए राम्रो आम्दानी गर्न सकिन्छ । जसले आर्थिक स्तर बढ्नुका साथै गरिबी न्यूनीकरणमा सघाउ पुग्ने निश्चित छ ।
अपवाद बन्दै पार्वती
लहान- १ की ४५ वर्षीय पार्वती चाैधरी यस्तै सीप भएका महिलाहरुमध्ये अपवाद बनेकी छन् । उनले महिला हस्तहकला उद्योग दर्ता गरेर आफ्नो पुर्ख्यौली सीप र पेशालाई व्यवसायिक रुप दिएकी छन् । उनले गाउँघरमा पाइने सामग्रीबाट ज्वेलरी बक्स, पेनहोल्डर, विभिन्न डिजाइनका लेडिज ब्याग, फाइल, पर्स, फ्रुट बक्स, ब्रेड बक्स, बडी कभर, टी म्याट, हट म्याटलगायत घरमा सजाउने सामग्री तयार गरेकी छन् ।
उनका हस्तकला विदेशमा समेत बिक्री हुने पार्वती बताउँछिन् । उनले सुकेको केराको डाक्ला, बेसारको पात, खर, खोष्टा, मोथे र घिरौलाको जालोबाट हस्तकलाका सामग्री बनाएका छन् । त्यसमा रंग भरेर आकर्षक पारेकी छन् । जसबाट पार्वतीले डलरसमेत कमाउँछिन् ।
पार्वतीले जस्तै व्यवसायिक उद्यम गर्न चाहनेहरुलाई घरेलु तथा साना उद्योग कार्यालय लहानले तालिम र आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले पनि क्षमता विकास तालिम प्रदान गर्छ । समूहबाट प्रस्ताव आए बीउपूँजी सहयोग गर्छ । तर, तालिममात्रै लिने प्रवृत्तिले बढेको लहान नगरपालिकाकी पूर्वउपमेयर सरियार चौधरी बताउँछिन् ।
उनी भन्छिन्, ‘मेरो कार्यकालमा अचार बनाउने, सिलाइकटाइ गर्ने, डल-कुसन बनाउने, मःमः-चाउमिनबनाउने, दालमोठ, चुरा–पोतेमाला, मिथिला आर्टलगायतका धेरै सीप विकासका तालिम प्रदान गरायौं । तर, तालिम लिएर गएकामध्ये दुईतीन जनाबाहेक कसैले पनि व्यवसायिक रुपमा सिकेको सीप प्रयोग गरेनन् ।’
तालिम लिन तँछाडमछाड गर्ने तर तालिम लिएर घरैमा बस्ने बानीले गर्दा सरकारको लगानी पनि खेर गएको उनको भनाइ छ ।