अर्घाखाँचीको एक सीटमा कांग्रेसबाट ६ जना सिफारिस, रायमाझीसँग भिड्ने को ? – Nepal Press

अर्घाखाँचीको एक सीटमा कांग्रेसबाट ६ जना सिफारिस, रायमाझीसँग भिड्ने को ?

रुपन्देही । एकमात्रै निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा नेपाली कांग्रेसले प्रतिनिधिसभा उम्मेदवारको लागि ६ जनाको नाम सिफारिस गरेको छ । विधानबमोजिम एक महिलासहित ३ जनाको नाम सिफारिस गर्नुपर्ने भएपनि संस्थापन र इतर दुवै पक्षको चित्त बुझाउन आकांक्षी सबैको नाम सिफारिस गरिएको छ ।

उपसभामुख पुष्पा भुसाल गौतमसहित कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल मुस्कान, पूर्वकेन्द्रीय सदस्य रेवतीप्रसाद भुसाल, महाधिवेशन प्रतिनिधिहरु रामबहादुर बिसी, लेखनाथ पोखरेल र मुक्तिराम श्रेष्ठलाई दुवै क्षेत्रले सिफारिस गरेको क्षेत्रीय सचिव सुरज रायमाझीले जानकारी दिएका छन् । सिफारिसमा परेकामध्ये भुसालबाहेक सबै इतर समूहका हुन् । जिल्लामा संस्थापन पक्ष कमजोर भएपनि भुसालको केन्द्रमा पहुँच भएकाले उनले चाहेसम्म अरूले टिकट पाउने सम्भावना कम छ ।

सिफारिसमा परेका प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल जिल्लामा प्रभावशाली मानिन्छन् । यसअघि उनी जिल्ला सभापति थिए ।
रेवती भुसाल २०४८ र ०५१ मा दुई पटक चुनाव जितेर पर्यटन राज्यमन्त्रीसमेत भए । श्रेष्ठ नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष हुन् । पोखरेल छत्रदेव गाउँपालिकाका निर्वतमान अध्यक्ष हुन् ।

तर, गठबन्धनमा यो क्षेत्र कांग्रेस-माओवादी दुवैले दाबी गरेका छन । त्यसैले कांग्रेसलाई नै भाग पर्छ/पर्दैन निश्चित छैन ।

यसअघि भुसाल समानुपातिकमा थिइन् । २०७४ को निर्वाचनमा कांग्रेसबाट बिसी उम्मेदवार थिए । उनी वाम गठबन्धनका टोपबहादुर रायमाझीसँग १८ हजार ४ सय ४४ मतान्तरले पराजित भएका थिए । रायमाझीले ५० हजार ३ सय ८३ मत ल्याउँदा प्रतिस्पर्धी बिसीले ३१ हजार ९ सय ४१ मत ल्याएका थिए । बिसी दोस्रो संविधानसभा निर्वाचनमा पनि रायमाझीसँगै पराजित भएका थिए ।

टोपबहादुर रायमाझी दुई पटक माओवादीबाट, ७४ मा वाम गठबन्धनमा एमाले र राष्ट्रिय जनमोर्चाको साथबाट गरी लगातार तीन पटक विजयी भएका छन् । नेकपा विभाजनपछि एमालेमै रहेर अहिले पार्टीको सचिव बनेका रायमाझी चौथो पटक आउँदो चुनावमा एमालेबाट निर्विकल्प उम्मेदार छन् ।

टोपबहादुरको क्षतिपूर्ति गर्न माओवादीले यहाँका पूर्वसांसद डिलाराम आचार्यलाई केन्द्रीय सचिव बनाएको छ । गठबन्धनमा माओवादीले पनि यहाँ दाबी गरेकाले माओवादीले पाउँदा उनी उम्मेदवार बन्नेछन् । जनमोर्चाबाट माओवादीमा लागेका डिलाराम अहिले प्रचण्डको नजिक छन् ।

गठबन्धनमा रहेका दलहरू रायमाझीको चौथो विजय यात्रा रोक्न रणनीति बनाएर लागेका छन् । स्थानीय तहको निर्वाचनमा एमालेको दरिलो उपस्थिति गराउन सफल रायमाझीलाई मंसिर ४ भने चुनौती नै देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर