राष्ट्रिय आविष्कार केन्द्रलाई सरकारले ४० लाख अनुदान दिने, दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने  – Nepal Press

राष्ट्रिय आविष्कार केन्द्रलाई सरकारले ४० लाख अनुदान दिने, दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने 

काठमाडौं । महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सरकारले ४० लाख अनुदान दिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लाख रुपैयाँ अनुदान दिने भएको हो ।

लघु घरेलु तथा साना उद्योगमा आवश्यक पर्ने प्रविधिको अध्ययन अनुसन्धान र विकासको लागि सहयोग सम्बन्धी सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ ।

उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालय लघु घरेलु तथा साना उद्योग प्रवर्ध्दन केन्द्र र राष्ट्रिय आविष्कार केन्द्रबीच लघु घरेलु तथा साना उद्योगमा आवश्यक पर्ने प्रविधिको अध्ययन अनुसन्धान र विकासको लागि सहयोग आदान प्रदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

लघु घरेलु तथा साना उद्योग प्रवर्ध्दन केन्द्रका निमित्त कार्यकारी अधिकृत विष्णुप्रसाद भुसाल र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा। महाविर पुनले उक्त समजदारी पत्रमा हस्ताक्षर गरेका हन् ।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडुको उपस्थितिमा उक्त हस्ताक्षर भएको हो । मन्त्री वडुले सरकारको लक्ष्य नै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने भएकाले उत्पादनलाई प्रविधिमैत्री बनाएर उत्पादन बढाउन आवश्यक प्रविधि निर्माण गर्न आविष्कार केन्द्रसँग सहकार्य गरेको बताए ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महाविर पुनले केन्द्रको उद्देश्य नै उद्यमीहरु जन्माउने बताए । उद्यमी उत्पादन गरि उद्योग स्थापनालाई प्रोत्साहन गर्न यो बजेटले सिन्के धूप बनाउने प्रविधि तथा दाँत कोट्याउने सिन्का बनाउने मेसिनको आविष्कार गरिने पुनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर