मरेका र दोहोरिएकाहरुको नाम मतदाता नामावलीबाट हटाउन एमाले रुपन्देहीको माग
रुपन्देही । नेकपा एमालेले मतदाता नामावलीबाट मृत्यु भएका र दोहोरिएकाहरुको नाम हटाउन माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ ।
बुटवल उपमहानगरपालिका तथा तिलोत्तमा र सैनामैना नगरपालिकामा ठूलो संख्यामा मतदाताहरुको नाम दोहोरिएको पाइएकाले ती नामहरु हटाउन एमाले बुटवल उपमहानगरले नामावलीसहित आयोगलाई आग्रह गरेको हो ।
निर्वाचन आयोगको कार्यालय भैरहवामा बुझाइएको ज्ञापनपत्रमा बुटवलमा ८०२, तिलोत्तमामा २९०, सैनामैनामा ३३८ र देवदहमा ९२ जनाको नाम मतदाता नामावली दोहोरिएको उल्लेख छ ।
एमालेले पेश गरेको ज्ञापनपत्रमा नामावली नमुना संकलनमात्रै भएको भन्दै त्योभन्दा कैयौं गुणा बढी अन्तरपालिका र अन्तरजिल्लामा नामावली दोहोरिएकाले निर्वाचनको आधार स्रोत नै त्रुटिपूर्ण भएपछि निष्पक्ष निर्वाचन हुन सम्भव नभएको उल्लेख छ ।
अध्यक्ष किसन ज्ञवालीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा निधन भएकाहरुको नाम मतदाता नामावलीबाट नहटेको र त्यस्ता व्यक्तिहरुको नाममा अरुले मतदान गरेको भेटिएको हुनाले निर्वाचन कार्यालयबाट पालिकाका प्रत्येक वडामा कर्मचारी खटाई त्यस्ता मतदाताको नामावली हटाउन अनुरोध गरिएको छ ।
नमुना अध्ययनका आधारमा बुटवलको मतदाता नामावलीमा नाम रहेका ९० वर्षभन्दा माथिका व्यक्तिहरुको संख्या ४८५ भन्दा बढी रहेको र त्यसबाहेक विभिन्न वडाबाट प्राप्त सूचनाका आधारमा २८५ जना व्यक्ति अहिले नभेटिएको एमालेको दाबी छ ।
यस विषयमा सत्यतथ्य छानबिन गरी तत्काल आवश्यक प्रक्रिया अगाडि बढाउने आयोगले जानकारी दिएको अध्यक्ष ज्ञवालीले बताए ।