‘काम गरी खान देउ’ भन्दै फुटपाथ व्यवसायी सडकमा (तस्बिरहरू) – Nepal Press

‘काम गरी खान देउ’ भन्दै फुटपाथ व्यवसायी सडकमा (तस्बिरहरू)

आफ्ना ३ बुँदे माग पूरा नभए कडा आन्दोलन गर्ने व्यवसायीकाे चेतावनी

काठमाडौं । राष्ट्रवादी स्वरोजगार व्यवसाय महासंघले राजधानीमा स्वरोजगार व्यवसाय व्यवस्थापनका लागि दबाबमुलक कार्यक्रम आयोजना गरेको छ ।

आज महासंघमा आवद्ध स्वरोजगार व्यवसायीहरुले विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा उनीहरुले ‘स्वरोजगार व्यवसायीमाथिको अन्याय, अत्याचार बन्द गर’, ‘काम गरी खान दे’, ‘स्वरोजगार व्यवसायीलाई उचित व्यवस्थापन गर’ लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

यसैबीच महासंघले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाएको छ । महासंघका संयोजक शिशिर भट्टले राज्यले श्रृंखलाबद्ध रुपमा स्वरोजगार व्यवसायीहरुमाथि अमानवीय व्यवहार देखाएकोप्रति संघको गम्भीर ध्यानकार्षण भएको जनाएका छन् ।

सडक किनारमा सामान्य लगानीमा साधारण व्यापार गरी जीविकोपार्जन गर्ने आफूहरुको बाध्यतालाई कमजोरी ठानी राज्यले अपराधी जस्तो व्यवहार गरिनुले आधारभूत मानव अधिकार प्रत्याभूत नगरेको पुष्टि हुने पत्रमा उल्लेख छ ।

संघले आफ्ना ३ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको हो । आफ्ना मागहरु १० दिनभित्र पूरा नगरिए आन्दोलनमा उत्रिने चेतावनी र त्यसबाट हुने क्षतिको जिम्मेवार स्वयं राज्य हुनुपर्ने चेतावनी महासंघले दिएको छ ।

महासंघका ३ बुँदे मागहरु

१. सडक किनारमा स्वरोजगार गरिरहेका सम्पूर्ण व्यवसायीहरुको राज्यले अभिलेखिकरण गरी परिचयपत्र उपलब्ध गराउनुपर्ने ।

२. सम्पूर्ण सडक स्वरोजगार व्यवसायीलाई मापदण्ड बनाइ उचित व्यवस्थापन राज्यले गर्नुपर्छ । बिना विकल्प विस्थापित गर्न पाइदैन ।

३. राज्य प्रशासनका तर्फबाट भइरहेको अमानवीय गतिविधिहरु बन्द गरी स्वरोजगार व्यवसायी र राज्यका बीचमा भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने ।

यस्तो छ ज्ञापन पत्रः

थप तस्बिरहरु:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर