पार्किङ खुला गराउने अभियानमा बालेन, तर महानगर कार्यालयमै किन भयो अस्तव्यस्त ? – Nepal Press

पार्किङ खुला गराउने अभियानमा बालेन, तर महानगर कार्यालयमै किन भयो अस्तव्यस्त ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) पछिल्लो समय महानगर क्षेत्रको बेसमेन्ट र पार्किङलाई व्यवस्थित गर्न एक्सनमा उत्रिएका छन् ।

पार्किङको नक्सा पास गराई अन्य प्रायोजनका प्रयोग हुँदै आएका संरचना, अवैधरूपमा बनाइएका टहरा हटाउन मेयर साह आफैं फिल्डमा उत्रिरहेका छन् । कुनै पनि किसिमको दबाब र प्रभावमा नआउने ‘मुड’ मा देखिएका बालेनको यो ‘बोल्ड’ कदमलाई समर्थन पनि प्राप्त भएको छ ।

सारा महानगरलाई व्यवस्थापनको जिम्मेवारी बोकेर हिँडेका मेयर बालेन दिनहुँ आउने कार्यालय परिसर भने अस्तव्यस्त छ । कार्यालयको बेसमेन्ट पार्किङमा लामो समयदेखि महानगरकै कर्मचारीको सवारीसाधन पार्किङ हुन सकेको छैन । सेवाग्राहीको सवारी पार्किङमा त झन् सास्ती खेप्नुपर्छ । यो समस्याको प्रमुख जड ढल व्यवस्थापन हुन नसक्नु हो ।

महानगरको कार्यालयसँगै जोडिएको चाइना टाउनका व्यापारीहरू विगत केही वर्षदेखि नै ढलले समस्या भएको बताउँछन् । ‘हिउँदमा यस्तो समस्या आउँदैन वर्षामा त जहिले यस्तै हो , ढलको गन्ध आएर उस्तै छ, डेङ्गुको बिगबिगी छ । हामीलाई यही फोहोरका कारण त्रास छ । ‘ एक व्यापारीले बताउँछन् ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धर भने ‘जेडीए कम्प्लेक्स’ को पार्किङ महानगरको मातहतमा नआउने बताउँछन् ।

‘हाम्रो पार्किङ त यता बागदरबारतिर हो नि उता जेडीए कम्प्लेक्सको पार्किङसँग हाम्रो कुनै सरोकार नै छैन, त्यँहाको त हामीले जम्मा दुईवटा तला मात्र भाडामा लिएका न हौँ’, मानन्धर भन्छन् ।

महानगरका कर्मचारी र सेवाग्राहीका लागि बागदरबारभित्रै पार्किङको राम्रो व्यवस्थापन रहेको उनको दाबी छ ।

नेपाल प्रेसको टिम महानगर पुग्दा फुटपाथमै अस्तव्यस्त सवारी पार्क गरिएको थियो त भन्ने जिज्ञासामा मानन्धर भन्छन् ‘हाम्रो अफिस प्रिमाइसिस (परिसर) भित्र त हामीले राख्न पायौँ हैन र ? फुटपाथमै एरियामै राखेको जस्तो मलाई लाग्दैन म त्यति उता जाने काम पनि पर्दैन सभागृहतिरै हुन्छु मलाई थाह छैन , म बुझौला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर