कांग्रेसको उम्मेदवार सिफारिसमा गुटबन्दी, सिरहा-३ बाट देउवा र पौडेल समूहबाट फरक नाम पठाइयो – Nepal Press

कांग्रेसको उम्मेदवार सिफारिसमा गुटबन्दी, सिरहा-३ बाट देउवा र पौडेल समूहबाट फरक नाम पठाइयो

जनकपुरधाम । सिरहा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समूहले अलग-अलग उम्मेदवार सिफारिस गरेको छ ।

तीन दिनअघि देउवा समूहको बैठकबाट जिल्ला सभापति रामचन्द्र यादवलाई उम्मेदवार सिफारिस गरेको थियो ।

उनी उम्मेदवार सिफारिस भएको दुई दिन नबित्दै नेता रामचन्द्र पौडेल समूहका सीतादेवी यादव र उनकै छोरा डा. सुभाषचन्द्र यादवलाई सिफारिस गरिएको छ । दुई खालको सिफारिसले पार्टीभित्र विवाद बढेको छ ।

यादव पूर्वसांसद पनि हुन् । उनी दोस्रो संविधानसभा सदस्यमा सिरहा ३ बाट निर्वाचित भएका थिए । क्षेत्र हेरफेरपश्चात ७४ मा उनी २ बाट उठेका थिए । तर, पराजित भए । अहिले उनको घर पनि क्षेत्र नम्बर २ मै पर्छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा यादव धनगढीमाई नगरपालिकाको मेयरमा पनि पराजित भए ।

आसन्न आम निर्वाचनमा उम्मेदवार नहुने चर्चा चलिरहँदा यादव सिरहा ३ बाट उनी सिफारिस भए ।

सितादेवी कांग्रेसकी निवर्तमान केन्द्रीय कोषाध्यक्ष हुन् । उनी दोस्रो संविधानसभा सदस्यमा तत्कालीन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएकी थिइन् । क्षेत्र हेरफेर हुँदा पनि उनी क्षेत्र ३ मै परेकी छन् । तर, सो क्षेत्रबाट केही स्थानलाई काटेर क्षेत्र २ मा मिलाइएको छ । उनी शहीद चन्द्रनारायण यादवकी पत्नी हुन् ।

सितादेवीका छोरा सुभाषचन्द्र ७४ मा सिरहा नगरपालिकाको मेयरमा पराजित भए । त्यसपछि प्रदेशसभा सदस्यको उम्मेदवार बनेका उनी पुनः पराजित भएका थिए । हाल उनी महासमिति सदस्य छन् ।

बिहीबार बसेको पार्टीको क्षेत्रीय कमिटीको बैठकले सितादेवी र डा. सुभाषचन्द्रलाई सम्मेदवार सिफारिस गरेको स्थानीय नेता धनेश्वर यादवले बताए ।

उनले भने, ‘उम्मेदवार सिफारिस गर्न क्षेत्रीय समितिलाई अधिकार दिएको छ । तर, रामचन्द्र यादवले आफूखुसी उम्मेदवारी घोषणा गरे । क्षेत्रीय कमिटीले आधिकारिकरूपमा सीतादेवी र डा. सुभाषचन्द्रलाई उम्मेदवार सिफारिस गरेको छ ।’

कांग्रेस क्षेत्र नम्बर ३ को समिति ८० सदस्यीय छ ।

‘सितादेवी र डा. सुभाषचन्द्रलाई उम्मेदवार सिफारिस गरेको बैठकमा क्षेत्रिय समितिका ७० जना उपस्थित थिए’, सभापति सञ्जयप्रकाश यादवले नेपाल प्रेससँग भने, ‘सर्वसम्मतले उम्मेदवार सिफारिस भयो । रामचन्द्रजी त पार्टीमा भाँडभैलो मच्चाउन आफैंलाई उम्मेदवार घोषणा गरेका छन् ।’

७४ मा यस क्षेत्रबाट कांग्रेसका अमर रेग्मी पराजित भएका थिए । यो पटक क्षेत्रीय समितिले उनको एकल नाम समानुपातिकमा सिफारिस गरेको छ ।

सिरहा कांग्रेसमा देउवा र पौडेल समूहबीच अन्तरकलह छ । पार्टीभित्रको अन्तरकलहकै कारण नेताहरू चुनाव लड्नै डराइरहेको एक कांग्रेस नेता सुनाउँछन् । एक पक्षकाले टिकट पाउँदा अर्को पक्षका खुलेर हराउन लाग्ने गतिविधिले यहाँको कांग्रेस आजित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर