रुपन्देही क्षेत्र नं. ५ मा कांग्रेसबाट शाह दम्पती सिफारिस – Nepal Press

रुपन्देही क्षेत्र नं. ५ मा कांग्रेसबाट शाह दम्पती सिफारिस

रुपन्देही । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ क्षेत्रीय समितिले प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि बहालवाला सांसद भरतकुमार शाह र उनकी श्रीमती अनिता शाहलाई सिफारिस गरेको छ । उनीहरुलाई उम्मेदवार बनाउन जिल्ला समितिमा सिफारिस गरिएको हो ।

शाह हाल संघीय संसद सार्वजनिक लेखा समितिका सभापति हुन् । भरत शाह प्रत्यक्षतर्फ र अनिता समानुपातिकतर्फ महिलाबाट सिफारिस भएको कांग्रेस क्षेत्रीय सभापति वसिउल्लाह मुसलमान बताएका छन् । प्रत्यक्षतर्फ भरत शाहको नाम मात्रै सिफारिस भएको छ भने समानुपातिकमा अनितासहित १४ जना सिफारिस छन् ।

२०५६, २०७० र २०७४ मा गरी तीन पटक निर्वाचन जितेका कांग्रेसका भरतकुमार आगामी मंसिर ४ को निर्वाचनमा पनि रुपन्देही क्षेत्र नं. ५ बाट प्रत्येक्षतर्फको उम्मेदवारका लागि सिफारिस भएका हुन् । उनी पूर्वमन्त्री समेत हुन् ।

रुपन्देही क्षेत्र नं. ५ को प्रदेशसभा अन्तरग निर्वाचन क्षेत्र क मा आफ्नो नाम सिफारिस नभएपछि कांग्रेस नेता हरि पोखरेलले असन्तुष्टि जनाएका छन् ।

नेपाली कांग्रेस पूर्वक्षेत्रीय कोषाध्यक्षसमेत रहेका पोखरेलले आफूलाई उम्मेदवार सिफारिस गर्ने क्रममा षड्यन्त्रपूर्वक नाम हटाइएको भन्दै विरोध जनाएका हुन् ।

‘अघिल्लो निर्वाचनमा पनि मेरो नाम सिफारिस गर्ने क्रममा हटाइएको थियो । यसपालीको निर्वाचनमा पनि उम्मेदवारी सिफारिसमा क्षेत्रीय समितिबाटै मेरो नाम हटाउने काम भएको छ’, पोखरेलले भने, ‘उम्मेदवार नै नबन्ने व्यक्तिहरुको नाम सिफारिसमा राखेर षड्यन्त्रपूर्णक निर्णय गरिएको छ । अन्तरघात गरिएको छ ।’ प्रदेशसभाका लागि उक्त क्षेत्रबाट उम्मेदवार आकांक्षी विष्णु पोखरेलको नाम सिफारिस गरिएको तथा अन्य दुई जनाको नाम डमीका लागि मात्रै प्रस्तुत गरिएको उनको दाबी छ । सिफारिस गरिएका अन्य व्यक्तिहरु लक्ष्मी चौधरी र देवी कंडेललाई प्रक्रिया पूरा गर्नका लागि मात्रै सिफारिस गरिएको र आफ्नो नाम हटाइएको उनको आरोप छ ।

प्रदेशसभाका लागि प्रत्यक्षतर्फ नाम सिफारिस भएका पोखरेलले भने पार्टीको विधान तथा नियमानुसार नै भएको बताएका छन् । पोखरेलले भने, ‘क्षेत्रीय सभापति रामबहादुर थापाको नेतृत्वमा बनेको कार्यदल थियो उहाँहरुले जे निर्णय गर्नुभयो विधिपूर्वक नै गर्नुभएको छ ।’

पार्टीभित्र विवाद तथा असन्तुष्टि आउने कुराहरु सामान्य भएको बताउँदै उनले विधान र प्रक्रियाअनुसार नै भएको हुँदा कोहीले पनि गुनासो र आरोप प्रत्यारोप लगाउनु पर्ने कारण नभएको उल्लेख गरे । यसअघि क्षेत्र नं. ४ को उम्मेदवार छनोटको विषयमा समेत यसअघि नै विवाद सार्वजनिक भएको छ । उम्मेदवार छनोट गर्दा गुटगत राजनीतिक भएको भन्दै कांग्रेसभित्र असन्तुष्टिहरु सार्वजनिक भइरहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर