बुटवल उपमहानगरकाे १०० दिन : सम्पर्क कक्ष स्थापनादेखि ‘कमाउ र अध्ययन गर’सम्म – Nepal Press

बुटवल उपमहानगरकाे १०० दिन : सम्पर्क कक्ष स्थापनादेखि ‘कमाउ र अध्ययन गर’सम्म

रुपन्देही । बुटवल उपमहानगरपालिकामा पूर्वजनप्रतिनिधि र दलहरुका लागि सम्पर्क कक्ष स्थापना गरिएको छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको १ सय दिन पूरा भएको अवसरमा नगर प्रमुख खेलराज पाण्डेयले सम्पर्क कक्षको शुभारम्भ गरे ।

बुटवललाई सबैको अपनत्व महसुस गराउने गरी राजनीतिक दल र नगरका पूर्व प्रमुख, उपप्रमुख, उपबिजेताहरुका सम्पर्क कक्ष स्थापना गरिएको नगर प्रमुख पाण्डेयले बताए ।

उनले बुटवललाई सहमति, सहकार्य, एकता र मेलमिलापको नीति अंगिकार गर्दै साझा मञ्चका रुपमा स्थापिन गर्नका लागि साझा कक्ष स्थापना गरिएको बताए ।

पाण्डेले सम्पर्क कक्षमा आउन र नगरसँग सम्बन्धित कार्यहरु सोही कक्षबाट गर्नका लागि पूर्व जनप्रतिनिधि, उपविजेताहरु र राजनीतिक दलहरुलाई आह्वान गरे ।

१ सय दिनका उपलब्धि सार्वजनिक

बुटवल उपमहानगरपालिकाले १ सय कार्यदिनका उपलब्धि सार्वजनिक गरेको छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको १ सय दिन पूरा भएको अवसरमा बुटवल उपमहानगरपालिकाले उपलब्धि सार्वजनिक गरेको हो । शुक्रबार नगरप्रमुख पाण्डेयले १ सय दिनका उपलब्धि सार्वजनिक गरे ।

पाण्डेयले बुटवललाई सहमति, सहकार्य, एकता र मेलमिलापको नीतिअनुसार विकासको मार्गमा अघि बढाउने बताऐ । ‘हामी निर्वाचित भएदेखि नै सहमति, सहकार्य, एकता र मेलमिलापको मार्गमा अगाडि बढिरहेका छौं । बुटवल हामी सबैको र हामी सबै बुटवलको भन्ने भावनासहित बुटवलको सम्मुनत विकास तथा देशकै सबल आर्थिक केन्द्र बनाउन निरन्तर लागिरहनेछौं’, उनले भने, ‘हामी बुटवलमा असल शासन, कुशल प्रशासन, चुस्त सेवाप्रवाह र प्रभावकारी कार्यका लागि निरन्तर समर्पित छौं । सबै वडाहरुको सन्तुलित विकास गर्दै नगरबासीको साझा चौतारीको रुपमा बुटवल उपमहानगरपालिकालाई स्थापित गर्न हामी प्रयत्नरत छौं ।’

उनले बुटवलका समस्याहरु समाधानका लागि संघ र प्रदेशसँग समेत सहकार्य गरेर अगाडि बढ्ने बताए । बुटवललाई सबल आर्थिक केन्द्रका रुपमा स्थापित गर्नका लागि सबैको साथ जरुरी रहेको बताए ।

१ सय दिनको अवधिमा बुटवल १३ र १७ मा अक्सिजनसहितका २ अस्पताल, कृषि बजार केन्द्र स्थापना, आम्दा अस्पतालमा पीसीएल नर्सिङ अध्ययन, बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ डिप्लोमा अध्ययन, अटो भिलेजमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि प्रक्रिया अघि बढेको उनले बताए ।

यस्तै, बुटवल बसपार्कमा बहुतले पार्किङ भवन निर्माणको अध्ययन, बुटवल ७ र ८ मा प्रदेशस्तरको हरियाली बसपार्क निर्माणका लागि जग्गा प्राप्तिको सहमति माग गर्ने काम अगाडि बढाइएको पाण्डेको भनाइ छ ।

नगरप्रमुख पाण्डेयले डेंगु नियन्त्रणका लागि लार्भा नष्ट गर्ने र फगिङ गर्ने, विद्यार्थीहरुका लागि आयमूलक कार्यमा संलग्न गराउन ‘कमाउ र अध्ययन गर’ भन्ने कार्यक्रम नवरत्न माध्यमिक विद्यालय बुटवल–१५ मा सञ्चालन गरिएको, तिनाउ नदी किनारमा बाढीबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्नका लागि च्यानलाइज गर्ने र तारजाली लगाउने काम गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर