नेपालकाे संसदीय चुनावमा अहिलेसम्म को-को स्वतन्त्र उम्मेदवार भए विजयी ? (सूचीसहित)
इटहरी । २०७९ सालको स्थानीय तह निर्वाचनमा पूर्वी नेपालको उपमहानगर धरानमा हर्क साम्पाङ र सुदूरपश्चिमको उपमहानगर धनगढीमा गोपाल हमाल स्वतन्त्र भएरै मेयरमा जीत दर्ता गरे । देशकै संघीय राजधानी काठमाडौंमा महानगरको मेयर निर्वाचन बालेन्द्र शाह उर्फ बालेन पनि स्वतन्त्रै मेयर हुन् । यी र यस्ता थुप्रै विजेताका कारण अहिले नेपालमा ‘स्वतन्त्र उम्मेदवारी दिने लहर नै आएको छ, चर्चा बढेको छ ।
सामाजिक सञ्जाल, आमसञ्चारदेखि चिया पसलसम्मका गफमा स्वतन्त्रको चर्चा छ । यी चर्चा सुन्दा यस्तो लाग्छ- नेपालमा स्वतन्त्र उम्मेदवारहरुले पनि चुनाव जित्ने माहोल नेपालमा बनेको छ, त्यो पनि चिनिएका दलहरुसँग नजोडिकन र स्थापित चुनाव चिन्ह नबोकिकनै ।
यी अहिलेका चर्चा हुन् । तर, नेपालको चुनावी इतिहास हेर्दा स्वतन्त्रले प्रभावशाली जीत हात पारेको गत स्थानीय चुनाव पहिलो भने होइन । पञ्चायतकालमा भएका चुनाव त गैरदलीय भैहाले । ती चुनावमा पनि विभिन्न दलहरु र पञ्चका पनि विभिन्न गुट सहभागी थिए । तर पनि पञ्चायतलाई बहुदलीय चुनाव मान्न सकिन्न ।
पञ्चायतबाहेकको चुनावी इतिहासमा चुनिएर आएका अनुहारहरु हेर्ने हो भने नेपालमा स्वतन्त्रहरुको माहोल पहिलो आम निर्वाचन हुँदै संविधानसभा र पछिल्लो आम निर्वाचनसम्मै देखिन्छ । २०५६ सालको चुनावमात्रै एउटा अपवाद हो । जसमा कुनै पनि स्वतन्त्र उम्मेदवारले जीतको झण्डा गाड्न सकेनन् । बाँकी सबै चुनावमा स्वतन्त्रहरुले जीत निकालेका छन् ।
यी हुन् अहिलेसम्मको बहुदलीय चुनावमा सफल स्वतन्त्र उम्मेदवारहरु :
२०१५ सालमा निर्वाचित स्वतन्त्र सांसदहरु
१) हरिलाल चौधरी – क्षेत्र नम्बर ३७ सप्तरी मध्य
२) रामदुलार राय यादव – क्षेत्र नम्बर ४६ असिमौद्राहा
३) भीमप्रसाद श्रेष्ठ – क्षेत्र नम्बर ७३ जुम्ला
४) जयबहादुर महत क्षेत्री – क्षेत्र नम्बर ७४ जुम्ला
२०४८ सालको संसदीय निर्वाचन
१) राजदेव गोइत – सिरहा क्षेत्र नम्बर ४
२) गोविन्द चौधरी – रौतहट क्षेत्र नम्बर ३
३) ओमकारप्रसाद गौचन – बाग्लुङ क्षेत्र नम्बर ३
२०५१ सालको मध्यावधि
१) शरदसिंह भण्डारी – महोत्तरी क्षेत्र नम्बर ४
२) पाल्तेन गुरुङ – मनाङ
३) ज्योतेन्द्रमोहन चौधरी – रुपन्देही क्षेत्र नम्बर ४
४) परी थापा – बाग्लुङ क्षेत्र नम्बर ३ (राजमो)
५) नवराज सुवेदी – प्युठान क्षेत्र नम्बर २ (राजमो)
६) मोतीप्रसाद पहाडी – डोल्पा
७) नरेशबहादुर सिंह – बझाङ क्षेत्र नम्बर २
२०६४ सालको पहिलो संविधानसभा चुनाव
१) बबन सिंह – रौतहट क्षेत्र नम्बर १
२) सदरुल मिया हक – सप्तरी क्षेत्र नम्बर ५
२०७० को दोस्रो संविधानसभा चुनाव
१) चन्द्रेश्वर झा – महोत्तरी क्षेत्र नम्बर ४
२) अतहर कमाल मुसलमान – कपिलवस्तु क्षेत्र नम्बर २
२०७४ सालको आम निर्वाचन
१) छक्कबहादुर लामा – हुम्ला