नागरिकता विधेयक खारेजीको माग गर्दै नागरिक समाजको प्रदर्शन (फाेटाे फिचर)
काठमाडौं । विवादास्पद नागरिकता विधेयक पुनः राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएकोमा खारेजीका माग गर्दै नागरिक समाजले दबाबमूलक प्रदर्शन गरेको छ ।
आफूहरुलाई कुनै पनि राजनीतिक दलमा आवद्ध नभएको बताउने उनीहरुले विभिन्न प्लेकार्डसहित नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अघि प्रदर्शन गरेका हुन् ।
उनीहरुले आम नागरिकलाई नागरिकता विधेयक खारेजीका लागि सहयोग गर्न अपीलसमेत गरेका छन् । ‘मुलुक बचाउनु प्रत्येक नेपाली नागरिकको कर्तव्य हो। कर्तव्य बोध गरौं। दल, राजनैतिक विचार र आस्था भन्दामाथि उठी विशुद्ध नागरिकको रुपमा एकजुट हौं’, अपीलमा भनिएको छ ।
उनीहरुले ‘नागरिकता छानबिन आयोग गठन गर’, ‘नेपाली नागरिकलाई अनागरिक नबनाऊ, विदेशीलाई नागरिक नबनाऊ’, ‘अंगीकृत नागरिकका लागि ७ वर्षको समयसीमा किन गायब ?’ जस्ता प्लेकार्ड बोकेर विधेयक खारेजीको दबबा दिएका हुन् ।
नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित विधेयकलाई प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । तर दलहरुले त्यसउपर कुनै पनि छलफल नगराई हुबहु पारित गरेका छन् । शुक्रबार राष्ट्रियसभाबाट पनि स्वीकृत भइ पुनः राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाइएको हो । अब संवैधानिक व्यवस्थाअनुसार १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा प्रस्तुत हुनेछ ।
तस्बिरहरुः