गठबन्धन अयोग्य भयो, बिदा गर्नुपर्छ : एमाले महासचिव पोखरेल – Nepal Press

गठबन्धन अयोग्य भयो, बिदा गर्नुपर्छ : एमाले महासचिव पोखरेल

कैलाली । नेकपा एमालेका महासचिव शंकर पोखरेले आगामी निर्वाचनमार्फत सत्ता गठबन्धनलाई बिदा गर्न आवश्यक रहेको बताएका छन् । आज अत्तरियामा प्रेस चौतारी नेपाल कैलाली शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा गठबन्धनले मुलुकमा राम्रो काम नगरेको भन्दै बिदा गर्न आवश्यक रहेको बताएका हुन् ।

‘गठबन्धनजस्तो अवस्थामा छ । यसले एक सीट पनि नजित्नु पर्ने हो । गठबन्धन पूर्णरूपमा समाप्त हुनु पर्ने हो’ उनले भने, ‘कुनै गतिलो काम गरेको छैन । यो अयोग्य छ । त्यस कारणले यसलाई बिदा गर्नुपर्छ ।’

नेपाली कांग्रेसबाट देशले नेतृत्वको सम्भावना नभएको समेत उनले जिकिर गरे । उनले वर्तमान सरकार अझै एक बर्ष रहे मुलुक श्रीलंकाको दिशामा जान सक्ने खतरा रहेको समेत बताएका थिए ।

‘नेपाली मुद्रा कमजोर बन्दै गएको छ । सरकार असफल भएको छ । सरकारको आफ्नो खर्च गर्ने क्षमताले बजार गुलजार हुन्छ । तर सरकारले आफ्नो खर्च गर्ने सामर्थ्य गुमाइसकेको छ । जुन कारण यो जनताको सरकार नै होइन’ उनले भने, ‘यही सरकार अझै एक वर्ष यस्तै रहे नेपालको अवस्था श्रीलंकाको गतिमा नपुग्ला भन्न सकिन्न ।’

बाम तालमेलको सन्दर्भमा अहिले यो सम्भव नभएको बताए ।

‘अहिलेको अवस्थामा तालमेल सम्भव छैन । गठबन्धन हामीले आवश्यक देखेका छैनौ । एउटै कम्युनिष्ट बनाउने उद्देश्यले तालमेल गरेका थियौँ । एउटै पार्टी पनि बनायौँ त्यो असफल भयो’ उनले भने, ‘जुन चिज असफल भयो त्यो फेरि गर्नुपर्छ भन्ने होइन ।’

स्थानीय आवश्यकताको आधारमा भने तालमेल हुन सक्ने उनले बताए ।

राष्ट्रपतिले फिर्ता गरेको नागरिकतासम्बन्धी बिधेयक हुबहु पारित गरेको भन्दै यसमा सत्ता पक्षले गलत गरेको पोखरेलको टीप्पणी छ । ।

उनले भने,‘ सत्ता पक्षले जे गर्‍यो त्यो गलत गर्‍यो । राष्ट्रपतिले उठाएका विषय नागरिकका प्रश्नहरू हुन् । नागरिकका प्रश्नहरूको छलफलबाट जवाफ दिनुपर्नेमा बल मिच्याइँ गर्‍यो ।’

बैतडी, दार्चुला र डडेल्धुरामा प्रशिक्षणका लागि केही दिन पहिले सुदूरपश्चिम आएका महासचिव पोखरेल आज काठमाडौं फर्किए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर