रुपन्देही-३ मा घनश्यामसहित एमालेबाट ४ जना सिफारिस
रुपन्देही । नेकपा एमालेले रुपन्देही ३ बाट स्थायी कमिटी सदस्य घनश्याम भुसालसहित ४ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ ।
पार्टी क्षेत्रीय कमिटीले उनीसहित तिलोत्तमा नगरपालिकाका पूर्वमेयर वासुदेव घिमिरे, दुर्गा भुसाल तथा सर्वजित शाहलाई सिफारिस गरेको हो ।
नेता भुसाल निर्वाचन लड्न तयार रहेको बताउँदै आएका छन् । तर, पूर्वमेयर घिमिरेले पनि सशक्त दाबेदारी पस गरेका छन् ।
यसअघि ०७४ सालको निर्वाचनमा भुसालले कांग्रेस-राप्रपका साझा उम्मेदार दीपक बोहरालाई पराजित गरेका थिए । यो गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको पनि क्षेत्र हो । अघिल्लोपटक समानुपातिकमा बसेका खाण अहिले प्रत्यक्ष लड्ने तयारीमा छन् । अघिल्लो निर्वाचनमा भन्दा स्थानीय तहको निर्वाचनमा कांग्रेसको मत बलियो रहेको र गठबन्धनको पनि साथ रहने भएकाले गृहमन्त्री खाण ढुक्कजस्तै छन् ।
स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा आएको मत परिणामअनुसार रुपन्देही ३ मा कांग्रेस ३४१५३, एमाले २९०४८, राप्रपा १३३९७, जसपा ६१८३, माओवादी २८८१, लोसपा २१७४, एस ९७७ छ ।
अहिले यहाँ राप्रपाले दीपक बोहराका लागि एमालेसँग तालमेल गर्न खोजिरहेको छ । तर, बोहरा रुपन्देहीको ३ वा १ कुन रोज्छन् निश्चित भइसकेको छैन ।