चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्सु भदौ २७ मा नेपाल आउँदै – Nepal Press

चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्सु भदौ २७ मा नेपाल आउँदै

काठमाडौं । चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु चार दिने नेपाल भ्रमणको सिलसिलामा भदौ २७ गते नेपाल आउने भएका छन् ।

लीको नेपाल भ्रमणको औपचारिक घोषणा आज परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी गरेको हो ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणमा ली नेपाल आउन लागेका हुन् ।

मन्त्रालयका अनुसार भदौ २७ गते सभामुख सापकोटा र चिनियाँ कंग्रेसका स्थायी समिति अध्यक्ष लीबीच प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता हुनेछ । सोही दिन सभामुख सापकोटाले लीको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन् ।

नेपाल भ्रमणका बेला लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भदौ २९ गते र प्रधानमन्त्री शेरबहादुर देउवासँग भदौ १३ गते शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।

भदौ १३ गते नै लीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

नेपालमा रहँदा लीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । ली नेपाल भ्रमण सम्पन्न गरी भदौ ३० गते स्वदेश फर्कने छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *