आफूलाई लाइनमा बस्नुस् भन्ने सुरक्षागार्ड पक्राउ परेपछि के भन्छन् पर्यटनमन्त्री श्रेष्ठ ? – Nepal Press

आफूलाई लाइनमा बस्नुस् भन्ने सुरक्षागार्ड पक्राउ परेपछि के भन्छन् पर्यटनमन्त्री श्रेष्ठ ?

काठमाडौं । ठमेलस्थित छायाँ सेन्टरमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई अभद्र व्यवहार गरेको आरोपमा एक सुरक्षा गार्ड पक्राउ परेका छन् ।

भीएफएस ग्लोबल भिसा सेन्टरमा भिसाको कामले श्रीमतीसहित पुगेका मन्त्री श्रेष्ठलाई लाइनमा बस्नुपर्ने बताएका सुरक्षागार्ड शेरजङ गुरुङ पक्राउ परेका थिए । सुरक्षा गार्ड गुरुङले मन्त्री श्रेष्ठलाई लाइनमा बस्नुपर्ने बताएपछि विवाद भएको थियो ।

मन्त्री त्यहाँबाट फर्किएसँगै प्रहरीले गुरुङलाई पक्राउ गरेको थियो । महानगरीय प्रहरी वृत्त दरबारमार्गले गुरुङमाथि अभद्र व्यवहार कसुरमा अनुसन्धान सुरु गरेको छ।

काठमाडौं प्रहरी परिसर प्रमुख भरतबहादुर बोहराले घटनाबारे अनुसन्धान भइरहेकाले अहिले केही भन्न नमिल्ने बताए ।

यसो भन्छन् मन्त्री श्रेष्ठ

मलाई दिइएको समयअनुसार शुक्रबार त्यहाँ पुगेको थिएँ । म लाइनमा नै लागेको थिएँ । त्यहाँको नियमअनुसार नै लाइनमा लागेको हुँ । मभन्दा अगाडि एक जना अर्को मान्छे थियो । त्यसपछि मेरो श्रीमती हुनुहुन्थ्यो र त्यसपछि म थिएँ । म लाइनमा हुदाँहुँदै पनि ममाथि दुर्व्यवहार भयो ।

मेरो पीएसओले उहाँ मन्त्री ज्यू हो भन्दा पनि ‘म मन्त्रीसन्त्री कोहीकसैलाई पनि चिन्दैन’ भनेर भन्यो । त्यो भिसा सेन्टर पनि त नेपाली नागरिकले तिरेको शुल्कबाट चलिरहेको छ । उसले भेंडाबाख्राको व्यवहार गर्न पाइँदैन नि ! म उछिनेर गएको पनि होइन । मैले आफैंले पनि म मन्त्री हो भनेर भनेको थिएँ । त्यहाँ उसले ठेलमठेल पनि गर्‍यो ।

त्यसपछि मेरो पीएसओ पनि त्यहाँ रहेको र सुरक्षा निकायका साथीहरु पनि त्यहाँ भएको हुनाले उहाँहरुले ममाथि नै दुर्व्यवहार भएको देखेपछि आफ्नो प्रक्रियाअनुसार कारबाही प्रक्रिया अघि बढाएको हो । मैले कारबाहीका लागि निर्देशन दिइरहनुपर्दैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर