बारामा उद्योग लुट्न आएका डकैती समूहका दुईजना सार्वजनिक
जनकपुरधाम । बाराको जीतपुर सिमरा उपमहानगरपालिका २३ स्थित एरोटेक प्रालिमा डकैती गर्न आएका समूहमध्ये पक्राउ परेका दुई जनालाई सार्वजनिक गरिएको छ ।
पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगर ९ का ३५ वर्षीय जयराम पासवान र सोही ठाउँका ४० वर्षीय जवाहिर महतो छन् । उनीहरु १ राउण्ड गोली लोड गरी सोको राउण्ड २ सहित कटुवा बन्दुक एक थान र भरूवा बन्दुक पनि एक थान बरामद गरिएको छ ।
पक्राउ परेका दुबै जनामाथि डाँका, हातहतियार खरखजाना तथा ज्यान मार्ने उद्योग मुद्दामा थप अनुसन्धान कार्य भइरहेको र फरार भएकाहरुको पनि खोजी कार्य जारी राखेको बारा प्रहरीले जनाएको छ ।
डाँकाहरु हतियारसहित लुटपाट गर्न शनिबार मध्यरातमा उद्योग प्रवेश गरेका थिए । उद्योगको स्टोर कोठामा राखिएको सिलिण्डर बनाउने कार्यमा प्रयोग हुने पित्तलको भल्भ, जिंक बायर, बुस बनाउने डण्डी तथा मजदुरहरुको साथमा रहेको नगद र मोवाईल समेत लुटेर उनीहरु भाग्दै गर्दा प्रहरीको टोली पुगेको थियो ।
प्रहरीले नियन्त्रणमा लिन खोज्दा डाँका समूहले एक राउण्ड फायर गरेको थियो । प्रहरी टोलीले आफ्नो प्रतिरक्षा स्वरुप ३०३ नट राईफलबाट ३ राउण्ड गोली फायर गरी डाँकाहरु मध्ये दुई जनालाई पक्राउ गरेको बारा प्रहरीले उल्लेख गरेको छ ।
नियन्त्रणमा लिने क्रममा डाका समूहले प्रहरी वरिष्ठ नायब निरीक्षक कलम बहादुर शाहीको टाउकोमा रड प्रहार गरेको र घाइते उनको वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको बताएको छ ।