कैलाली-३ मा पूर्वमन्त्रीसहित दुईजनाको नाम सिफारिस, प्रदेश सभामा को-को ?
कैलाली । नेकपा एमालेले कैलालीमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूको नाम धमाधम सिफारिस गरिरहेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर ५ बाट नारदमुनि राना, ४ बाट लेखराज भट्टको नाम सिफारिस गरेको एमालेले ३ नम्बर क्षेत्रबाट पूर्वमन्त्री गौरीशङ्कर चौधरी र चुलुराम चौधरीको नाम सिफारिस गरेको छ ।
गौरीशङ्कर चौधरी अघिल्लो पटक माओवादीबाट निर्वाचित भएका थिए । उनले कांग्रेस उम्मेदवार रामजनम चौधरीलाई हराएका थिए । अहिले उनी एमालेमा छन् । प्रतिनिधि सभातर्फ सिफारिस भएका अर्का चुलुराम चौधरी यहाँका पुराना नेता हुन् ।
प्रदेश सभातर्फ प्रत्यक्षमा ख मा चार जना र क मा दुई जनाको नाम सिफारिस गरिएको छ । प्रदेश निर्वाचन समन्वय कमिटीले प्रदेश ख मा कृष्ण मिश्र, जयनारायण जोशी, विष्णु चौधरी र मनराज शाही तथा प्रदेश क मा रतन रेग्मी र राज बहादुर बुढालाई सिफारिस गरेको हो । प्रदेश ख बाट समानुपातिकमा लक्ष्मी चौधरी र चन्द्रिका चौधरी पनि सिफारिस भएका छन् ।