दुर्घटनामा अपाङ्ग भएकालाई अरनिको यातायातले मासिक १५ सय भत्ता दिने – Nepal Press

दुर्घटनामा अपाङ्ग भएकालाई अरनिको यातायातले मासिक १५ सय भत्ता दिने

सिन्धुपाल्चोक । अरनिको यातायात सेवा समितिको रुपान्तरित पूर्व अरनिको यातायात प्रालिले कम्पनीको बस दुर्घटनामा घाइते भई अपाङ भएका यात्रुलाई मासिक १ हजार ५०० भत्ता दिने भएको छ ।

कम्पनीको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले समितिअन्तर्गत सञ्चालित बस दुर्घटनामा परी अपाङ जीवन बिताइरहेका यात्रुलाई उक्त मासिक भत्ता दिने निर्णय गरेको हो ।

समितिको निर्णयानुसार अपाङ्गता भएकाले अबदेखि थप मासिक ५०० रुपैयाँ भत्ता पाउने भएका हुन् । यसअघि समितिले यस्तो भत्ता एकहजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो । कम्पनीका नवनिर्वाचित अध्यक्ष केदार क्षेत्रीले भने, ‘पहिला म अध्यक्ष हुँदा मासिक एक हजार दिने निर्णय गरेका थियौं । अहिले ५०० रुपैयाँ बढाएका छौं । यसले यात्रुलाई केही राहत मिल्नेछ ।’

बैठकले अरनिको सम्बद्ध यातायात व्यवसायीको मृत्यु भए सहयोगस्वरुप १० लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ । पहिला ५ लाख रुपैयाँ राहत उपलब्ध गराउँदै आएको थियो । उक्त राहत रकम पनि बढाएको अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

समितिले यातायात मजदुरहरुको १० लाखको दुर्घटना बीमा गर्नेसमेत गरेको उनले बताए । अरनिको यातायातका कर्मचारीहरुको कामको सिलसिलामा मृत्यु भएमा ३ लाख सहयोग दिने पनि निर्णय गरिएको छ ।

भदौ २३ देखि अग्रीम टिकट बुकिङ खुला

समितिले दशैंका लागि भदौ २३ गतेबाट अग्रीम टिकट बुकिङसमेत खुला गरेको छ । ‘दशैंमा घर जाने सबै यात्रुलाई सुरक्षित र सीटमै राखेर पठाउने व्यवस्था गर्न अग्रीम टिकट खुला गरेका छौं’, समितिका सचिव प्रभुराम थापाले भने ।

दुई वर्षदेखि काठमाडौंमा बसपार्क नहुँदा यातायात मजदुर र यात्रुले दुःख पाउँदै आएका छन् । तत्लकालाई अस्थायी बसपार्कको व्यवस्था गर्न समितिका पूर्वअध्यक्ष श्याम लामाको संयोजकत्वमा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

‘अहिले जग्गा भाडामा लिएर भए पनि अस्थायी बसपार्क बनाउने योजनामा छौं’, समितिका अध्यक्ष क्षेत्रीले भने, ‘पछि सबैसँग छलफल गरेर स्थायी बसपार्क बनाउनेछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *