लागुऔषध मुद्दामा दुई भारतीयलाई फसाएको आरोप लागेका पाल्हीनन्दनका अध्यक्षविरुद्ध पक्राउ पुर्जी – Nepal Press

लागुऔषध मुद्दामा दुई भारतीयलाई फसाएको आरोप लागेका पाल्हीनन्दनका अध्यक्षविरुद्ध पक्राउ पुर्जी

वडाध्यक्षलाई कार्यवाहकको पत्र थमार फरार

रुपन्देही । साझेदारी व्यापारको रकम नदिनका लागि दुई भारतीयलाई लागुऔषध मुद्दामा फसाएको गम्भीर आरोप लागेका पश्चिमनवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । पालिका अध्यक्ष गुप्ता माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।

सो विषयमा प्रहरी हिरासतमा रहेकाहरुका आफन्तले प्रहरीको मिलेमतोमा योजनाबद्ध रूपमा लागुऔषध मुद्दामा फसाएको आरोप लगाएका छन् । यही विषयमा अदालत पुगेका उनीहरुका परिवारको निवेदनमा आधारमा अदालतबाट गुप्तालाई पक्राउ पुर्जी जारी भएको हो ।

यो विषयमा नेपाल प्रेसमा भदौ १३ गते समाचार प्रकाशन भएको थियो । त्यो समयमा पनि उनी पत्रकारसँग सम्पर्कमा आउन खोजेनन् ।
पक्राउ पुर्जी जारी भएपछि उनी फरार छन् । उनी फरार भएपनि एक हप्ताभित्र मुद्दा दर्ता गर्ने तयारी भएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

अनुसन्धानको क्रममा गुप्ताकै योजनामा भारतीय नागरिकलाई नक्कली मुद्दा चलाउन खोजेको पुष्टि भएको सूचना पाएपछि उनी सम्पर्कविहीन बनेका छन् । सो घटनामा पक्राउ परेका गुप्ताका सहयोगी पूर्व नगर प्रहरी रघुनाथ धोबीको बयान र अन्य प्रमाणका आधारमा उनको संलग्नताका आधार भेटिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।

गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिमनवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई पक्राउ गरेको थियो । उनीहरूसँग दुई सय ७० सेट डाइजेपाम, नुरर्फिन र फेनार्गन लागुऔषध बरामद भएको प्रहरीको दाबी थियो ।

छानबिनका क्रममा घटना विवरण नै बनावटी भएको र उनीहरू निर्दोष देखिएको प्रहरी उच्च स्रोतले बताएको छ । तर उनीहरु दुई महिनादेखि प्रहरी हिरासतमा छन् ।अनुसन्धानपछि प्रहरीले गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी धोबी र अर्का युवक विवेक पाण्डेलाई लागुऔषध मुद्दामा सजायको मागदाबी लिई अनुसन्धान प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

थुनामा रहनुभन्दा अघि गुप्ता र पासवानले अध्यक्ष गुप्तासँग कवाड सामानको कारोबार गर्दै आएका थिए । तर, नाफाको २० प्रतिशत रामा गुप्तालाई दिने सहमतिलाई बेवास्ता गर्दै रकम दिन आलटाल गर्दै आएका थिए । रामा गुप्ताले अध्यक्ष बैजुप्रसादबाट एक करोड ३३ लाख रुपैयाँ पाउनुपर्ने थियो ।

सोही रकम हडप्नकै लागि गाउँपालिका अध्यक्षले आर्थिक चलखेल गरेर नवलपरासी प्रहरी प्रमुख ऋषिराम कंडेललाई समेत प्रभावित गरेर भारतीयलाई लागूऔषध मुद्दामा फसाएको आरोप छ । तर एसपी कंडेलले त्यो विषय अस्वीकार गर्दै आएका छन् ।

थुनामा रहेका गुप्ता र पासवान निर्दोष रहेको भन्दै तत्काल रिहा गर्न र गाउँपालिका अध्यक्षलाई पक्राउ गरी उनीमाथि छानबिन गर्न थुनामा रहेका भारतीयको परिवार, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नवलपरासीले माग गर्दै आन्दोलनसमेत गरेका थिए ।

पहिले प्रहरीले पालिका प्रमुख गुप्तालाई साथ दिएकोमा अहिले नेपाली कांग्रेस, एमाले, जसपासहित सबैले विरोध गर्न थालेपछि र घटनाका रिपोर्टहरु उनको विपक्षमा भेटिन थालेपछि त्यहाँको प्रहरी नेतृत्वलाई संकट परेको छ ।पश्चिमनवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले अध्यक्ष गुप्ताविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भइसकेको नेपाल प्रेसलाई बताए ।

उपाध्यक्ष हुँदाहुँदै वडाध्यक्षलाई कार्यबाहक

गाउँपालिकाका प्रवक्ता कृष्णचन्द्र यादवले अध्यक्ष बैजुप्रसाद गुप्ताले पत्र पठाएर उपचार गर्न हिंडेकोे जानकारी दिएको तर पक्राउ पूर्जीको विषयमा आफूलाई जानकारी नभएको बताए ।

‘कति दिन भन्ने उल्लेख छैन, उहाँले उपचारका लागि बाहिर जानुपरेको भनेर पत्र पठाएपछि कार्यपालिका बसेर १ नं वडाका वडाध्यक्ष चुनाई यादवलाई कार्यबाहक दिइएको छ, उपाध्यक्ष त हुनुहुन्छ तर पाकोपुरानो भनेर वडाध्यक्षलाई दिइएको हो’उनले भने । कार्यपालिकामा माओवादीको बहुमत रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर