बाह्रबीसेका प्रशासकीय अधिकृतले सेवाग्राहीसँग फोनमै घुस मागेको आरोप ! कारबाहीको तयारीमा मेयर (अडिओ) – Nepal Press

बाह्रबीसेका प्रशासकीय अधिकृतले सेवाग्राहीसँग फोनमै घुस मागेको आरोप ! कारबाहीको तयारीमा मेयर (अडिओ)

काठमाडौं । बाह्रबीसे नगरपालिकाका प्रशासकीय अधिकृत अम्मरप्रसाद भटट्ले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ । उनले ४० हजार रुपैयाँ घुस मागेको आशय झल्किने एउटा अडिओसमेत सार्वजनिक भएको छ ।

सामाजिक सञ्जालमा लिक भएको अडिओमा भट्टसँग एक सेवाग्राहीको छोटो फोन संवाद सुनिन्छ ।

भट्ट भन्छन्, ‘अलिअलि मिलाउन त है, पहिलेको के के गर्‍यो । फोर्टी जति यसो गर्नुहोला है ।

सेवाग्राही दिन तयार भएपछि उनी सोध्छन्, ‘आजै ल्याउने हो कि ? नभए रेडी बनाइराख्नुस्, भुक्तानीकै दिन गरौंला । तयारी चाहिँ गरिराख्नुस् ।’

भुक्तानीको फाइल अड्काएर सेवाग्राहीसँग भट्टले घुस मागेको अनुमान गरिएको छ । यस विषयमा भट्टलाई नेपाल प्रेसले सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् । बाह्रबीसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले केही दिनदेखि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टले छोरी बिरामी भएको भनेर बिदामा बसेको बताए ।

उनले भने, ‘मैले पनि केही दिनदेखि सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएका छैनन् । घुसको कुरा बाहिर आएपछि मैले कुरा गर्न खोजेको हो । तर, मेरै फोन उठाएका छैनन् ।’

आफूले एसएमएस गरेर सोध्दा उनले छोरी बिरामी भएको जवाफ पठाएको बस्नेतले जानकारी दिए । नगरपालिकामा आउनेबित्तिकै कारबाही प्रक्रिया थाल्ने उनको भनाइ छ ।

‘नगरपालिकाबाट हटाएरमात्रै उनलाई पुग्दैन । त्यसैले म कारबाही गर्ने तयारीमै छु’, बस्नेतले भने ।

भट्टले आफ्नो क्वार्टरमा रहेका फ्रिज, टीभी, पलङलगायतका सबै सामान आफ्नो घर लगेर नयाँ खरिद गरेको बिल भर्पाइसमेत नगरपालिकामा पेस गरेको पाइएको छ ।

नगरपालिकाका एक कर्मचारीले भने, ‘क्वार्टरमा सबै सामान पहिल्यै व्यवस्था थियो । अहिले ती पुराना सामान छैनन् । तर, बिल भने नयाँ खरिद गरेको भन्दै आउने गरेको छ ।’

भट्टले करारका कर्मचारी परिचालन गरी सेवाग्राहीसँग रकम असुल्ने गरेको स्रोतले बतायो । जुरे क्रसरको ठेक्का रद्द गरी नयाँ कम्पनीलाई ठेक्का दिएवापत पनि भट्टले मोटो रकम हात पारेको आरोपसमेत लगाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर