रवि लामिछानेको प्रष्टीकरण : मैले नियम–कानून पछ्याइनँ, मानवता पछ्याएँ – Nepal Press

रवि लामिछानेको प्रष्टीकरण : मैले नियम–कानून पछ्याइनँ, मानवता पछ्याएँ

काठमाडौं । हिरासतमा रहेको व्यक्तिलाई भेटेर तस्बिर खिचाएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले प्रष्टीकरण दिएका छन् । आफूले नियम-कानूनभन्दा मानवता पछ्याएको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले आफ्नो कर्तव्य निर्वाह गरेकै कारण मन्त्रीको अहममा धक्का पुग्दा एक आममानिस पक्राउ परेको सहन नसकेको बताएका छन् । ‘त्यहाँका प्रहरीले पनि मेरो अनुभूति मात्रै देखे, कानून देखेनन् । उनीहरुले पनि सायद मानवता र आत्मियताभन्दा अतिरिक्त केही कुरा देखेनन्, र त सहजै भेट्न दिए ।’

आफूलाई भेट्न दिएकोमा प्रहरीहरु दोषी नभएको उनले जिकिर गरेका छन् ।

यस्तो छ रविको स्टाटसः

म बुझ्छु, नखाएको विष लाग्दा कस्तो हुन्छ । मलाई थाहा छ, निर्दोष हुँदाहुँदै कैदी बन्नु पर्दा कस्तो हुन्छ ।

हो, मैले नियम कानुन पछ्याइनँ । मानवता पछ्याएँ । आफ्नो कर्तव्य निर्वाह गरेकै कारण मन्त्रीको अहममा धक्का पुग्दा एकजना आममानिस पक्राउ परेको सहन सकिनँ । गएँ । पक्राउ गरिएकालाई भेटेँ । मेरो भ्रम हुन सक्ला, तर मैले ति निर्दोषलाई भेटेको कुरा मान्छेहरुलाई थाहा दिन सकेँ, ति कर्तव्यपरायणका पक्षमा माहौल श्रृजना हुन सक्छ भन्ने सोचेँ । फोटो राखेँ ।

त्यहाँका प्रहरीले पनि सायद मेरो अनुभूतिमात्रै देखे, कानुन देखेनन् । उनीहरुले पनि सायद मानवता र आत्मियता भन्दा अतिरिक्त केही कुरा देखेनन् र त सहजै भेट्न दिए । त्यसैले ति प्रहरीहरु त दोषी हुँदै होइनन् ।

दोष आफ्नो अहममा धक्का पुग्दा जोकसैलाई पक्राउ गराउने र राजनीतिक घाटा हुन थालेमा एक आदेशले छुट दिनेहरुको हो । कानुन कसैको आवेग र न्याय कसैको निगाहमा पाइने कुरा बन्नु हुँदैन ।


प्रतिक्रिया

One thought on “रवि लामिछानेको प्रष्टीकरण : मैले नियम–कानून पछ्याइनँ, मानवता पछ्याएँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर