सिद्धान्त फरक भएपनि संविधान र समृद्धिका लागि गठबन्धन जरुरी : सञ्चारमन्त्री कार्की
काठमाडौं । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संविधान र समृद्धिको बाटोमा मुलुकलाई हिँडाउन गठबन्धन जरुरी भएको बताएका छन् ।
मंगलबार बिहान नेपाल प्रेस युनियन केन्द्रीय समितिका पदाधिकारीसँगको भेटमा कार्कीले सिद्धान्त फरक भएपनि मुलुकको स्वाधीनता, लोकतन्त्र र जनताको पक्षमा गठबन्धन गरेको जिकिर गरे ।
‘हिजो संविधान र लोकतन्त्र जोगाउन गठबन्धन बनेको हो । यो कसैका विरुद्ध बनेको होइन’, कार्कीले प्रष्ट्याए ।
उनले मंसिर ४ को निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा गराउन सरकार प्रतिबद्ध रहेको बताए । अबको १० वर्षमा नेपाललाई सम्पन्न, समृद्ध र सभ्य बनाएर दक्षिण एसियाकै धनी राष्ट्र बनाउनेतर्फ काम गर्ने मन्त्री कार्कीको भनाइ थियो ।
गठन्धनको कार्यदलका सदस्यसमेत रहेका उनले सीट बाँडफाँट न्यायोचित र स्वभाविक ढंगले हुने बताए ।