महिला साफ च्याम्पियनसिप : उपाधि खडेरी चिर्ने सपनामा कीर्तिमानी गोलकर्ता साम्बा – Nepal Press

महिला साफ च्याम्पियनसिप : उपाधि खडेरी चिर्ने सपनामा कीर्तिमानी गोलकर्ता साम्बा

काठमाडौं । नेपाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ दक्षिण एसियाली महिला फुटबलमा परिचित अनुहार हुन् । दक्षिण एसियालले पाएको उत्कृष्ट स्ट्राइकरका रूपमा सावित्रालाई लिने गरिन्छ ।

उनै सावित्रा राष्ट्रिय टोलीको हकमा भने अभागीजस्तै छिन् । उनले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा हालसम्म उपाधि जित्न सकेकी छैनन् । तर, उनी नेपाली टोलीकी सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् ।

सावित्राले हालसम्म सिनियर राष्ट्रिय टोलीबाट ३८ खेल खेल्दै ३८ गोल गरेकी छिन् । मंगलबारदेखि घरेलु मैदानमा सुरू हुन लागेको सातौँ साफ महिल च्याम्पियनसिप सावित्राका लागि उपाधि खडेरी टार्ने गतिलो अवसर हुने छ। सावित्राले सन् २०१९ मा नेपालमा आयोजना भएको १३ औँ दक्षिण एसियाली खेलकुद-सागपछि पहिलोपटक राष्ट्रिय टोलीबाट खेल्दैछिन् ।

१३ औँ सागको महिला फुटबलमा नेपाल फाइनलसम्म पुग्दा सावित्राले तीन गोल गरेकी थिइन् । उनले मालदिभ्सविरुद्ध ह्याट्रिक गरेकी थिइन्। त्यसपछि २०७७ फागुनमा भएको महिला राष्ट्रिय लिग फुटबलमा घाइते भएपछि सावित्राको करिअर संकटमा परेको थियो । उनी झन्डै डेढ वर्षपछि मैदान फर्कँदैछिन् ।

सावित्रा साफ महिला च्याम्पियनसिप तेस्रो संस्करणेदेखि खेलिरहेकी छिन् । सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो साफ महिला च्याम्पियनसिपमा नेपालले फाइनलसम्मको यात्रा तय गर्दा सावित्राले लिग चरणमा भुटानविरुद्ध एक गोल गरेकी थिइन् ।

त्यस संस्करणको फाइनलमा भारतले नेपाललाई ६-० गोलले हराएको थियो । सन् २०१६ मा आयोजना भएको चौथो संस्करणमा सावित्रा उच्च लयमा थिइन् । उनले भुटानविरुद्ध ६ र मालदिभ्सविरुद्ध ५ गोल गरेकी थिइन् । सेमिफाइनलमा भारतसँग ३-१ गोलले पराजित हुँदा नेपालका लागि सावित्राबाट मात्र गोल भएको थियो ।

तीन वर्षअघि आयोजना भएको अघिल्लो संस्करणमा नेपाल फाइनलसम्म पुगेर भारतसँग पराजित भएको थियो । सावित्राले लिग चरणमा भुटान र बंगलादेश तथा सेमिफाइनलमा श्रीलंकासँग एक एक गोल गरेकी थिइन् । ३-१ गोलले पराजित भएको फाइनलमा पनि सावित्राबाट एक गोल भएको थियो ।

नेपाल हालसम्म भएको साफ महिला च्याम्पियनसिपका ६ मध्ये ५ संस्करणमा फाइनलमा पुगेको छ । सन् २०१० देखि साफ महिला च्याम्पियनसिप सुरू भएको हो । हरेक वर्ष नेपालका लागि प्रतिद्वन्द्वीहरू कठिन बनिरहेका छन् । यसपटक नेपालले पहिलो चरणमा भुटान र श्रीलंकासँग खेल्दैछ । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *