अपाङ्गता समावेशी विपद जोखिम न्यूनीकरण गर्न सरोकारवालाहरुको सम्मेलन – Nepal Press

अपाङ्गता समावेशी विपद जोखिम न्यूनीकरण गर्न सरोकारवालाहरुको सम्मेलन

काठमाडौं । अपाङ्गता समावेशी विपद् जोखिम न्यूनिकरणका विषयमा आयोजित दुई दिने सम्मेलन सम्पन्न भएको छ । ललितपुरमा आयोजित सम्मेलन मंगलबार र बुधबार सम्पन्न भएको हो ।

अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरणका विषयमा सरोकारवाला संघ–संस्थाहरुको आवाज नीतिगत क्षेत्रमा काम गर्ने सरकारी संयन्त्र सम्म पुगोस् भन्ने उदेश्यले अतुल्य फाउन्डेसनले सम्मेलन आयोजना गरेको थियो ।

सम्मेलनमा विभिन्न सरकारी तथा गैर सरकारी संघ–सस्था तथा बहु–अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता थियो । जुन कार्यक्रमले अपाङ्गगता समावेशी जोखिम न्यूनीकरणमा भएका समस्याहरुलाई बुझ्न मदत गरोस् र नयाँ बाटो तर्जुमागर्न मदत पुगोस भन्ने बुझाइ रहेको थियो ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव डिल्लीराम शर्माले ‘सरकारले अपाङ्गता भएका व्यक्तिका लागि नीति तर्जुमा गर्ने योजना बनाएको बताए ।

शर्माले भने,‘२०१५ को भुकम्पपछिको अवस्थाले देखाएको विपद्बाट महिला बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति बढी जोखिममा छन् । यसैलाई दृष्टिगत गर्दै मन्त्रालयले ती समस्यालाई सम्बोधन गर्ने गरी नीति परिवर्तन र कार्यक्रम कार्यान्वयन गर्ने काम गरिरहेको छ।’

मन्त्रालयले नीति निर्माणका लागि योजना बनाउन थालिसकेको र पहिलो चरणको छलफल सुरु भइसकेको शर्माले बताए। मन्त्रालयले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी कार्यलाई थप अभिवृद्धि गर्न राष्ट्रिय,अन्तर्राष्ट्रिय निकाय र स्थानीय तहसँग सहकार्य गरी आगामी दिनमा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सुनिश्चितता गर्नेमा प्रतिवद्धता समेत जनाए ।

कार्यक्रममा मन्त्रालयका सहसचिव डिल्लीराम शर्मा, गृह मन्त्रालयका सह सचिव प्रदिप कुमार कोइराला तथा युएसएआइडी तयार परियोजनाकी ट्यामी ह्यारिसले संयुक्त रुपमा गृहमन्त्रालयले स्वामित्व ग्रहण गरेको पुस्तक ‘अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरण सम्बन्धी जानकारीमूलक हातेपुस्तिका’ को नेपाल, अंग्रेजी तथा ब्रेल संस्करणको विमोचन गरे ।

दुई दिने सम्मेलनमा नेपालमा अपाङ्गगता समावेशी विपद व्यवस्थापनको विगत, वर्तमान र भविष्य सँग सम्बन्धीत रहेर सञ्चालित छलफल कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष डा. वीरेन्द्रराज पोखरेलले ,‘विभिन्न नीति, नियम र नियमावली भए पनि अपाङ्गगता समावेशी विपद् जोखिम न्यूनीकरणको क्षेत्र उक्त नीति तथा नियमावलीहरु व्यवहारिक रुपमा भनौं या सही रुपमा लागू भएको छैन । यी बनिसकेका नीतिहरु कार्यान्वयनमा आएका विषय तथा भोग्नुपरेको परिणामलाई नीतिगत हिसावले सुधार गर्दै लैजानु पर्दछ’ ।

साथै, उनले जुनकुनै लिखित सामग्रीहरुलाई अडियोबुक मार्फत समेतल्याउन सके त्यो अझ बढी मैत्रीपूर्ण हुनेमा जोड दिए ।कार्यक्रम समापनका क्रममा अतुल्य फाउन्डेशनका अध्यक्ष पल्लव पन्तले आगामी दिनमा हुने कार्यक्रमहरुमा गैरसरकारी निकाय तथा सरकारी निकायहरुले निजी क्षेत्रलाई समेत समेट्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर