धनुषामा दुई लुटेरा पक्राउ, लुटेको पौने २ लाख खाल्डोमा लुकाइएको भेटियो
जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ४ सपहीबाट एकजनाको १ लाख ८० हजार रूपैयाँ लुटेर भागेका दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका ६ निकालका २० वर्षीय भरोशी भन्ने नरेश यादव र वडा नम्वर ४ का २३ वर्षीय सरोज दास छन् ।
सपहीस्थित मेगा बैंकबाट पैसा निकालेर घर जाने क्रममा सोही ठाउँका ७५ वर्षीय राम दासको साथबाट बुधबार दिउँसो लुटपाट गरी उनीहरू भागेका थिए ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार राम दास बैंकमा गएदेखि नै उनीहरूले पछ्याएका थिए ।
लुटिएको रूपैयाँ र लुटपाट गर्न प्रयोग गरिएको ज. १२ प. ८५९३ नम्बरको पल्सर मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका यादवले आफ्नो घर अगाडि खाल्डो खनेर लुकाएको १ लाख ७५ हजार रुपैयाँ र दासको साथबाट १५ सय रुपैयाँ बरामद भएको डीएसपी क्षेत्रीले बताए ।