तीन वर्षपछि कार्यालय परिसर व्यवस्थित पार्दै काठमाडौं महानगर, ढल मर्मत धमाधम – Nepal Press

तीन वर्षपछि कार्यालय परिसर व्यवस्थित पार्दै काठमाडौं महानगर, ढल मर्मत धमाधम

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय रहेको जेडीए कम्प्लेक्सको ढल मर्मत धमाधम भइरहेको छ । महानगर कार्यालय नै अस्तव्यस्त हुने गरिको अव्यवस्थित पार्किङ एरिया र ढल ३ वर्षपछि मर्मत गरिएको हो ।

बर्खामा ढल कम्प्लेक्सको अण्डरग्राउण्डमा पसेको थियो । महानगरपालिकाको मेयर-उपमेयरको कार्यकक्षलगायतका केही शाखा साथै विभिन्न कार्यालय जेडीए कम्प्लेक्समै छन् ।

कार्यालयको बेसमेन्ट पार्किङमा लामो समयदेखि महानगरकै कर्मचारीको सवारीसाधन पार्किङ हुन सकेको छैन । सेवाग्राहीको सवारी पार्किङमा त झन् सास्ती खेप्नुपरिरहेको थियो । जसले कार्यालय बाहिर अस्तव्यस्तरूपमा पार्किङ गर्ने गरिएको थियो ।

यसअघि नेपाल प्रेसले बेसमेन्ट र पार्किङलाई व्यवस्थित गर्न ‘एक्सन’ सहित फिल्डमा उत्रिएका बालेन आफैं दैनिक आउजाउ गर्ने कार्यालय परिसर अव्यवस्थित बनेको समाचार प्रकाशन गरेको थियो ।

महानगरको कार्यालयसँगै जोडिएको चाइना टाउनका व्यापारीहरूका अनुसार विगत केही वर्षदेखि नै बर्खाको बेला ढलले समस्या आएको थियो । ढल मर्मत कार्य सकिएसँगै कम्प्लेक्सको बेसमेन्टको पार्किङ खुलाउने तयारी भइरहेको छ ।

महानगरको पहलमा जेडीए कम्प्लेक्सले ढल मर्मत धमाधम भइरहेको महानगरका प्रवक्ता नविन मान्नधरले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘मेयर बालेन साह निर्वाचित भएर आएको एक महिनादेखि नै काम गरिएको थियो । अहिले चाइना टाउन र जेडीए कम्प्लेक्सको ढलको मर्मत कार्य लगभग सकिएको छ ।’

त्यहाँ जमेको पानी विस्तारै सुक्न थालेको छ । बाँकी रहेको लेदो एक-दुई दिनमा पन्साउने महानगरको भनाइ छ । साह निर्वाचित भएर आएलगतै उनको पहिलो निर्णय नै यहाँको ढलको समस्या समाधान गर्ने रहेको महानगरको एक कर्मचारीले बताए ।

तस्बिरहरू : उमेश कार्की ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर