सन्दीपविरुद्धको जाहेरी र बलात्कारसम्बन्धी कानूनको त्रुटि – Nepal Press

सन्दीपविरुद्धको जाहेरी र बलात्कारसम्बन्धी कानूनको त्रुटि

सहमतिमा समागम, मन फाटेपछि बलात्कारमा उजुरी धमाधम

सन्दीप लामिछानेको घटनाले फेरि एकपटक सोच्न बाध्य बनाएको छ । यो एउटा घटनाभन्दा पनि पछिल्लो समय झांगिएको प्रवृत्तिकै एउटा कडी हो । मन मिल्दा राजीखुशीले सम्बन्ध राख्ने अनि मन नमिलेर छुट्टिएपछि बलात्कारमा केस हालेर जेल पठाउने सिलसिला बढ्दो छ ।

नेपालमा केही वर्षअघि मात्रै नाबालिगको उमेर हद १६ वर्षबाट बढाएर १८ वर्ष पुर्‍याइयो । अहिले उब्जिएको समस्याको एउटा जड यो पनि हो । उमेर हद बढाउनासाथ बलात्कारको आँकडामा ह्वात्तै बढोत्तरी देखिन्छ । तर, वास्तविकतामा बलात्कार बढेको छैन । नाबालिगको उमेर हद बढाइदिएपछि १६ देखि १८ वर्षका किशोरीसँग सहमतिमा राखेको सम्बन्ध पनि बलात्कारमा दर्ज हुन गयो । यो उमेर समूहमा बलात्कार भनेर आएका अधिकांश घटना सहमतिकै छन् ।

मुलुकी ऐन २०२० मा रहेको १६ वर्षे उमेर हदलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (२) मा बढाइएको थियो । जसअनुसार १८ वर्षभन्दा कम उमेरको किशोरी वा बालिकालाई मञ्जुरीमै करणी गरेमा पनि जबरजस्ती गरेको मानिन्छ । यसरी बढाइएको उमेर हद नेपालको धरातलीय यथार्थसँग कत्ति पनि मेल खाँदैन । नागरिकतादेखि सवारीचालक अनुमतिपत्रसम्म १६ वर्षमा पाइन्छ । तर, मञ्जुरीबाट शारीरिक सम्बन्ध राख्न १८ वर्ष पुग्नुपर्ने व्यवस्था अहिले हाम्रा लागि सान्दर्भिक होइन ।

बलात्कारका घटना वास्तविकतामा घटेका छन् । घटना सार्वजनिक हुने र प्रहरी-अदालतसम्म पुग्ने क्रम बढेको हो । पहिले समाजमा यस्ता घटनाहरु दबिन्थे र दबाइन्थे । ठूलाबडाका छोराहरुले गाउँ-टोलका चेलीहरुलाई पेट बोकाउने र केही पैसा दिएर मिलाउने घटनाहरु धेरै हुन्थे । आजकल त्यस्तो छैन । दूरदराजसम्म जनचेतना पुगेको छ । महिलाहरु आत्मनिर्भर हुँदैछन् । त्यसैले उनीहरु पहिले जस्तो प्रहरी-प्रशासनसम्म पुग्न डराउँदैनन् ।

अर्को महत्वपूर्ण कुरा मिडियाको पहुँच पनि हो । घटना भएको दुई मिनेटमै देशभरका मान्छेहरुको हातहातमा सूचना पुगिसकेको हुन्छ । हिजो आफ्नै छरछिमेकमा भए पनि थाहा हुँदैनथ्यो । अहिले त्यो अवस्था छैन । एउटा परिवारको घरझगडाको भिडियो खिचेर कसैले यूट्युबमा हाल्न भ्याइसकेको हुन्छ ।

भारतमा केहीअघि महिला आयोगले गरेको एउटा सर्भेक्षणमा बलात्कार भनिएका ५३.२ प्रतिशत घटना ‘फेक’ देखिए । प्रहरीले गरेको सर्भेक्षणमा ८० प्रतिशत फेक देखियो ।

केही वर्षअघि निर्मला पन्तको बलात्कारपछि हत्या भयो । त्यो घटनाले राष्ट्रिय चर्चा पायो । यसले धेरै चेलीहरुलाई सचेत पनि गराएको छ । आँकडाले के देखाउँछ भने निर्मला हत्याकाण्डअघि एक वर्षमा जति बलात्कारका घटना प्रहरीमा पुग्थे, हत्याकाण्डको ४-५ महिनामै त्योभन्दा बेसी घटना दर्ता भए । यसको मतलब धेरै पीडितहरुमा प्रहरीसम्म पुग्ने हिम्मत बढ्यो ।

यसरी बलात्कारका घटनाहरु कानूनी प्रक्रियामा आउनु धेरै राम्रो हो । तर, यसक्रममा नक्कली घटनाहरुको रेसियो पनि उच्चदरमा बढिरहेको छ । बलात्कार भनिएका अधिकांश केसहरुमा सहमतिमा सम्बन्ध राखेको र झगडा भएपछि पीडित बनेर मुद्दा हाल्न आएको पाइन्छ । भारतमा केहीअघि महिला आयोगले गरेको एउटा सर्भेक्षणमा बलात्कार भनिएका ५३.२ प्रतिशत घटना ‘फेक’ देखिए । प्रहरीले गरेको सर्भेक्षणमा ८० प्रतिशत फेक देखियो । आन्ध्र प्रदेशमा ४० प्रतिशत बलात्कारका जाहेरी शारीरिक सम्बन्धपछि विवाह नगरेको वा रिलेसन टुटेको कारणले परेको पाइयो ।

हामीकहाँ यस्तो सर्भेक्षण भएको छैन । तर, ट्रेन्ड लगभग त्यही नै हो जस्तो लाग्छ । भारतमा कमसेकम अदालतले न्याय दिन्छ । अदालती फैसलामा त्यहाँ १२ प्रतिशत मुद्दामा मात्रै आरोप प्रमाणित भएर सजाय दिइएको छ । बाँकीले सफाइ पाएका छन् । तर, नेपालका अदालतले धेरै घटनामा सजाय दिएका छन् । यहाँ अदालतको निर्णयमा बाह्य तत्वहरुले प्रभाव पारिरहेको देखिन्छ । भीडको दबाब न्यायालयले थेग्न सकिरहेको छैन । सामाजिक सञ्जालका कमेन्टहरु पढेर त्यसका आधारमा न्यायाधीशले फैसला गर्न थालेपछि न्याय मर्छ नै ।

अस्ति भर्खर अभिनेता पल शाहलाई अढाई वर्षको जेल सजाय र १० लाख क्षतिपूर्ति सुनाइयो । अदालत आफैले बलात्कार भएको छैन भनेर निष्कर्ष निकालिसकेपछि के आधारमा यत्रो सजाय दिइएको हो भन्ने स्पष्ट छैन । जाहेरीकर्ताले अदालतमा आफूमाथि केही पनि नभएको भनेर दिएको बयानलाई अदालतले स्वीकार गरेको छ । तर पनि भीडको चित्त बुझाउन जबरजस्ती सजाय दिइएको देखिन्छ । बालयौन दूराचार भएको भन्ने त जाहेरीकर्ताको मागदाबी नै थिएन ।

बलात्कृत भनेर आइसकेपछि प्रहरीलाई पनि जाहेरी दर्ता गर्न प्रेसर हुन्छ । नत्र भीडको दबाब परिहाल्छ । पुलिसले पठाएर सरकारी वकिलले फरवार्ड गरेन भने सरकारी वकिललाई पनि दबाब पर्छ ।

अहिले सन्दीप लामिछानेले पनि अदालतबाट कठोर सजाय पाउने निश्चित जस्तै छ । बाहिर आएको घटना विवरण पढ्दा उनीहरु दिनभरि घुमघाम गरेर राति होटलमा बसेका छन् । यदि दुई पक्षको सहमतिमा सम्बन्ध भएको देखियो भने पनि त्यो कानूनतः बलात्कार नै ठहरिन्छ । यही त्रुटिपूर्ण कानूनी व्यवस्थाका कारण सन्दीपमाथि १२ वर्षसम्मको जेल सजाय हुनसक्ने खतरा छ ।

बलात्कारको आँकडा बढी वा कम देखाउन कानूनी व्यवस्थाको पनि ठूलो हात हुन्छ । बेलायतमा दुईजना बीच रिलेसन भएपछि केटीले आफ्नो इच्छाविरुद्ध सम्बन्ध राखेको भनेर उजुरी दिएमा केटाले त्यसलाई गलत सावित गर्न प्रमाण पुर्‍याउनुपर्छ । यस्तो प्रावधानले गर्दा बेलायतमा बलात्कारको रेसियो धेरै उच्च छ । यस्तै स्वीडेनमा एउटा केटा र केटीबीच २० चोटि रिलेसन भएको छ भने २० वटा नै मुद्दा चल्छ । स्वीडेन एकदमै बलात्कार कम हुने देश हो । तर, कानूनी व्यवस्थाका कारण डाटामा उच्च देखियो । हामीकहाँ १६ लाई १८ गर्नेबित्तिकै बलात्कारका घटना ह्वात्तै बढ्यो । अब १८ लाई २० पुर्‍याइदिनुभयो भने योभन्दा ४/५ गुणा बढेर जान्छ ।

प्रायः घटनामा सहमतिबाटै सम्बन्ध भएर पछि विभिन्न कारणले झगडा हुँदा बलात्कारको आरोप लगाइएको पाइन्छ । बलात्कृत भनेर आइसकेपछि प्रहरीलाई पनि जाहेरी दर्ता गर्न प्रेसर हुन्छ । नत्र भीडको दबाब परिहाल्छ । पुलिसले पठाएर सरकारी वकिलले फरवार्ड गरेन भने सरकारी वकिललाई पनि दबाब पर्छ । न्यायाधीशले आरोपितलाई सफाइ दियो भने कारबाहीको त्रास हुन्छ । प्रधानन्यायाधीशले बोलाउने, न्याय परिषदले बोलाउने, सरुवा गरिदिने कामहरु हुन्छन् । यसले गर्दा राम्रा न्यायाधीशहरुले पनि निष्पक्ष फैसला गर्न नसक्ने अवस्था उत्पन्न भएको छ । जनकपुरमा परशु भट्टराई भन्ने राम्रै न्यायाधीश थिए । उनले प्रमाण हेरेर फैसला गरे । तर, बाहिरको दबाबले गर्दा उनलाई बलिको बोको बनाइयो ।

बलात्कारसम्बन्धी कानूनमा धेरै संशोधन आवश्यक छ । सबैभन्दा मुख्य कुरा बलात्कार र सहमतिको सम्बन्धलाई छुट्याएर हेर्नुपर्‍यो । बल प्रयोग गरेर जबरजस्ती सम्बन्ध राख्नु र आपसी सहमतिमा सम्बन्ध राख्नु एउटै अपराध होइनन् । हो, उमेर नपुगेकालाई मञ्जुरी लिएर पनि सम्बन्ध राख्न पाइँदैन । त्यो ठीक छ । तर, यस्तोमा बलात्कारकै बराबर सजाय चाहिँ हुनुभएन । सजायमा लचकता हुनुपर्‍यो । जसरी वैवाहिक बलात्कारको हकमा कम सजाय (५ वर्ष कैद) को व्यवस्था छ । त्यसैगरी सहमतिमा राखिएको सम्बन्धमा पनि सजायको आयतन कम गर्न सकिन्छ ।

बलात्कार भनेको महिलामाथि मात्र हुन्छ भन्ने जुन अवधारणा हाम्रो कानूनले लिएको छ, त्यो पनि गलत हो । आजकाल लेस्बियन रिलेसन पनि झांगिँदैछ । १८ वर्ष नभएको केटीलाई १८ नाघेको केटीले रिलेसन राख्यो भने के हुने ? १७ वर्षको केटालाई १८ वर्षमाथिको केटीले सिड्यूस गरेर सम्बन्ध राख्यो भने त्यसलाई दण्डनीय मान्ने कि नमान्ने ? केटी १८ वर्ष पुग्न एक दिन कम छ भने केटालाई १२ वर्ष जेल सजाय हुन्छ । एकदिन बढी भयो भने केटा निर्दोष ठहरिन्छ । यो भनेको दण्ड-सजायको असन्तुलन हो ।

कानूनी त्रुटिका कारण पछिल्ला दिनमा धेरै युवाहरुको जीवन बर्बाद भइरहेको छ । यसले निजको परिवार र आफन्तलाई पनि ठूलो प्रताडना दिन्छ । श्रीमती, आमाबाबु, छोराछोरी सबै सामाजिक बहिष्करणमा पर्छन् । कथंकदाचित भोलि निर्दोष सावित भएर छुट्यो भने पनि जिन्दगी पुरानो लयमा फर्किंदैन ।

नाबालिगको उमेर हदमाथि पनि बहस हुनुपर्छ । संसारभर यसमा फरक-फरक अभ्यास छन् । फिलिपिन्समा अस्तिसम्म १२ वर्ष थियो, अन्तर्राष्ट्रिय दबाब परेपछि अहिले १६ वर्ष पुर्‍याए । जापानमा १५ वर्ष छ । बहराइनमा २० वर्ष छ । भारतमा पनि नेपालमा जस्तै १६ बाट १८ बनाइयो । औसतमा हेर्दा १६ वर्षकै उमेर हदलाई धेरै देशले स्वीकारेका छन् । नेपालका लागि पनि यही नै ठीक हो । १८ वर्षमा बच्चा कन्सिभ गर्न सक्दैन भन्ने तर्क गर्छन् । तर, बच्चा कन्सिभ गर्ने कुरा अर्को हो । हाम्रो गाउँघरमा अहिले पनि १६ वर्ष पुगेपछि छोरीको बिहे गर्ने बेला भो भन्न थाल्छन् ।

कानूनी त्रुटिका कारण पछिल्ला दिनमा धेरै युवाहरुको जीवन बर्बाद भइरहेको छ । यसले निजको परिवार र आफन्तलाई पनि ठूलो प्रताडना दिन्छ । श्रीमती, आमाबाबु, छोराछोरी कोही पनि शीर ठाडो गरेर हिँड्न सक्दैनन् । उनीहरुलाई भोजभतेरदेखि कुनै पनि सामाजिक कार्यक्रममा बहिष्कार गरिन्छ । कथंकदाचित भोलि निर्दोष सावित भएर छुट्यो भने पनि उनीहरु चैनसँग बाँच्न सक्दैनन् । जिन्दगी पहिलेको लयमा फर्किंदैन । पैसा खुवाएर निस्किएको आरोप लाग्छ ।

एउटा घटना सम्झिन्छु । ठमेलमा एउटी स्वीडिस युवती आएर बसेकी थिइन् । नेपालको एकजना टुरिस्ट गाइडसँग उनको सम्बन्ध रहेछ । एक रात ड्रग्स खाएर लठ्ठ परेको बेलामा केटासँग रिलेसन राखिछन् । भोलिपल्ट रुमको छेउमा त्यो गाइडको दुईजना साथी देखिन् । उनलाई लाग्यो कि म बेहोस भएको बेला उसका साथीहरुले पनि पक्कै केही गडबड गरे । त्यही आशंकाले टुरिस्ट प्रहरीमा एउटा निवेदन दिइन् ।

कुनै प्रमाणविना ख्यासख्यास एउटा लेटर दिएर भोलिपल्टै उनी स्वीडेन फर्किइन् । त्यो मुद्दामा दुई वर्षपछि जिल्ला अदालतले फैसला गर्‍यो र तीनैजनालाई दोषी ठहर्‍यायो । न कुनै तथ्य-प्रमाण, न पीडितको बयान । कति सजिलो छ पुरुषलाई ड्यामेज गर्न । एउटा जाहेरी पर्नासाथ ऊ सीधै सडकमा आइपुग्छ ।

रियल बलात्कार त्यो हो, जहाँ बलात्कृतको स्वीकृति र इच्छाबेगर जबरजस्ती सम्बन्ध राखिएको हुन्छ । सँगै घुम्ने, सुत्ने, राजीखुशी सम्बन्ध राख्ने, अनि ब्रेकअप भएपछि बलात्कारमा उजुरी हाल्ने भयानक विकृति भयो । सन्दीप लामिछानेको पनि बलात्कार ठहर गरियो भने कुनै आश्चर्य हुनेछैन । कानून नै त्यस्तै छ । माहोल नै त्यस्तै छ । उनले केही गल्ती गरेका होलान् । तर, १२ वर्षको जेल सजाय भोग्नुपर्ने जघन्य अपराध चाहिँ पक्कै गरेका छैनन् । बलात्कारसम्बन्धी कानूनमा पुनरावलोकन र परिमार्जन नभएसम्म नेपालका लाखौं युवाहरु ‘बलात्कारी’ को ट्याग लाग्ने खतरामा छन् ।

(वरिष्ठ अधिवक्ता मैनालीसँग गरिएको कुराकानीमा आधारित)


प्रतिक्रिया

2 thoughts on “सन्दीपविरुद्धको जाहेरी र बलात्कारसम्बन्धी कानूनको त्रुटि

  1. Ratio, Fake, Comment, Etc को आफ्नै नेपाली शब्दहरु छन। कृपया लेख नेपालीमा लेख्दै हुनुहुन्छ भने अङ्रेजी शब्दलाई Roman——->Nepali गर्ने प्रयास नगर्नुहोला। सुनमा सुगन्ध हुन्थ्यो😊

  2. विषयप्रवेश देखि प्रस्तुतीकरण एकदमै ठिक लाग्यो लेखक अब्बल देखिनु भएको छ यो समस्या मात्र होइन सामाजिक जीवन बाच्न पनि समस्या आउँछ परिवार नातागोता समाज सबै क्षेत्रमा यहाँ चर्चित पल शाह र सन्दिप लामीछानेको मात्र होइन” यहाँ बुढी मरि भन्ने होइन काल पल्क्यो भन्ने पिर हो ” यसकारण कि समाजले हर क्षेत्रमा pay गरेर गाउगाउमा विकृति विसंगति बिरूद्ध र सामाजिक चेतनाको लागि मान्छे राख्नुपर्छ र त्यो क्षेत्रमा भएको गतिविधि उसैलाई जिम्मेवार बनाउनुपर्छ होइन भने कानुन परिवर्तन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *