मूल्यवृद्धि र कालाबजारीको प्रभावकारी अनुगमन गरिन्छ : उद्योगमन्त्री बडू (भिडिओ) – Nepal Press

मूल्यवृद्धि र कालाबजारीको प्रभावकारी अनुगमन गरिन्छ : उद्योगमन्त्री बडू (भिडिओ)

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले चाडवाडमा बेला हुन सक्ने मूल्यवृद्धि र कालाबजारी नियन्त्रण गर्न प्रभावकारी रुपमा बजार अनुगमन गर्ने बताएका छन् ।

आफ्नो पाँच महिने कार्य विवरणबारे जानकारी गराउन बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले सरकारको अनुगमन संयन्त्रलाई थप बलियो बनाएर चाडवाडमा बेला हुन सक्ने मूल्यवृद्धि र कालाबजारी नियन्त्रण गर्ने बताएका हुन् ।

उनले चाडपर्व लक्षित सहुलियत पसलमा पनि धेरै सामाग्री राख्ने र बजारमा भन्दा निकै सस्तो मूल्यमा सामान उपलव्ध गराउने र यसले पनि बजारको मूल्यवृद्धि नियन्त्रण गर्न मद्दत पुग्ने धारणा राखे । मन्त्री बडूले पेट्रोलियम पदार्थको आयातका लागि पाईपलाईन विस्तार, ग्यासको उपभोगमा कम गर्ने नीति लगायतका योजनाहरु सार्वजनिक गरे ।

त्यस्तै, उनले कोरोनाबाट सिथिल बनेको उद्योग क्षेत्र क्रमश पुरानै अवस्थामा फर्किएको दाबी गरे । रुग्न उद्योगहरु सञ्चालनका लागि सरकारले आवश्यक नीति र सहजीकरण गरेको उनको भनाई छ ।

मन्त्री बडूले आफ्नो कार्यकालमा ३०९ वटा नयाँ उद्योग दर्ता भएको र जसका कारण ३ खर्ब ४३ अर्ब रुपैयाँ लगानी हुने र २८ हजार ५ सय २७ नयाँ रोजगारी सिर्जना भएको दाबी गरे ।

उनले नेपाल गुणस्तर परिषदबाट १२ वटा विभिन्न प्रकारका ग्यास सम्बन्धी र ३ वटा पाइपसम्बन्धी गरी १५ वटा नेपाल गुणस्तर पारित भएको तथा थप ९२ वटा उत्पादनलाई नेपाल गुणस्तर पारित गर्ने तयारी गरिएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर