निहारिका प्रकरण : डीएनए टेस्टका लागि अदालतमा हाजिर भए शिवराज श्रेष्ठ – Nepal Press

निहारिका प्रकरण : डीएनए टेस्टका लागि अदालतमा हाजिर भए शिवराज श्रेष्ठ

जनकपुरधाम । कुमारी आमा निहारिका राजपुत प्रकरणका आरोपित शिवराज श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर भएका छन् ।

केहि दिन अगाडि उच्च अदालतले निहारिकाले जन्माएकी बच्चा र बलात्कार आरोपित श्रेष्ठको डीएनए परीक्षणको आदेश दिएको थियो । डीएनए परीक्षणकै लागि श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर भएको बुझिएको छ ।

उच्च अदालत जनकपुरकी सूचना अधिकारी नूतन झाले श्रेष्ठ हाजिर भएको पुष्टि गरिन् । उनले भनिन्, ‘उच्च सरकारी वकिल कार्यालयमार्फत डिएनए परीक्षण हुन्छ । त्यसका लागि श्रेष्ठलाई उच्च सरकारी वकिलको कार्यालय पठाइएको छ ।’

तर, उच्च सरकारी वकील कार्यालय, जनकपुरका सहन्यायाधिवक्ता यदुनाथ शर्माले श्रेष्ठ अहिलेसम्म यहाँ नआएको बताए । उनले भने, ‘उच्च अदालतबाट आउनुपर्ने यही हो । तर अहिलेसम्म आइपुगेको छैन ।’ श्रेष्ठ आएपछि डिएनए परीक्षणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने उनको भनाई छ ।

महोत्तरीको जलेश्वर घर भएकी निहारिका श्रेष्ठमाथि बलात्कारको आरोप लगाउँदै जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । अदालतले भने श्रेष्ठलाई सफाई दियो । त्यसपछि निहारिका महिनौंसम्म ज्यानको प्रवाह नगरी आन्दोलन गरिन् ।

श्रेष्ठ दोषी हो भन्दै निहारिकाले डिएनए परीक्षणको माग राखेकी थिइन् । उच्च अदालत जनकपुरले पनि डीएनए परीक्षणको आदेश दिइसकेको छ । डिएनए परीक्षण गर्दा न्याय पाउने उनको विश्वास छ ।

आरोपित श्रेष्ठ भने केहि समयदेखि प्रहरीलाई दुर्व्यवहार गरेको मुद्दामा जिल्ला प्रहरी कार्यालयको थुनामा थिए । उनी बुधवार जिल्ला प्रशासन कार्यालय धनुषामा १ हजार धरौटी बुझाएर रिहा भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *