देश स्थानीय निर्वाचनसम्म नै पुग्ने हो कि होइन भन्ने चिन्ता थियो: प्रचण्ड (भिडिओ) – Nepal Press

देश स्थानीय निर्वाचनसम्म नै पुग्ने हो कि होइन भन्ने चिन्ता थियो: प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई देश स्थानीय तह निर्वाचनसम्म पनि पुग्ने हो कि होइन भन्ने चिन्ता लागेको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले पछिल्लो वर्ष संविधान उल्ट्याउने र परिवर्तनका उपलब्धि नै गुम्ने खतरा उत्पन्न भएको उल्लेख गरे ।

त्यो खतरा अहिले पनि कायमै रहेको उनले बताए । ‘खतरा अहिले पनि टरिसकेको छैन । तर, देशलाई ट्रयाकमा ल्याएर स्थानीय तह निर्वाचन गर्‍यौं, प्रचण्डले भने, त्यसमा जीत जसको भए पनि प्रगतिशील शक्तिको नै भएको छ । जनताले नै जितेका हुन्’, प्रचण्डले थपे ।

पोखरामा आज आयोजित माओवादी केन्द्र निकट जनस्वास्थ्यकर्मी महासंघको महाधिवेशनमा बोल्दै उनले आउने निर्वाचनले संविधान उल्टाउन नसक्ने अवस्थामा पुग्ने बताए ।

मंसिर ४ गते हुने निर्वाचन राजनीतिक परिवर्तन र संविधानको रक्षाका लागि महत्वपूर्ण हुने उनको भनाइ छ । ‘निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्नु संविधानका उपलब्धि रक्षामा अझ बढी सफलता हासिल गर्नु हो’, प्रचण्डले भने, ‘अहिलेको निर्वाचनबाट परिवर्तनका उपलब्धिको रक्षा र संविधान कहिल्यै उल्ट्याउन नसक्ने गरी स्थापित हुनेछ ।’

पछिल्लो वर्ष संविधान उल्टाएर गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रणाली सबै उल्टाउन खोजिएको भन्दै उनले जसलाई आन्दोलन र सामूहिक एकताका माध्यमबाट रक्षा गर्न सफल भएको स्पष्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर