विनोद चौधरी नाम सिफारिस भएपछि नवलपरासी कांग्रेसमा बढ्यो विवाद – Nepal Press

विनोद चौधरी नाम सिफारिस भएपछि नवलपरासी कांग्रेसमा बढ्यो विवाद

रुपन्देही । पश्चिम नवलपरासीका दुइटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा उद्योगपति विनोद चौधरीको नाम सिफारिस भएपछि नेपाली कांग्रेसभित्र विवाद बढेको छ । चौधरीको नाम सिफारिसको स्थानीय नेता तथा कार्यकर्ताहरुले विरोध गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका चौधरीको नाम प्रतिनिधिसभा नं १ र २ दुवैबाट उम्मेदवारमा सिफारिस गरिएको भन्दै कार्यकर्ताहरुले विरोध गरेका हुन् ।

चौधरी कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । लामो समय भूगोलमा काम गरेका अनुभवी नेताहरु हुँदाहुँदै अन्य क्षेत्रका नेतालाई सिफारिस गरिएको भन्दै विरोध गरिएको हो । यसले पार्टीमा आन्तरिक विवाद बढाएको उनीहरुको भनाइ छ ।

कांग्रेस सुस्ता गाउँपालिकाका सभापति रवीन्द्र जयसवालले जिल्लाका अनुभवी नेताहरुलाई बाहिर राखेर उद्योगपति चौधरीको नाम सिफारिस गरिएपछि विरोध भएको जानकारी दिए ।

क्षेत्र नं १ बाट चौधरीसहित ५ जनाको नाम सिफारिस गरिएको छ । कांग्रेस क्षेत्र नं १ का सभापति मुकुल आचार्यले चौधरीको नाम पाँचौं नम्बरमा सिफारिस गरिएको बताए । कार्यकर्ताहरूले असन्तुष्टिस्वरुप विरोध जनाए पनि आएका सबै नाम पठाइएको आचार्यले बताए ।

कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल र पार्टी केन्द्रीय सदस्य एवं निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलको गुटगत लडाइँका कारण नवलपरासीमा कांग्रेस कार्यकर्ता विभाजित छन् ।

उद्योगपति चौधरीको नाम सिफारिसमा समर्थन गर्नेहरु पनि छन् । क्षमता भएका उद्योगपतिलाई जिल्लामा ल्याउनु राम्रो भएको उनीहरुको भनाइ छ । यस विषयमा विवाद गर्नुको तुक नभएको भन्दै उनीहरुले चुनावमा जान डराउनेहरुले चौधरीको विरोध गरेको बताए ।


प्रतिक्रिया

One thought on “विनोद चौधरी नाम सिफारिस भएपछि नवलपरासी कांग्रेसमा बढ्यो विवाद

  1. सिफारिसकर्तालाई चोैधरीले किनेका हुनसक्छन् । छानबिन गर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर