बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर – Nepal Press

बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर

बलेवा । व्यावसायिक किसानको सङ्ख्या बढेसँगै बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा पछिल्लो केही वर्षयता व्यावसायिक पशुपालन तथा माछापालनमा किसान आकर्षित भएका छन् ।

जिल्लाभर वार्षिक एक करोड ५५ लाख ९९ हजार २०३ लिटर दूध उत्पादन हुने गरेको छ । विश्व खाद्य सङ्गठनको मापदण्डअनुसार एकजना व्यक्तिका लागि वार्षिक ९१ लिटर दूध आवश्यक हुन्छ । एक लाख ६८ हजार ७१३ जनसङ्ख्या रहेको जिल्लामा वार्षिक एक करोड ५३ लाख ५२ हजार ८८३ लिटर दूध भए पुग्छ ।

आवश्यकभन्दा प्रतिव्यक्ति वार्षिक एक दशमलव ४६ लिटर दूध बढी उत्पादन भइरहेको भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख चिकित्सक ऋषिराम सापकोटाले बताए ।

व्यावसायिक किसानलाई स्थानीय सरकारले सहयोग गर्ने र सङ्घीय तथा प्रदेश सरकारका किसान लक्षित कार्यक्रमसमेत व्यावसायिक किसानसम्मै पुग्ने भएकाले माछा, मासु र दूधको उत्पादन बढेको हो । उत्पादन बढेसँगै जिल्ला कृषिजन्य तीन उत्पादनमा आत्मानिर्भर भएको हो ।

आवश्यकभन्दा बढी उत्पादन भइरहेको दूध छिमेकी जिल्लामा निर्यात हुने गरेको छ । जिल्लाको दक्षिण क्षेत्रबाट छिमेकी जिल्ला पर्वत र पश्चिम क्षेत्रबाट गुल्मीमा दूध निर्यात हुने गरेको तथ्याङ्क भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले राखेको छ । केही साना बजारमा छिमेकी जिल्लाबाट आयातसमेत हुने गरेको छ ।

‘केही वर्ष पहिलासम्म पोखराबाट दूध ल्याएर बेचिन्थ्यो । तर, अहिले किसानको घरबाट सीधै दूध हाम्रो डेरी पसलमा आउँछ’, मिलन दूध डेरी बागलुङका सञ्चालनक हीरादेवी शर्माले भनिन्, ‘पहिलाजस्तो बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन ।’

जिल्लाभर ८६ हजार ९२० भैंसी र २१ हजार ६६० गाईपालन भइरहेको तथ्याङ्क केन्द्रसँग छ । यीमध्ये अधिकांश दूध उत्पादन गर्न योग्य छन् । व्यावसायिक र घरायसी प्रयोजनालाई पालिएका पशुचौपायाको समेत तथ्याङ्क निकालेर केन्द्रले दूधको उत्पादन मूल्याङ्कन गर्ने गरेको सापकोटाले बताए । भैँसीपालन गर्ने किसानले मासुका लागि राँगासमेत हुर्काउने गरेको र मासुको उत्पादनमा समेत सहयोग पुग्ने गरेको छ ।

ग्रामीण भेगसम्म सडकको सहज पहुँच, यातायातको सुविधा, उचित मूल्य, स्थानीय तहको उत्पादनमा आधारित अनुदान, घाँस परालको उपलब्धतालगायतले किसानलाई व्यावसायिक पशुपालनमा सहज बनाएको किसान बताउँछन् । हाल बजारमा दूधको मूल्य थोकमा ७० देखि ९० रुपैयाँ तथा खुद्रा १०० देखि १२० रुपैयाँमा बिक्री हुँदै आएको छ ।

दुधालु गाईभैँसीले एकै बेतमा करिब एक लाख रुपैयाँ मूल्य बराबरको दूध दिने भएपछि अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका युवाको पशुपालनमा आकर्षण छ । पछिल्लो समय दाना, चोकर र पराललगायत पशुपालनका लागि आवश्यक सामग्रीमा ठूला व्यवसायीको एकाधिकार, दूधको मूल्यमा सिन्डिकेटलगायतले अझै अपेक्षित मूल्य पाउन नसकेको किसानको गुनासो छ ।

त्यस्तै जिल्लाभर वार्षिक २५ लाख ५० हजार ९४० किलो माछामासु उत्पादन हुने गरेको छ । विश्व खाद्य सङ्गठनको मापदण्डअनुसार एक जना व्यक्तिका लागि वार्षिक १४ किलो माछामासु आवश्यक हुन्छ । एक लाख ६८ हजार ७१३ जनसङ्ख्या रहेको जिल्लामा वार्षिक २३ लाख ६१ हजार ९८२ किलो माछामासु भए पुग्छ । आवश्यकताभन्दा प्रतिव्यक्ति वार्षिक एक दशमलव १२ किलो माछामासु बढी उत्पादन भइरहेको विज्ञ केन्द्रका प्रमुख चिकित्सक सापकोटा बताउँछन् ।

‘किसानले उत्पादन बढाउनु खुशीको कुरा हो, उपलब्धताका हिसाबले हामी माछामासु र दूधमा आत्मनिर्भर भएका छौं’, सापकोटाले भने, ‘किसानको आयस्तर बढाउनमा समेत यसले सहयोग गरेको छ ।’

बागलुङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बाख्रा जोन कार्यक्रम सञ्चालनमा ल्याएको छ । चरण क्षेत्र राम्रो रहेका जैमिनी नगरपालिका, बागलुङ नगरपालिकाको बलेवा क्षेत्र र बरेङ गाउँपालिका समेटेर तय गरिएको बाख्रा जोन कार्यक्रमले पनि मासुको उत्पादनमा सहयोग गरेको हो ।

त्यस्तै जिल्लाको ढोरपाटन नगरपालिका, गलकोट नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा केही किसानले व्यावसायिक रुपमा भेडापालनसमेत गर्ने गरेका छन् ।

व्यावसायिक रुपमा कालिज पाल्ने, स्थानीय जातका कुखुरा पाल्ने र उन्नत जातका कुखुरा पाल्नेको सङ्ख्यासमेत धेरै रहेको विज्ञ केन्द्रका प्राविधिक अधिकृत केशव शर्माले बताए । मासुकै उत्पादनका लागि, बोका, साढे, राँगा, कुखुरा बङ्गुर र सुँगुर उत्पादन बढाउँदा जिल्ला मासुमा आत्मनिर्भर भएको किसानको बुझाइ छ ।

जिल्लाभर एक लाख २७ हजार चार सय बाख्रा, आठ हजार तीन सय भेडा, १५ हजार ३२१ सुँगुर/बङ्गुर, पाँच लाख ८९ हजार ८८० कुखुरा, तीन हजार ६४० हाँस र ३४५ वटा खरायो पालिएको तथ्याङ्क छ । गत असार मसान्तसम्मको तथ्याङ्कलाई हेर्दा ८५ वटा पोखरीमा विभिन्न जातका माछापालन किसानले गरिरहेका छन् ।

‘जिल्लालाई पुग्ने गरी माछामासुको उत्पादन छ । बढी भएको माछामासु बाहिर निर्यात हुन्छ’, शर्माले भने, ‘यहाँबाट भेडा, बाख्रा र राँगाको मासुको लागि बढी निर्यात हुने गरेका छन् ।’

किसानले करोडौं लगानी गरेर फार्म सञ्चालन गर्नेदेखि परम्परागत पशुपालन तथा माछापालनलाई स्तरोन्नति गरेर उत्पादन बढाएका हुन् । कृषि तथा पशुजन्य उत्पादन वृद्धिका लागि यहाँका हरेक स्थानीय तहले एक करोडदेखि तीन करोडसम्म हरेक वर्ष लगानी गर्ने गरेका छन् । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर