मधेसी शहिदप्रति श्रद्धाञ्जली दिँदै उपेन्द्रले भने- हामी अझै संघर्षमा छौँ, शहिदको सपना पूरा हुन्छ (भिडिओ)


जनकपुरधाम । मधेस आन्दोलनका शहिदहरु दिलीप यादव, निकु यादव र सञ्जय चौधरीप्रति जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव श्रद्धाञ्जली अर्पण गरेका छन् ।
२०७२ भदौ ७ मा मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दिलीप, निकु र सञ्जय शहिद भएका थिए । उनीहरूको सम्झनामा जनकपुरधामका तत्कालीन मेयर लालकिशोर साह शहिदद्वार निर्माण गराएका छन् ।
उक्त शहिद गेटमै जसपाले श्रद्धाञ्जली सभा गरेका छन् । जसपा अध्यक्ष यादवले शहिद दिलीप, निकु र सञ्जयप्रति श्रद्धाञ्जली अर्पण गर्दा भावुक बनेका थिए । उनले भने, ‘शहिदका सपना पूरा गर्नकै लागि आफूहरू अझै संघर्षरत छौँ । शहिदको सपना पुरा हुन्छ ।’
मधेसी जनताको वलिदानीले नै मुलुकमा संघियता आएको तर केहि तत्त्वले त्यसलाई ध्वस्त पार्ने खेलमा लागेकामा दु:ख व्यक्त गरे । उपलब्धि खेर पनि जान नदिने र समावेशिता पहिचान सहित थप अधिकार प्राप्त गर्नकै लागि अहिले लडाई लडिरहेको उनले बताए ।
अध्यक्ष यादवले शहिद परिवारहरुलाई सम्मान पनि गरेका छन् ।